• १६ चैत २०८०, शुक्रबार

देश बदल्न राजनीतिक ध्रुवीकरण आवश्यक : महासचिव पोखरेल

blog

नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ।

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख ९ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले देशको विद्यमान अवस्थालाई बदल्न राजनीतिक ध्रुवीकरण जरुरी रहेको बताउनुभएको छ । न्यूज एजेन्सी नेपालसँगको शनिबार भएको संवादमा उहाँले सो कुरा बताउनुभएको हो । 

नेपाली जनमत विभाजित हुँदा बलियो राष्ट्रिय शक्ति निर्माण हुन नसकेको उहाँले दाबी गर्नुभयो । “जति धेरै राजनीतिक दलहरु हुन्छन् उति नै नीतिगत सम्झौता, नीतिगत विचलन र सत्ताको सौदाबाजी हुन्छ” उहाँले भन्नुभयो । त्यस्तै, वैदेशिक चलखेल र हस्तक्षेप पनि धेरै दलहरु हुँदा बढ्ने उहाँको भनाइ छ । 

सत्ता केन्द्रित भएर अघि बढ्न खोज्दा जनमतलाई ध्रुवीकरण गर्न सम्भव नभएको स्पष्ट पार्दै,  जनमत ध्रुवीकृत नभइ बलियो राष्ट्रिय शक्तिहरुको निर्माण गर्न सम्भव नरहेको उहाँले जिकिर गर्नुभयो । संसद् हङ पार्लियामेन्टका रुपमा रहनु र प्रधानमन्त्री, मन्त्रीहरु फेरिइरहने कारण मुलुक बन्न नसकेको उहाँले बताउनुभयो ।

देशलाई बनाउन नीतिका आधारमा वैचारिक ध्रुवीकरण र राजनीतिक ध्रुवीकरण जरुरी रहेको महासचिव पोखरेलले बताउनुभयो । 

देशको विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको चर्चा गर्नुहुँदै महासचिव पोखरेलले बलियो राष्ट्रिय शक्तिको निर्माणबाट मात्रै राजनीतिक स्थायित्व प्राप्त गर्न सकिने चर्चा गर्नुभयो । विगतको निर्वाचन परिणामले देशलाई राजनीतिक स्थायित्वतर्फ अगाडि बढाउन नसक्ने उहाँले जिकिर गर्नुभयो । 

महासचिव पोखरेलले भन्नुभयो, “नागरिकहरुको बलियो राजनीतिक शक्ति बनाउने कर्तव्य भए पनि सो कर्तव्यबाट नागरिकहरु चुक्दै गएका छन्, जनता बलियो हुने तर राज्य कमजोर हुनु पनि राम्रो होइन ।” जनतालाई बलियो बनाउन राज्य नै बलियो हुनुपर्ने उहाँको भनाइ छ । देशमा ठूला तीन क्रान्ति हुँदा पनि देश र समाज बदलिन नसकेको उहाँले बताउनुभयो । दलका नेताहरु आफूलाई परिवर्तन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

संसदको शक्ति सन्तुलनका कारण देशको दिगो विकासको सपनालाई सार्थक बनाउन समस्या भइरहेको उहाँको भनाइ छ । अहिलेको परिस्थितिअनुसार कुनै पनि पार्टी सरकारमा गए पनि जनताको चाहनालाई पूरा गर्न कठिन हुन्छ उहाँले भन्नुभयो । 

नेपालमा बढ्दो अन्तर्राष्ट्रिय गतिविधिहरुले यहाँको राजनीतिलाई अस्थिर बनाउने काम गरिरहेको उहाँले दाबी गर्नुभयो मुलुकमा राजनीतिक स्थायित्व हुन हुन नसक्दा विकास र समृद्धि कायम हुन नसकेको उहाँको भनाइ छ । एमाले नेतृत्वको सरकारले जनपक्षीय काम गरेको उहाँको दाबी छ ।