• ८ वैशाख २०८१, शनिबार

कम्युनिष्ट सरकार कतिपयलाई पचिरहेको छैन : अध्यक्ष नेपाल

blog

शनिबार ललितपुरमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायत शीर्ष नेता । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, वैशाख ९ गते। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान कम्युनिष्ट सरकार कतिपयलाई नपचेको बताउनुभएको छ ।

शनिबार ललितपुरमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले नेकपा माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा बनेको कम्युनिष्ट सरकार कतिपयलाई अपाच्य भएको बताउनु भएको हो।

उहाँले आफूले सरकारसँग सहमति भइसकेपछि पनि मिटरब्याजी आन्दोलनमा उत्रिरहेको भन्दै उनीहरूलाई परिचालन गरी षड्यन्त्र रचेको हुनसक्ने आरोप लगाउनुभयो।उहाँले कम्युनिष्ट सरकारविरुद्ध षड्यन्त्र रच्ने काम भइरहेको भन्दै सजग रहनुपर्ने बताउनुभएको छ ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘‘मिटरब्याजीहरु सिंहदरबार अगाडि आएर धर्नामा बसेको देखेँ, सबै वार्ता सम्पन्न गरी सहमति भइसकेपछि पनि किन यस्तो भइरहेको छ, त्यसबारेमा सरकारले सोच्नु जरुरी छ। हामीले किन बुझाउन सकेका छैनौँ।छानबिन र दण्ड गर्ने कुरा भइसकेपछि पनि किन हामीले बुझाउन सकेका छैनौँ।यो अनेक खालको षड्यन्त्र पनि हुनसक्छ।कम्युनिष्ट पार्टीको सरकार कतिपयलाई पचिरहेको छैन।यसर्थमा अनेकौँ खालका षड्यन्त्र हुनसक्दछन्।हामीले यी सबै कुराप्रति सजग भएर लाग्नुपर्छ ।’’

अध्यक्ष नेपालले कम्युनिष्ट पार्टी छरिएर रहनु राम्रो नभएको जिकिर गर्नुभयो।