सांस्कृतिक गीतः देउसी र भैलो

devendra aryalदेवेन्द्र अर्याल ‘आँसु’


हिन्दू संस्कृतिमा हरेक तिथि, चाड एवं पर्वको आफ्नै प्रकारको मौलिक विषेशता देखिन्छ । त्यस्तै चाडपर्वमध्येको तिहार जसलाई दीपावली वा यमपञ्चक पनि भनिन्छ । दीपावली उज्यालोको पर्व हो । यस पर्वमा खासगरी फूलको विशेष महìव रहेको पाइन्छ । यो पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म जम्मा पाँच दिन मनाइने गरिन्छ । तिहारका पाँच दिनमध्ये पहिलो दिनलाई काग तिहार भनिन्छ । दोस्रो दिनलाई कुकुर तिहार, तेस्रो दिनलाई गाई तिहार एवं लक्ष्मीपूजा, चौथो दिनलाई गोवद्र्धन पूजा वा म्हपूजा र पाँचांै दिनलाई भाइटीका भनिन्छ ।
यस पर्वको प्रमुख आकर्र्षणको रूपमा देउसी र भैलोलाई पनि लिन सकिन्छ । देउसी र भैलो परापूर्व कालदेखि चलिआएको पाइन्छ । कात्तिक कृष्ण आँैसी अर्थात् गाई तिहारको राति गाइने सांस्कृतिक गीत एवम् गाथालाई नै भैलो भनिन्छ । जुन मैथिली भाषाको ‘भइल भयो’ बाट आएको मानिन्छ । सामूहिक रूपमा संस्कृति झल्कने वेशभूषामा भैलो खेल्ने गरिन्छ । भलो हुने, सन्तोष हुने आर्शिवाद, वचनहरू बाँडेर खेल्ने भैलोलाई तिहारको प्रमुख आकर्षण मानिन्छ । नारी अर्थात् भैलिनीहरू गीत भन्दै श्रद्धाले दिएको सेलरोटी, अक्षता, फलफूल भेटीलाई बटुल्दै पुनः अर्को साल भेट्ने वाचा गर्दै बिदा माग्छन् । थुप्रै गाथा गाउँदै पहाडदेखि तराईसम्म भैलो खेल्ने चलन छ ।
त्यस्तै, लक्ष्मी पूजाको पर्सिपल्ट देउसी (देव+श्री) खेल्ने चलन छ । शास्त्रीय मतअनुसार देउसी र भैलो खेल्ने प्रचलन राजा बलीको पालादेखि चलेको हो । देउसी प्रायः केटाहरूले मात्र खेल्ने गर्छन् । देउसीको प्रचलन सम्बन्धमा एउटा शास्त्रीय मत पाइन्छ । बली राजा दानवीर थिए । उनको दानका कारण स्वर्गका राजा ईन्द्रलगायत देवताहरू पनि कम्पयमान हुन पुगे । जसका कारण देवताहरू विष्णु भगवान्को शरणमा पुगे । देवताका कुरा सुनेपछि विष्णु भगवान्ले बली राजाको शेखी तोड्ने आश्वासन दिए । जसअनुरूप भगवान् विष्णु वामन रूप धारण गरेर बली राजाको दरबारमा पुगे । आफू दान माग्न आएको वामन अवतार विष्णु बताउँछन् । आश्चर्य लाग्दो योगीलाई देखेर सबै चकित भए । त्यसपछि बली राजाको अगाडि वामन अवतार विष्णु तीन पाइला जमिन माग्छन् । बली तीन पाइला जमिन मागेर आफूलाई लज्जित नबनाउन वामन अवतार विष्णुका सामु बताउँछन् । दान नदिने भए आफू फर्किने कुरा बताएपछि बली राजाले मैले तपाईंले मागेको दान दिएँ भन्छन् । तब वामन अवतार विष्णुले पहिलो पाइला पृथ्वीमा र दोस्रो पाइला आकाशमा टेके । तेस्रो पाइला टेक्ने ठाउँ नभए पछि बली राजाले देऊ शिर भने । कालान्तरमा त्यही देऊ शिरबाट नै देउसीरे भन्न थालिएको हो । पाताल पुगेका बलीका सामु वामन अवतार विष्णुले आफ्नो रूपको दर्शन दिए । त्यसपछि भगवान्का अगाडि बली राजाले पृथ्वीमा पनि आफ्नो अस्तित्व रहोस् भनी माग्दा विष्णुले पनि कात्तिक कृष्णपक्षमा पाँच दिन पृथ्वीमा तिम्रो गाथा मानिसहरूले गाउने छन् भनी बलीराजालाई बरदान दिन्छन् । त्यसैले ‘हामी त्यसै आएनौँ बली राजाले पठाएको’ भन्दै यमपञ्चकमा उक्त गाथा भट्टयाउने गरिन्छ । त्यसैले यस अवसरमा विभिन्न प्रकारका देवकथा, उपकथा, गाथा आदि भट्याउँदै पहाडदेखि तराईसम्म सर्वत्र देउसी खेलिन्छ । नाचगान गर्दै आ–आफ्ना गीत गाएर देउसी भैलो खेलिन्छ । परम्परागत रूपमा मनाउनुपर्ने तिहार र यसको गाथामा हिजोआज ठूलो अन्तर
देखापरेको छ ।
आजकालको देउसी र भैलो लोककथा, लोकवचन र धार्मिकताका सट्टामा विकृतमय बन्दै गएका छन् । पाश्चात्य गीत र डान्सले देउसी र भैलोलाई विषाक्त बनाएको छ । अचेल बली राजाको चर्चा तिहारमा कम हुने गरेको छ । परम्परा र संस्कार जोगाउनुभन्दा विकृति बढाउन कसैकसैले देउसीलाई पैसा जम्मा गर्ने विकल्पको रूपमा लिन थालेका छन् । कैयन् सामाजिक सङ्घ संस्थाले आर्थिक स्रोतलाई दरिलो पार्न व्यवस्थित रूपले तिहारमा देउसी र भैलो खेल्ने गरेको पाइन्छ । यो निकै राम्रो चलन हो । आफूले सक्दो सहयोग गर्ने व्यक्तिको कमी कहिले पनि यहाँ छैन । त्यस्ता सङ्घ संस्थाहरूलाई सक्दो सहयोग गरेमा पक्कै पनि तिहारको ऐतिहासिक, धार्मिक र सांस्कृतिक मान्यता एवं मूल्यलाई अक्षुण्ण राख्न मद्दत पुग्छ । दीपावलीको प्रमुख पक्ष नै उज्यालो हो । तसर्थ हामीहरूले देउसी र भैलीलाई उज्यालोसँग जोडेर हेर्नु पर्छ । संस्कृतिलाई विकृतिसँग रुमल्लिन दिनु हँुदैन । आफ्नै परम्परा, मान्यता र मूल्यलाई निरन्तरता दिनुपर्छ । जसको संरक्षणका लागि बेलैमा कदम चाल्नु अत्यावश्यक देखिन्छ । नत्रभने क्रमशः देउसी र भैलोको सांस्कृतिक गाथा लोप नहोला भन्न सकिन्न ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds