• १५ चैत २०८०, बिहिबार

‘सरकारका राम्रा काम जनतामाझ पुर्‍याउने काम गर्नुहोस्’

शान्ति प्रक्रियाका बाँकी काम जसरी पनि पूरा गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

blog

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रेस सेन्टर नेपाल उपत्यका प्रदेशको साधारण सभामा शुभकामना मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बिर: रत्न श्रेष्ठ/रासस

काठमाडौं, वैशाख ९ गते। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले शान्ति प्रक्रियाका बाँकी कामलाई जसरी पनि पूरा गर्नुपर्ने बताउनुभएको छ।  नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष समेत रहनु भएका उहाँले सङ्क्रमणकालीन न्यायको कामलाई पूरा गर्दै शान्ति प्रक्रियालाई अहिले कुनै पनि हालतमा पूरा गर्नुपर्ने बताउनुभएको हो। 

शनिबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपाल, उपत्यका प्रदेश समितिको वार्षिक साधारण सभामा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले शान्ति प्रक्रियाका कामलाई पूरा हुन नदिन विभिन्न प्रयत्न भइरहेको उल्लेख गर्दै त्यसलाई असफल पार्दै अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो। 

उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘संक्रमणकालसँग सम्बन्धित शान्ति प्रक्रियाका बाँकी काम छन्। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको कामलाई पूरा गरेर मात्रै हामीले सङ्क्रमणकालीन न्यायको कामलाई पूरा गर्न सक्छौँ। शान्ति प्रक्रियाको बाँकी काम अहिले हामीले हरहालतमा पूरा गर्नुपर्छ।’’

संविधान जारी भएपछि पूरा गर्ने भनेका काम डेढ दशक बितिसक्दासमेत पूरा नभएको भन्दै उहाँले यस्तो बताउनुभएको हो। ‘‘संविधान जारी गरेको सात वर्ष बितिसक्यो। तर हामीले यो काम पूरा गरेका छैनौँ। यो कामलाई पूरा हुन नदिन एउटा वा अर्को रूपमा विभिन्न प्रयत्न भइराखेका छन्। त्यो प्रयत्नलाई असफल पार्दै हामीले शान्ति प्रक्रियालाई समग्रतामा पूरा गर्नका लागि यो बाँकी कामलाई पूरा गर्नुछ।’’

उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा केही समस्या देखिएको उल्लेख गर्दै ती समस्यालाई छिट्टै सम्बोधन गर्ने आश्वासनसमेत दिनुभयो। मुलुकको अर्थतन्त्र निस्कनै नसक्ने गरी सङ्कटमा नफसेको भन्नुहुँदै उहाँले त्यसमा देखिएको समस्या समाधान गर्दै मुलुकको समृद्धिको यात्रालाई चलायमान बनाउन सरकारले चाहेको बताउनुभएको हो।

उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘जनताको अपेक्षा पूरा गर्न, हाम्रो प्रतिबद्धता पूरा गर्न र यो परिवर्तनको औचित्य पुष्टि गर्नका लागि हामीले समृद्धिको यात्रालाई तीव्रता प्रदान गर्नुपर्छ। अहिले अर्थतन्त्रको क्षेत्रमा केही समस्या देखा परेका छन्। तत्काल केही अप्ठ्यारा देखा परेका छन्। तर, अर्थतन्त्र गम्भीर सङ्कटको चक्रव्यूहमा पसेर निस्कनै नसक्ने जस्तो गरी बुझ्नु हुँदैन। हामी अर्थतन्त्रलाई चलायमान बनाएर, गतिशील बनाएर हामी समृद्धिको यात्रालाई तीव्र बनाउने प्रक्रियामा जानु छ। यो हाम्रो कार्यभार हो।’’



मन्त्रीलाई गल्ती गर्ने छुट छैन 

उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले मन्त्रीहरूलाई गल्ती गर्ने छुट नभएको निर्देशन दिएको स्मरण गराउँदै सोही अनुसार काम गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले सुशासन र जनमुखी कार्ययोजना बनाउँदै जनताको पक्षमा काम गर्नुपर्ने भएकाले त्यसमा सञ्चार क्षेत्रले सहयोग गर्नुपर्ने बताउनुभयो। 

उपप्रधानमन्त्री श्रेष्ठले सीमित स्रोत र साधनको भरमा काम गर्नुपर्ने भएकाले सरकारले चाहेजसरी काम गर्न सक्ने अवस्था नभएको पनि स्मरण गराउनुभयो। उहाँले भन्नुभयो, ‘‘अहिले हामीले प्रारम्भिक काम गर्न थालेका छौँ। यस पटक हाम्रो अध्यक्ष प्रचण्ड, जो अहिले सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ। उहाँले पार्टी स्थायी समितिको बैठकमा, क्याबिनेटमा र छुट्टै मन्त्रीलाई विशेष निर्देशन दिनुभएको छ। यस पटक गल्ती गर्ने छुट हुन सक्दैन। यस पटक सुशासनमा कमजोरी गर्ने छुट हुन सक्दैन। यस पटक हामीले जनमुखी कार्ययोजना बनाउने कुरामा हेलचक्र्याइँ गर्ने छुट हुन सक्दैन।’’

उपप्रधानमन्त्री श्रेष्ठले सरकारले गरेका राम्रा कामलाई जनतामाझ पुर्‍याउने र उनीहरूलाई जागृत गराउने काममा लाग्न पार्टी निकट सञ्चार क्षेत्रलाई पटक पटक आग्रह गर्नुभएको छ।