• १५ चैत २०८०, बिहिबार

डेढ दशकमा बाढीपहिरामा परी ७५ को मृत्यु, १६ अझै बेपत्ता

blog

बाढीपहिरो । फाइल तस्बिर

ढोरपाटन, वैशाख ९ गते । बागलुङमा हरेक वर्ष बाढीपहिरामा परी धेरैले ज्यान गुमाउने गरेका छन् । तल समथर भूभाग माथि अग्लो पहाड । त्यसमाथि हुने जतात्यतै डोजरको प्रयोगले हुने विकासले बाढीपहिरो र भूक्षयको जोखिम बढिरहेको छ । बर्सातको समयमा बाढीपहिराले सयौँ क्षेत्रफल खेतीयोग्य जमिन बगाउने गरेको छ भने बस्तीसमेत बगाउने गरेको छ ।

जिल्लामा बर्सेनि पहिराका कारणले जनधनको क्षति हुने गरेको विगतको तथ्याङ्कले छ । पन्ध्र वर्षयताको बाढीपहिराको तथ्याङ्क हेर्दा ७५ जनाको ज्यान गएको छ भने १६ जना बेपत्ता छन् । वि.सं २०६४ देखि २०७९ सम्म बागलुङमा दर्जनौँ बस्ती विस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालयले बेपत्ता नागरिकको परिवारलाई मृतक सरह राहत रकम प्रदान गरेको छ ।

पन्ध्र वर्षको अवधिमा पहिराबाट सबैभन्दा बढी ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिका क्षेत्रमा मानवीय क्षति भएको छ । हालको बडिगाड गाउँपालिकामा पर्ने साबिकको ग्वालिचौरमा  वि.सं २०६४ मा गएको पहिरामा परी २९ जनाले ज्यान गुमाएका थिए । पहिरामा बेपत्ता भएका नागरिकलाई पनि मृतकमै गणना गर्ने हो भने ढोरपाटन–९ मा वि.सं २०७७ मा गएको पहिराले जिल्लामा अहिलेसम्मकै सबैभन्दा ठूलो मानवीय क्षति गरेको छ । उक्त पहिरामा परी २३ जनाको मृत्यु भएको थियो । पन्ध्र जना बेपत्ता छन् ।

बेपत्तालाई मृतकका सूचीमा राख्ने हो भने पहिरामा परी मृत्यु हुनेको सङ्ख्या ५५ पुग्छ । जिल्ला विपद् व्यवस्थापन समितिको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने सिलसिलामा प्रकोपको स्तरीकरण गर्दा पहिराको प्रकोप एक नंम्बरमा परेको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताउनुभयो । जिल्लामा हरेक वर्ष हुने मनसुनजन्य प्रकोपबाट मानवीय क्षति भएकै छ ।

वि.सं २०७५ असार ११ गते बरेङ गाउँपालिका–१ धुल्लुबासकोटको पहिरामा दुई, २०७५ साउन ३० गते निसीखोला गाउँपालिका–३ मा पहिरो गई घर पुरिँदा तीन जनाको मृत्यु भएको थियो । मनसुन आपत्कालीन योजनामा समावेश तथ्याङ्कअनुसार २०७६ साल साउन ७ गते गलकोट नगरपालिका–८ ज्यामिरेको पहिरामा एक, २०७६ साउन २० गते तमानखोला गाउँपालिका–४ लाम्मेला शिवपुरीमा पहिरो गई तीन जनाको मृत्यु भएको उल्लेख छ ।

जिल्लाको काठेखोला गाउँपालिका–४ मा २०७७ साल असार ६ गते पहिरो गई एक, २०७७ साउन १० बागलुङ नगरपालिका–१ मा आएको पहिराले पुरिएर एक जनाको मृत्यु र एक बेपत्ता भएका थिए । निसीखोला–१ मा २०७७ साउन १२ गतेको पहिराले एक जना सोही दिन तमानखोला–२ मा आएको पहिरामा परी दुई, २०७७ साउन ३० गते निसीखोला–३ का एक जना र निसीखोला–५ का दुई जनाको मृत्यु भएको थियो ।

ढोरपाटन–२ मा २०७७ साल भदौ ९ मा एक, ढोरपाटन–१० मा भदौ १६ गते आएको बाढीपहिराले एकको मृत्यु भएको थियो । वि.सं २०७७ कै भदौ २७ मा बडिगाड–१० मा एक, भदौ २८ र २९ गतेको पहिरामा परी जैमिनी–२ मा दुई र वडा नं. ५ मा एक जनाको मृत्यु भएको थियो । समग्रमा २०७७ सालमा बागलुङमा ४० जनाको बाढीपहिरो चट्याङबाट मृत्यु भएको, १६ जना बाढीपहिरामा बेपत्ता भएको थिए । विसं २०७८ असारको वर्षाका कारण बागलुङ–कुश्मिसेरा सडकको गलुवा खण्डमा पहिराबाट क्षतिग्रस्त सडक साउन ३ गतेदेखि सञ्चालन गरिएको थियो । 

गत वर्षको असोज ३१ गतेदेखि परेको बेमौसमी वर्षाका कारण जिल्लाभरिका तीन हजार पाँच सय कृषकको चार सय १० हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा समेत प्रभाव पारेको थियो । एकचालीस कृषकको एक सय चार रोपनी क्षेत्रफलमा लगाइएको धानबाली पूर्ण रूपमा क्षति भएको थियो । पहिराले विस्थापित परिवार हिउँदमा जीर्ण घरमै बसे पनि बर्खा लागेपछि थातथलो छाडेर अन्तै सर्नुपर्ने स्थिति छ । रासस