• १३ वैशाख २०८१, बिहिबार

सल्यानमा भर्नासँगै विद्यार्थीको हातमा किताब

blog

पुस्तक अभियान सञ्चालन

प्रतीक इच्छुक शर्मा
सल्यान, वैशाख ९ गते ।
जिल्लाका सामुदायिक विद्यालयमा विद्यार्थी भर्नासँगै हात हातमा पुस्तक अभियान सञ्चालन भएको छ । स्थानीय तहमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुले घरदैलो गरेर विद्यार्थीलाई भर्ना अभियान सञ्चालन गरेका छन् ।

दार्मागाउँपालिका ३ फारुलाचौरमा रहेको श्री जन ज्योति माध्यामिक विद्यालयले भर्ना अभियान र विद्यार्थीको हातमा पुस्तक अभियान सञ्चालन गरेको हो । प्रधानध्यापक मिनबहादुर वलीले घरदैलोमा पुगेर विद्यार्थी भर्नालाई तीव्र बनाएको र  विद्यालयमा आइपुग्ने विद्यार्थीलाई पुस्तक उपलब्ध गराएको बताउनुभयो ।

शारदा नगरपालिका–२ खलङ्गामा रहेको त्रिभुवन जन माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशीला शाहले आफूहरुले विद्यालयमा विद्यार्थी भर्ना दर बढाउन घरदैलो गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सल्यान सदरमुकाम बजार क्षेत्रमा रहेको र नीजि विद्यालयहरु पनि सञ्चालन भएकाले सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन घर दैलो गरिएको हो ।

सल्यानका दुर्गम क्षेत्रका विद्यालयले पनि यस वर्ष भर्नासँगै पाठ्य पुस्तक विद्यार्थीलाई उपलब्ध गराएका छन् । विगतका वर्षमा समयमै पाठ्यपुस्तक नपुग्ने यस जिल्लामा चालु शैक्षिक सत्रको पहिलो हप्तामा नै सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगेका हुन् ।

महेन्द्र माद्यामिक विद्यालय छत्रेश्वरी गाउँपालिका–५ लेखपोखराका प्रधानाध्याक रोमहर्ष केसीले अहिले विद्यालयमा भर्ना हुने सबै विद्यार्थीलाई किताब दिएर पठाउने गरेको बताउनुभयो । उहाँका अनुसार विद्यालय भर्नाका कोही छुटे कि भनेर फेरि घरदैलो अभियान सञ्चालन गरिने छ ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ सल्यानका अध्यक्ष डम्बर केसीले जिल्लामा रहेका पुस्तक व्यवसायीले पाठ्यपुस्तक खरिद गरेर सरकारी विद्यालयलाई सहज रुपमा पाठ्यपुस्तक उपलब्ध गराइएको बताउनुभयो । उहाँका अनुसार सामुदायिक विद्यालयले माग गरे अनुसार यस वर्ष जिल्लामा कक्षा ६ देखि कक्षा १० सम्म छ हजार सेट किताव आइपुगेका छन् ।

विद्यार्थी भर्ना चलिरहेकाले थप आवश्यक पर्ने पुस्तक पनि सजिलै पुरयाउन सकिने व्यवसायीको भनाइ छ ।