‘बालगोपालेश्वर’ मन्दिरलाई ग्रन्थकुट शैलीमा पुनः निर्माण गर्न सुझाव

काठमाडौँ, कात्तिक २० गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र राष्ट्रिय पुनः निर्माण प्राधिकरणले बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा बनाउने निर्णयमाथि पुनःविचार गर्न पुरातत्व विभागलाई निर्देशन दिएको छ ।
 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र पुरातत्व विभागका प्रतिनिधिको उपस्थितिमा आज बसेको बैठकले सो निर्देशन दिएको हो ।
 
बालगोपालेश्वर मन्दिरको पुनः निर्माण सम्बन्धमा गत पुस १३ गते गठन गरेको विज्ञ समूह र पुनः निर्माण प्राधिकरणबाट यही कात्तिक १८ गते गठन गरिएको विज्ञ समितिले ‘बालगोपालेश्वर’ मन्दिरलाई ग्रन्थकुट शैलीमा पुनः निर्माण गर्न सुझाव दिएका थिए ।
 
ती प्रतिवेदनका आधारमा पहिलेको गुम्बज शैलीमा पुनः विचार गरी आवश्यक कार्य अघि बढाउन बैठकले निर्णय गरेको छ । बालगोपालेश्वर मन्दिर गुम्बज शैलीमा बनाउने कि ग्रन्थकुट शैलीमा बनाउने भन्ने विवाद थियो । पुरातत्व विभागले गुम्जब शैलीमा निर्माण थाले पनि विवादका कारण बीचमै रोकिएको थियो ।
 
बैठकले रानीपोखरीमा रहेको ‘जमलेश्वर’ मन्दिर र ‘विष्णुतीर्थ’को पुनः निर्माणमा आवश्यक समन्वय, सहजीकरण र अनुगमनका लागि राष्ट्रिय पुनः निर्माण प्राधिकरणको संयोजनमा काम गर्ने पनि जनाएको छ ।
 
प्रतिवेदनमा मन्दिरको जीर्णोद्धार गर्दा हाल प्रयोग भएको सिमेन्ट कङ्क्रिटको संरचना हटाई मल्लकालीन स्वरुप तथा निर्माण सामग्री प्रयोग गरी निर्माण गर्ने, ग्रन्थकुट शैलीमा निर्माण गरिने मन्दिरको जग पुरानै सामग्री र विधिमा भारवहन क्षमता रहने गरी निर्माण गर्ने उल्लेख गरिएको छ । (रासस) 
थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds