• ८ वैशाख २०८१, शनिबार

नेपालगञ्जमा मनाइयो शान्ति र सदभावको पर्व ‘ईदुलफितर’

blog

मुस्लिम समुदायको महान पर्व ईदुलफितरको अवसरमा स्थानीय ईदगाहमा ईदको सामूहिक नमाज पढ्दै ।

सिराज खान 

नेपालगञ्ज, बैशाख ९ गते । बाँके जिल्लाका मुस्लिम समुदायले विभिन्न कार्यक्रमको आयोजना गरेर धूमधामका साथ शान्ति र सद्भावको महान् पर्व ईदुल फितर शनिबार मनाएका छन् । 

शनिबार बिहानै नेपालगञ्जस्थित केन्द्रीय ईदगाहमा सामूहिक नमाजबाट सुरु भएको ईदको औपचारिक कार्यक्रमपछि जिल्लाका विभिन्न ठाउँमा अन्य विविध कार्यक्रमका साथ ईद पर्व मनाइएको छ । 

देशमा शान्ति र आर्थिक उन्नतिका लागि विशेष प्रार्थना गरिएको इदगाह सञ्चालक समितिका महासचिव ईर्फान सिद्धिकीले बताउनुभयो । उहाँले रमजान र ईदलाई शान्तिपूर्ण तरिकाले सभ्य र भव्य रूपमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई आभार प्रकट गरिएको बताउनुभयो । 

सो अवसरमा सम्बोधन गर्दै धार्मिक अगुवाहरूले देशका शान्ति, समृद्धि र विकासको कामना गरेको धर्म गुरु मौलाना अब्दुल जब्बार मन्जरीले बताउनुभयो । उहाँले ईद शान्ति र भाइचाराको पर्व भएको जनाउँदै यसले सबैलाई एकताबद्ध बनाउन सहयोग गर्ने बताउनुभयो ।

इदगाहमा नमाज सम्पन्न भएलगत्तै पूर्वमन्त्री मोहम्मद इश्तियाक राई, नेपालगञ्जका उपमेयर कमरुद्दीन राई, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल मन्सुरी, वरिष्ठ अडिटर तथा समाजसेवी जुबेर राई र करिम खान लगायतले अधिकांशलाई अङ्कमाल गरेर ईदको शुभकामना प्रकट गर्नुभयो । 

उक्त अवसरमा अन्य धर्म सम्प्रदायका स्थानीय राजनीतिक दलका अगुवाहरू, प्रहरी प्रशासनका प्रमुखहरू, व्यवसायी तथा उद्योगीले ईदगाहमा पुगेर शुभकामना आदान प्रदान गरेका थिए ।  

ईदको सामूहिक नमाज सकिएलगत्तै नेपालगञ्जका विभिन्न स्थानमा इद मिलन कार्यक्रम राखेर शुभकामना आदानप्रदान गर्ने कार्यक्रम गरिएको थियो । तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाइने सो पर्वमा उक्त समुदायले सेवई, जर्दा, विरयानी, कबाब लगायतका परिकार पकाएर आफन्त तथा ईष्टमित्रहरुलाई खुवाउने परम्परा रहेको छ । 

यसअघि शुक्रबार मात्र रमजानको अन्तिम शुक्रबारलाई सानो ईदको रूपमा मनाएर विभिन्न मस्जिदमा अलबिदाको सामूहिक नमाज पढेर ईदको स्वागतको तयारी गरिएको थियो ।