• १५ चैत २०८०, बिहिबार

कम्युनिष्टहरु एकताबद्ध भए देश समाजवादमा जानसक्छ : नेता खनाल

blog

धर्बेन्द्र झा  

धनुषा, बैशाख ९ गते । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशका सबै कम्युनिष्टहरु एकताबद्ध भए मात्र देश समाजवादमा जान सकिने बताउनुभएको छ । 

पार्टी स्थापना दिवसको अवसरमा जनकपुरधाममा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्न आएका वरिष्ठ नेता खनालले जनकपुर विमानस्थलमा पत्रकारहरूसँगको कुराकारीमा यस्तो बताउनुभएको हो ।

उहाँले समाजवादको स्थापना नगरे सम्म मान्छेले मान्छे माथि गरिरहेको शोषण, दमन र अन्यायलाई समाप्त गर्न नसक्ने भन्दै यी सबै समस्याको समाधान समाजवाद रहेको बताउनुभयो ।

उहाँले दलहरू अहिले समाजवादलाई देखाउने काम मात्रै गरेको र तर त्यो नभएर समाजवादलाई व्यवहारमा कसरी ल्याउन सकिन्छ त्यही सन्देश आफ्नो पार्टीले देश व्यापक रूपमा फैलाइरहेको बताउनुभयो । 

उहाँले मुलुकको विकास निर्माणका कुरामा जनताले चाहेका र उनीहरूको इच्छा र आकाङ्क्षा पूरा गर्ने चुनौती अझैँ खडा रहेको बताउँदै देशको आर्थिक, सामाजिक, सांस्कृतिक र राष्ट्रियतामाथि देखिएको सङ्कट समाधानका लागि पनि वामपन्थीहरू एकताबद्ध हुनु पर्ने बताउनुभयो । 

उहाँले नेपालमा पुष्पलाल श्रेष्ठले ७५ वर्ष अघि नै सुरुवात गरेको कम्युनिष्ट आन्दोलनले धेरै ठूल्ठुला ऐतिहासिक उपलब्धिहरू प्राप्त गरेको बताउनुभयो । उहाँले पछिल्लो निर्वाचनपछि गठित सङ्घ प्रदेशको सदनबाट सरकार बनाउने प्रक्रिया जारी रहेको भन्दै सरकारले पूर्णता पाएपछि कामकाज तीव्र गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

एकीकृत समाजवादी, जसपा र माओवादी केन्द्रबीचमा एकीकरण हुने कुरा हल्ला मात्रै भएको भन्दै उहाँले देशको साझा सवालमा आफ्नो पार्टी सबैसँग मिलेर जान चाहेको बताउनुभयो ।