कलाकारहरु तिहारको तयारीमा

गोरखापत्र समाचारदाता

काठमाडौँ,  कात्तिक २० गते । नेपाली महिला कलाकारहरु तिहारको तयारीमा व्यस्त छन् । किनमेल सुरु भइसकेको छ । कतिपय कलाकारहरुले तिहारका लागि पकवान बनाइसकेका छन् ।
अचेल विद्यार्थी जीवनसमेत बिताइरहनु भएकी नायिका करिष्मा मानन्धर पनि तिहारका लागि व्यस्त हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘तिहारको सबैभन्दा रमाइलो भनेको झिलिमिली र दियोको उज्यालो हो । लक्ष्मीपूजाका लागि रङ्गोली बनाउन मलाई निकै मन पर्छ ।’
उहाँले दाजुभाइ नभएका कारण घरमा आउनेलाई टीका लगाइदिने गरेको सुनाउँदै गत वर्ष सबैले भाइटीकाको फोटो सामाजिक सञ्जालमा राखेपछि आफूलाई नरमाइलो लागेको सुनाउनुभयो ।
कलाकार रागिनी उपाध्यायले तिहारलाई जनावरलाई सम्मान गर्ने पर्वका रुपमा लिने गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘बाटोमा बरालिने गरेका कुकुरहरूलाई खाना खुवाउने गरेको छु । यस्तो पर्व त वर्षभरि नै मनाउनुपर्छ ।’ उहाँले लक्ष्मीपूजाका दिन धनको मात्र पूजा नगरी मनको अध्यारोलाई उज्यालोतर्फ लिएर जानसके त्यसले सबैलाई भलाइ गर्ने धारणा व्यक्त गर्नुभयो ।
यता नायिका मिथिला शर्माले आफ्नो दाजुभाइ नभए पनि चार जनालाई भाइटीका लगाइदिने गर्नुभएको छ । “आफ्नो बनाए आफ्नो हुन्छ । त्यसैले जसलाई पनि दाइभाइ बनाउन सकिन्छ” उहाँले भन्नुभयो । उहाँले लक्ष्मीपूजा गरी बत्ती बाल्न र पूmलमाला बनाउने काम आफूलाई निकै मन पर्ने बताउँदै देउसी भैलोको गीत सामाजिक सञ्जालमा पोष्ट गर्ने कार्य आफूलाई राम्रो लाग्ने गरेको बताउनुभयो ।
यस्तै, अर्का नायिका आशिष्मा नकर्मीले तिहारलाई ‘फेस्टिभल अफ लाइट’ हो भन्दै आफूलाई सबैभन्दा मनपर्ने पर्वका रुपमा रहेको बताउनुभयो । झिलिमिली बत्ती र न्हु दयाँ भिन्तुना सबैभन्दा मनपर्ने बताउँदै भन्नुभयो, “मेरा दाजुभाइ छैनन् । दुई जना बहिनीहरु छन् । सहोदर दाजुभाइ छैन् भनेर दःुख लाग्दैन । बहिनीहरुसँग मिलेर तास खेलेर रमाइलो गर्ने गरेका छौँ ।”
नायिका प्रियङ्का कार्कीलाई पनि तिहार मन पर्छ । उहाँलाई घरमा लक्ष्मी भन्ने गरेकोले पनि तिहार विशेष मनपर्ने गरेको बताउँदै आँगनमा रङ्गोली बनाउने कार्य निकै रमाइलो लाग्ने गरेको बताउनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds