• १५ चैत २०८०, बिहिबार

‘नामकरण साझा रूपमा आएको हो’

blog

रङ्गेली समाचारदाता

विराटनगर, वैशाख ९ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश नामकरण कसैको विरुद्धमा नभएको बताउनुभएको छ। शुक्रबार आयोजित नेपाल बार एसोसिएसन उच्च अदालत विराटनगर बार एकाइको वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेशको नाम कसैले आफ्नो विपक्षमा भएको सम्झन नहुने धारणा व्यक्त गर्नुभएको हो। 

“नामकरण साझा रूपमा आएको हो, एउटा पक्षलाई बिझाउने र अर्को पक्षलाई समेट्ने नाम नभएर संसदबाट साझा रूपमा पारित भएको हो। यसलाई सबैले आत्मसात् गरेर जानुपर्छ,” मुख्यमन्त्री कार्कीले भन्नुभयो। भविष्यमा  जनमतका आधारमा संवैधानिक एवं कानुनी प्रक्रियाबाट प्रदेशको नाम परिवर्तन गरेर जान सकिने उहाँले बताउनुभयो।  

नयाँ संसद्ले सर्वाधिकार प्रयोग गरेर पारित गरेको प्रदेशको नामले कसैलाई चित्त दुख्न नहुने धारणा व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशको नामकरणमा प्रदेश सभाकै भूमिका बढी हुने र सरकारको कुनै भूमिका नहुने पनि बताउनुभयो। 

उहाँले राजनीति र न्याय क्षेत्रको अवस्था राम्रो नदेखिएको चर्चा गर्दै विगत १६–१७ महिनादेखि प्रधानन्यायाधीश जस्तो गरिमामय पद कायममुकायमको भरमा रहनु दुःखद रहेको विचार व्यक्त गर्नुभयो। 

मुख्यमन्त्री कार्कीले विगत १५ वर्षमा नभएका विकास प्रदेश सरकारले गरेको र जनताले त्यसको अनुभूति प्राप्त गरेको दाबी गर्नुभयो। उहाँले विगत पाँच वर्षको अवधिमा प्रदेश सरकारले आठ सय किलोमिटर कालोपत्रे सडक, एक सय पक्की पुल, दुई सय झोलुङ्गे पुल र दुई सय भौतिक संरचना निर्माण गरेको जानकारी दिनुभयो। मुख्यमन्त्री कार्कीले उच्च अदालत बार एकाइको नवनिर्मित भवनको उद्घाटनसमेत गर्नुभयो।