• ११ वैशाख २०८१, मङ्गलबार

उपनिर्वाचनमा सूक्ष्म अनुगमन विशेष व्यवस्था

blog

काठमाडौँ, वैशाख ९ गते । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन अवधिको गतिविधि निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गर्न विशेष व्यवस्था गरेको जनाएको छ। 

प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन २०८० का लागि जारी निर्वाचन आचारसंहिता २०७९ मा भएको व्यवस्थाबमोजिम मतदान हुने दिन यही वैशाख १० गते आइतबारभन्दा ४८ घण्टा अघि (२०८० वैशाख ७ गते बिहीबार राति १२ बजे)देखि मतगणनाको काम सम्पन्न नभएसम्म प्रचार–प्रसार गर्न निषेध गरेको आयोगले शुक्रबार विज्ञप्तिमार्फत जनाएको छ। 

आयोगका उपन्यायाधिवक्ता एवं सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले उपनिर्वाचन हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने तथा निर्वाचन (कसुर तथा सजाय) ऐनको व्यवस्था कार्यान्वयनको अनुगमन गर्न विशेष संयन्त्रमार्फत सूक्ष्म अनुगमन गराउने व्यवस्थासमेत मिलाइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार निर्वाचनका लागि अनुगमन समितिहरूका अतिरिक्त आयोगले विशेष अनुगमन टोलीसमेत खटाएको छ। 

निर्वाचन आचारसंहिताबमोजिम आयोगबाट उपनिर्वाचन हुन गइरहेका सम्बन्धित जिल्लाका जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ। “निर्वाचन (कसुर तथा सजाय) ऐनबमोजिम प्रचार–प्रसार निषेधको अवधिमा निर्वाचन प्रचार–प्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचार–प्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिसकेकाले सोको पालना गर्न/गराउन सम्बन्धित सबैमा पुनः स्मरण गराइन्छ,” आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आयोगले निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रकाशन तथा प्रसारणजस्ता कार्य नगरी निर्वाचनको स्वच्छता, निष्पक्षता कायम गर्न जानकारी गराएको छ। 

अनुगमन संयन्त्र स्थापना

निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र एवं भयरहित वातावरणमा सम्पन्न गर्न शुक्रबारदेखि सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना भएको बताउनुभएको छ। 

गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा रहेको उक्त संयन्त्रमा चारवटै सुरक्षा निकायका राप प्रथम श्रेणी वा सोसरहका अधिकृत रहेको छ। 

सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले संयन्त्रमा नेपाली सेनाका महासेनानी भेषबहादुर केसी, नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्रबहादुर गुरुङ, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग्विजय सुवेदी र राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक भूमिप्रसाद पाठक रहेको जानकारी दिनुभयो । संयन्त्रको कार्यारम्भ भएको अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने/गराउने सन्दर्भमा निर्देशन दिनुभएको थियो। 

सो अवसरमा माननीय निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा, आयोगका सचिव गोकर्णमणि दुवाडीको उपस्थिति रहेको जनाइएको छ। सो संयन्त्र वैशाख ११ गतेसम्म रहनेछ।

पूर्वतयारीसम्बन्धी निर्देशन

निर्वाचन आयोगकाले प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतदान कार्यसम्पन्न नभएसम्मका लागि तोकिएका सबै मतदान स्थल तथा मतदान केन्द्रहरूमा हावाहुरी र बर्सातका कारण मतदान कार्य प्रभावित हुन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै पूर्वतयारी गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ।