काँग्रेस केन्द्रीय समितिको बैठक सुरु

Nepali Congressकाठमाडौँ, मङ्सिर २५ गते । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको क्रियाशील सदस्यता वितरण, नवीकरण, अनुशासन समितिले गरेका कारबाहीको पुनरावलोकन, सरकारमा पार्टीको भूमिका, सरकारका काम र कारबाही, आगामी दिनमा पार्टी सङ्गठनलाई कसरी चुस्त एवम् बलियो बनाउनेजस्ता विषयमा छलफल सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सुरु भएको बैठकमा ती विषयमा अहिले केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राखिरहनुभएको छ । बैठकको सुरुमा नेकाका बागलुङका नेता, लोकतान्त्रिक आन्दोलनका अथक योद्धा एवम् सभासद् हरिबहादुर खड्काको असामयिक निधनमा गहिरो शोक प्रकट गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।

नेकाका केन्द्रीय सदस्य एवम् सिँचाइमन्त्री एनपी साउदले बैठकमा दलहरुका बीचमा सहकार्य र सहमति कायम गरी माघ ८ गतेभित्र लोकतान्त्रिक संविधान जारी गर्ने विषयमा पनि छलफल भएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

उहाँले नयाँ संविधान लेखनका विषयमा काँग्रेसले लिएका नीति र अडानमा अन्य दलहरुलाई कसरी सहमतिमा ल्याउने भन्ने विषयमा केन्द्रीय सदस्यहरुले पार्टीका नेतृत्वलाई सुझाव दिनुभएको बताउनुभयो ।

काँग्रेस केन्द्रीय समितिको बैठक लामो समय पश्चात् सुरु भएको थियो । पार्टीको क्रियाशील सदस्यता वितरण कार्य यही मङ्सिर ३० गते सकिँदै छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना