• ७ वैशाख २०८१, शुक्रबार

आगलागी पीडित परिवारलाई राहत वितरण

blog

आगलागि पीडितलाई राहात वितरण गरिंदै । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, बैशाख ८ गते । बाँकेको विभिन्न पालिकामा भएको आगलागीबाट प्रभावित परिवारलाई स्थानीय तह र नेपाल रेडक्रसले खाद्य र गैरखाद्य राहत सामग्री वितरण गरेको छ । आगो नियन्त्रणमा आएपश्चात् स्थानीय तह, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटी जानकी र गंगापुर उपशाखाका तालिम प्राप्त स्वयंसेवक परिचालन भई स्थलगत सर्वेक्षण गरी स्थानीय तहबाट दाल, चामल, नुन, तेल र तयारी खाना र रेडक्रसबाट गैरखाद्य राहत सामग्री वितरण गरिएको हो ।  

यसैसाता जानकी गाउँपालिका –५ मा आगलागी हुँदा ८ घर, राप्तीसोनारी गाउँपालिका १ र नरैनापुरमा आगलागी हुँदा ११ घर जलेर नष्ट भएको थियो । ती घरपरिवारलाई प्रतिपरिवार त्रिपाल १, कम्बल २, कपडा सेट, भाडा सेट र हाइजीन किटगरी २० सेट १ लाख ५० हजार रुपियाँ बराबरको गैरखाद्य राहत सामग्री वितरण गरिएको रेडक्रस बाँकेले जनाएको छ । 

राहत सामग्री वितरण गर्दै नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले रेडक्रसको सहयोग उल्लेखनीय रहेको भन्दै प्रशंसा गर्नुभयो । प्रभावितलाई तत्काल पालिकाबाट खाद्य बस्तु र रेडक्रसबाट गैरखाद्य राहत सामग्री वितरण गरिएको बताउनुभयो । 

नरैनापुर गाउँपालिकाको तीन वटा टोलमा एकै दिन फरक­फरक समय आगलागी हुँदा १० घरघुरी जलेर खरानी भएको थियो । नरैनापुर गाउँपालिकामा दमकल उपलब्ध रहेकाले आगो नियन्त्रण गर्न सहज भएको उहाँले बताउनुभयो ।