• ८ वैशाख २०८१, शनिबार

कोदोले म्याराथनमा भाग लिनसक्ने भएको छु : नेता खनाल

blog

पूर्व प्रधानमन्त्री तथा नेकपा (एस) का नेता झलनाथ खनाल । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख ८ गते । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नियमित कोदो सेवनले आफ्नो सुगर र प्रेसर कम भएको बताउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित नेशनल नर्सिङ कन्फरेन्सलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

कोदो बहुगुणी अन्न भएकाले कोदो खान र उत्पादन गर्न उहाँले कृषकलाई सुझाव दिनुभयो । आफूले पछिल्लो समय कोदोको सेवन नियमित गरेको भन्दै अहिले सुगर र प्रेसर हराएको बताउनुभयो । 

नेता खनालले कोदोको सेवनले गर्दा आफू अहिले म्याराथनमा दौडिन सक्षम र बलवान भएको दाबी गर्नुभयो ।

आफू बलियो हुन आत्मविश्वास पनि बलियो बनाउनु पर्ने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘मैले आफैँले भोगेको कुरा भन्ने हो भने प्रेसर र सुगर भएका रोगीहरूले कोदो खायो भने धेरै राम्रो हुन्छ । मेरो पनि अलि प्रेसर थियो, अहिले ठीक भएको छ ।’ म अहिले म्याराथनमा जाऔँ भने पनि तयार छु उहाँले भन्नुभयो । पूर्व प्रधानमन्त्री खनालले नैतिकवान् राजनीतिज्ञ मात्रै सधैँभरि आफ्नो उचाइमा बसिरहन सक्षम हुने बताउनुभयो ।