• ७ वैशाख २०८१, शुक्रबार

रुपन्देहीका ८ मस्जिदमा फलफूल वितरण

blog

मस्जिदमा फलफूल वितरण गर्दै पालिका अध्यक्ष घिमिरे लगायत पदाधिकारी । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली
सिद्धार्थनगर, वैशाख ८ गते । 
मुस्लिम समुदायको पर्व रमजानको अवसरमा मस्जिदमा फलफूल वितरण गरिएको  छ ।

मुस्लिम समुदायको पर्व रमजानको अन्तिम हुनै लाग्दा रुपन्देहीको सियारी गाउँपालिकाले पालिका भित्रका सबै मस्जिदमा पुगेर फलफूल वितरण गरेको हो ।

सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु, वडा अध्यक्षहरू दीपकबहादुर शाही, श्रीराम यादव, रामचन्द्र कुर्मीलगायतले पालिका भित्र सञ्चालनमा रहेका ८ वटा मस्जिदमा पुगेर एउटा मस्जिदलाई पाँच हजार बराबरको फलफूल प्रदान गर्नु भएको छ ।

रोजा (व्रर्त) बसेका मुस्लिम समुदायलाई रोजा खोलेपछि खान मिल्ने गरी स्याउ, केरा, सुन्तला र खरभुजा लगायतका फलफूल प्रदान गरिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभयो ।

उहाँले स्थानीय सरकारले सबै धर्म र समुदायलाई समान व्यवहार गर्ने उल्लेख गर्दै सबै धर्म, वर्ग र समुदायको साथमा स्थानीय सरकार रहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष घिमिरेले स्थानीय सरकारले आगामी दिनमा पनि अन्य धर्म र समुदाय विशेषका पर्वलाई पनि ध्यानमा दिएर काम गर्ने बताउनुभयो ।

यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानी समेत खाँदैनन् । मुस्लिम समुदायको पर्व रमजानको शनिबार अन्तिम दिन हो ।