• १५ चैत २०८०, बिहिबार

पोखराका मुहान सुक्न लागे, खानेपानीको समस्या

blog

फाइल तस्बिर ।

अन्नपूर्ण (कास्की), वैशाख ८  गते ।  पोखरा र आसपासमा पानी नपरेको लामो समय भयो । यसले गर्दा खोला, खोल्सा र नदीमा पानीको मात्रा घटेको छ । यसको प्रभाव मर्दीखोलामा पनि परेको छ । मर्दीखोला पोखरामा खानेपानी वितरण गर्ने मुख्य स्रोत हो । खोलामा पानीको सतह घटेपछि पोखरामा खानेपानी वितरणमा समस्या परेको छ ।

नेपाल खानेपानी संस्थान पोखरा कार्यालयले खानेपानी पुर्‍याउन गाह्रो परेको सूचना जारी गरिसकेको छ । खडेरीका कारण हाल भइरहेको पानी उत्पादनमा कमी आएकाले पोखरा महानगरभित्र कतिपय स्थानमा पानी वितरणमा समस्या आएको सूचनामार्फत जानकारी दिइएको छ । हाल उत्पादन भइरहेको पानी आपूर्ति नभएका क्षेत्रमा आलोपालो गरी वितरणका लागि संस्थान प्रयासरत रहेकाले अनावश्यक पानी खर्च नगर्न सेवाग्राहीलाई आग्रह गरेको छ ।

पोखरामा ल्याउने पानीको सतह घटेको संस्थानका वितरण प्रमुख सब-इन्जिनियर लक्ष्मण पाण्डेले जानकारी दिनुभयो । “गर्मी सुरु भयो, खोलाको पानी ८० प्रतिशत घटेको छ”, उहाँले भन्नुभयो, “हाम्रो पानीको स्रोत भनेको ८० प्रतिशत मर्दी नै हो । त्यसपछि भोटीखोला, कालीखोला, बालधारा र बोरिङ हो । यी स्रोतमा पानी घटेका कारण हामीलाई समस्या भएको हो ।”

खानेपानीको समस्याबारे जानकारी गराउन बिहीबार संस्थानको कार्यालय नै पुग्नुभएका पोखरा महानगरपालिका–१३ का भीमबहादुर गुरुङ पनि हैरानीमा हुनुहुन्छ । “मैले घर बनाएको पाँच वर्ष भयो, पानीको समस्या त पहिलादेखि नै हो । मैले महिनामा एक हजार लिटर पानी ट्याङ्करबाट मगाउँथे”, उहाँले भन्नुभयो, “पछिल्लो दुई हप्तादेखि पानी नै आएको छैन, अहिले त झनै समस्या परेको छ ।” 

खानेपानीको समस्या समाधान गरिदिन भन्दै दिनहुँ सयौँ सेवाग्राहीको फोन आउने गरेको संस्थानको वितरण शाखाका कर्मचारी राजेश थापाले बताउनुभयो । घरमा पानी नआएको गुनासोसहित दैनिक तीन सयभन्दा बढी फोन आउने गरेको उहाँले सुनाउनुभयो । “खानेपानीको समस्या प¥यो भन्दै पहिला पनि समस्या नआएको होइन, तर पछिल्ला दिनमा अधिक फोन आउने गरेको छ”, उहाँले भन्नुभयो । 

मुहानमा पानीको सतह घट्नु एउटा कारण भए पनि खानेपानीको नयाँ प्रोजेक्ट परीक्षणको कामले पनि खानेपानी वितरणमा समस्या भएको सब-इन्जिनियर पाण्डेले बताउनुभयो । “हामी सात–आठ दिनअघि सूचना जारी गरेरै पोखरा आउने १६ र २० इन्चको पाइप पूर्णरूपमा बन्द गरेका थियौँ”, उहाँले भन्नुभयो, “किनभने जापान सहयोग नियोग (जाइका)ले बनाएको ग्रिड च्याम्बर र ट्याङ्कीमा पानी जम्मा गर्न हाम्रो पाइपको कनेक्सन टुटाएर त्यता जोडिएको थियो ।” सोही कामका लागि सोमबार पुनः पानी पाइप बन्द गरिने उहाँले बताउनुभयो । 

सोमबारदेखि पनि पानी वितरणमा समस्या हुने भएकाले उपभोक्तालाई अनावश्यक पानी खर्च नगर्न आग्रह गरिएको छ । आफूलाई जस्तै पानीको महत्त्व अरूलाई पनि छ भन्ने महसुस गरी अनावश्यक रूपमा धारा खुला नराखिदिन, मोटर प्रयोग नगरिदिन पानीको  सदुपयोग गरिदिन संस्थानले आग्रह गरेको छ ।

 हाल पोखरामा दैनिक साढे सात करोड लिटर पानी आवश्यक रहेको कार्यालय प्रमुख आशिष् कार्कीले जानकारी दिनुभयो । जसमा अहिले दैनिक साढे पाँच करोड लिटर आपूर्ति भइरहेको छ । पोखरामा संस्थानका छवटा खानेपानी ट्याङ्की छन् । जसमध्ये विन्ध्यवासिनीमा ४० लाख लिटर, माटेपानीमा साढे चार लाख लिटर, बालधारामा एक लाख २० हजार लिटर, खहरेमा एक लाख लिटर क्षमताका ट्याङ्की छन् । यीबाहेक अमला बिसौनी र लभ्लीडाँडाको ट्याङ्कीबाट पनि पानी वितरण भइरहेको छ । पोखरामा संस्थानबाट करिब ४८ हजार धारा जडान भएका छन् । 

पोखरामा बढ्दो सहरीकरणसँगै खानेपानीको समस्या रहेको प्रमुख कार्कीको भनाइ छ । उहाँका अनुसार पोखरामा वार्षिक तीन हजार नयाँ धारा जडान हुने गरेका छन् । नयाँ धारा जडान आधारमा हरेक वर्ष थप ३० लाख लिटर पानी आवश्यक पर्ने उहाँले बताउनुभयो । अबको पाँच वर्षमा अहिले बनिरहेको जाइकाको आयोजना सकिएपछि पनि खानेपानी पुर्‍याउन समस्या पर्ने कार्कीको आकलन छ । 

भविष्यमा हुनसक्ने खानेपानीको समस्याका विषयमा अहिले नै सोच्नुपर्ने प्रमुख कार्कीले बताउनुभयो । खानेपानीको समस्या हल गर्न यही वर्ष पोखरा–७ र १४ मा थप दुई नयाँ बोरिङको काम भइरहेको छ । पोखरामा अहिले आठ ठाउँमा बोरिङबाट पनि पानी वितरण हुँदै आएको छ । रासस