• ७ वैशाख २०८१, शुक्रबार

अस्पताल भवन निर्माण

blog

घोडाघोडी समाचारदाता

घोडाघोडी, वैशाख ८ गते । कैलालीको बर्दगोरिया गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण पूरा भएको छ। गत असारदेखि सुरु भएको निर्माण सम्झौताअगावै पूरा भएपछि स्थानीय खुसी भएका छन्।

सङ्घीय सरकारको सहयोगमा १३ करोड ८३ लाख १८ हजार २८६ रुपियाँ लागतमा अस्पताल भवन निर्माण पूरा भएको हो। २०८० असार २० गते पूरा गर्ने गरी १५ शय्याको अस्पताल निर्माणको जिम्मा लुम्बिनी/थोदुङ/शिव खिम्ती जेभी निर्माण कम्पनीले पाएको थियो। निर्माण कम्पनीका सञ्चालक एकेन्द्र मल्लले २०७८ असार २० गते सम्झौता गरेर निर्माण सुरु गरेको जनाउँदै सम्झौता मितिभन्दा चार महिनाअगावै अस्पताल भवन निर्माणले पूर्णता पाएको बताउनुभयो । 

उहाँले निर्माण सामग्री र जनशक्ति अभाव नभएका कारण निर्माण कार्यले तीव्रता पाएको उल्लेख गर्नुभयो। देशभर एकसाथ शिलान्यास गरिएका ३९६ वटा १५ शय्याका आधारभूत अस्पतालमध्ये समयमै निर्माण पूरा भएको सम्भवतः बर्दगोरिया आधारभूत अस्पताल पहिलो भएको अनुमान गरिएको छ। 

तत्कालीन दोदोधारा स्वास्थ्य चौकीलाई स्तरवृद्धि गरेर १५ शøयाको दोदोधारा आधारभूत अस्पताल बनाइएको हो। निर्माण पूरा भएसँगै निर्माण कम्पनीले सोमबार गाउँपालिकालाई अस्पताल हस्तान्तरण गरेको छ। बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले निर्माण कम्पनीका सञ्चालक एकेन्द्र मल्ल स्थानीय भएकाले पनि सम्झौताअगावै अस्पताल निर्माणले पूर्णता पाएको बताउनुभयो। ठेकेदारका कारण धेरै ठाउँका योजना समयमै निर्माण सम्पन्न नभई अलपत्र पारेको अवस्थामा स्वास्थ्यजस्तो महत्वपूर्ण योजना समयमै पूरा भएपछि गुणस्तरीय स्वास्थ्य सेवासमेत यथाशीघ्र प्रवाह गर्ने योजनामा गाउँपालिका रहेको बताइएको छ। 

बर्दगोरिया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाशकुमार रावतले एक डाक्टरसहित १४ जना जनशक्तिले अहिले सेवा दिइरहेका जनाउनुभयो। अहिले स्वास्थ्य चौकीकै जनशक्तिले सेवा दिइरहेका बताउँदै उहाँले थप आवश्यक जनशक्तिका लागि १७ जनाको आवेदन आह्वान गरिएको जानकारी दिनुभयो। सङ्घीय सरकारको सहयोगमा निर्माण भएको अस्पतालका लागि आवश्यक स्वास्थ्य सामग्रीमा समेत सहयोग हुने भएको छ।

शाखा प्रमुख रावतले एक्स–रे, भिडियो एक्स–रे खरिदका लागि टेन्डर गरिसकेको जनाउँदै आगामी आर्थिक वर्षदेखि विशेषज्ञ सेवासहित चौबीसै घण्टा सेवा दिने योजना सुनाउनुभयो। घरनजिकै विशेषज्ञ सेवासहितको स्वास्थ्य उपचार पाइने भएपछि स्थानीय खुसी छन्। सो अवसरमा तोकिएको समयअगावै काम पूरा गर्ने र गराउने निर्माण कम्पनी, गाउँपालिकाका प्राविधिक कर्मचारीलाई सम्मान गरिएको छ। अस्पताल हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कुँवरले उहाँहरूलाई प्रमाणपत्रसहित सम्मान गर्नुभएको हो।