• १२ वैशाख २०८१, बुधबार

वैशाख १५ भित्र सबै विद्यालयमा पुस्तक

blog

काठमाडौँ, वैशाख ५ गते । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले वैशाख १५ गतेभित्र सबै विद्यालयमा पाठ्यपुस्तक पु-याइसक्ने दाबी गरेको छ। पुस्तक छपाइ तथा वितरणको काम अन्तिम चरणमा पुगिसकेको जनाउँदै केन्द्रले सरकारले भर्ना अभियान सञ्चालन गरेको समयभित्रै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ। 

सोमबार प्रधानमन्त्री कार्यालयबाट अनुगमनमा गएको प्रतिनिधिमण्डललाई केन्द्रले गराएको जानकारीअनुसार हालसम्म ५९ वटा जिल्लामा पाठ्यपुस्तक वितरण गरिसकिएको छ। बाँकी १८ वटा जिल्लाका लागि आवश्यक पर्ने पुस्तक छपाइ र वितरणको कामसँगसँगै भइरहेको केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाले जानकारी दिनुभयो। उहाँका अनुसार पाठ्यपुस्तक वितरण गर्न बाँकी रहेका जिल्लामा सोलुखुम्बु, धनकुटा, मोरङ, सुनसरी, झापा, सिरहा, सर्लाही, बारा, पर्सा, रुपन्देही, बाँके, बर्दिया, दैलेख, सुर्खेत, डोटी, डडेलधुरा, कञ्चनपुर र कैलाली छन्। 

केन्द्रले कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको छ। जसअनुसार हालसम्म ५९ जिल्लाका लागि सोमबारसम्म ७४ लाख ७२ हजार ३८९ थान पाठ्यपुस्तक वितरण भइसकेको छ। केन्द्रले एक करोड ५० लाख थान पुस्तक छाप्ने जिम्मेवारी पाएको छ। 

वितरण भएकामध्ये सबैभन्दा धेरै कक्षा १० का लागि १७ लाख २६ हजार ५५ थान वितरण भएको छ। त्यस्तै कक्षा ९ का लागि १५ लाख ७३ हजार ५४३ थान, कक्षा ८ का लागि १६ लाख २७ हजार ५०६ थान तथा कक्षा ७ र कक्षा ६ का लागि क्रमशः १२ लाख ७९ हजार ५७० र १२ लाख ६५ हजार ७१५ थान पुस्तक वितरण भइसकेको छ। 

केन्द्रका प्रबन्ध निर्देशक झाले यस पटक समयमै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्नुमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरन्तरको चासो र सहजीकरण मुख्य कारण भएको बताउनुभयो। उहाँले भन्नुभयो, “समयमै कागज खरिद, कामदारको उचित प्रबन्ध गर्न सकेका कारण समयमै काम हुन सकेको हो।”

“आउने दिनमा पनि यस्तै अवस्था रह्यो भने अहिले निजी मुद्रण संस्थालाई छाप्न दिएको पुस्तक पनि हामी नै छाप्छौँ। जसबाट केन्द्रको आम्दानी पनि वृद्धि हुनेछ,” उहाँले भन्नुभयो। उहाँले यस पटक पुस्तक छाप्ने कागज खरिदका लागि केन्द्रले विभिन्न बैङ्कबाट ८५ करोड रुपियाँ ऋण लिएको र उक्त ऋणमध्ये ४० करोडभन्दा बढी पाठ्यपुस्तक छापेर आएको आम्दानीबाट तिरिसकेको जानकारी दिनुभयो। 

कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको निजी मुद्रण संस्थाले पनि सम्पूर्ण पुस्तक छापेर वितरण गरिसकिएको जनाएको छ। यी पाठ्यपुस्त्क छपाइका लागि १३ वटा मुद्रण संस्था छानिएका छन्। 

यी संस्थाको छनोट पाठ्यक्रम विकास केन्द्रले गरेको हो। 

केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले निजी संस्थालाई एक करोड १८ लाख थान पुस्तक छाप्ने जिम्मेवारी दिइएको थियो। सरकारले वैशाख ३ गतेबाट भर्ना अभियान सञ्चालन गरेको छ। अभियान वैशाख १५ गतेसम्म सञ्चालन हुनेछ।