• ११ वैशाख २०८१, मङ्गलबार

एउटै वडामा उस्तै प्रकृतिका दुई सङ्ग्रहालय

blog

काफलबोटमा निर्माणधिन साँस्कृतिक सङ्ग्रहालय । तस्बिर : गोरखापत्र

नवीन शिशिर विक

बागलुङ, वैशाख ४ गते । बागलुङको काठेखोला गाउँपालिका–४ तंग्राम सबै भन्दा बढी जनजाति (मगर) समुदायको बसोवास भएको क्षेत्र हो । जनजाति कला, संस्कृति, रहनरहन, चलन चल्ती, भेषभुषा तथा भाषिक भिन्नताको लागि पनि तंग्राम परिचित छ । 

काठेखोला गाउँपालिकामा पहिलो पटक जनप्रतिनिधि निर्वाचित भए पछि ‘एक वडा, एक पहिचान’ कार्यक्रम अन्तर्गत तंग्राम चापोट (साविक–३) क्षेत्रमा जनजाति सङ्ग्रहालय स्थापना गर्न सुरु गर्‍यो ।

गाउँपालिकाको क्रमागत योजनामा समावेश पर्यटन तथा जनजाति सङ्ग्रहालय निर्माणको लागि विस २०७५ सालमा पाँच लाख, ०७६ मा २० लाख, ०७७ मा १३ लाख, ०७८ मा १५ लाख र ०७९ मा पाँच लाख रुपियाँ गरी हालसम्म ५८ लाख रुपियाँ खर्च भएको छ । 

यद्यपी सङ्ग्रहालय भवन अझै सम्पन्न भएको छैन । भवनको छानो हाल्ने तथा अन्य आधारभुत संरचना निर्माण गर्न बाँकी रहेको निर्माण समितिका अध्यक्ष रनबहादुर पुनले जानकारी दिनुभयो । उक्त सङ्ग्रहालयमा गाउँपालिका भित्र बसोबास गर्ने विभिन्न जाति/जनजातिको पहिचान झल्कने सामाग्रीहरु लक्ष्य छ । 

जनजाति सङ्ग्रहालय निर्माण स्थलको करिव दुई किलो मिटरको दुरी तल पर्ने काफलबोट क्षेत्रमा उस्तै प्रकृतिको जीमाक सङ्ग्रहालय  निर्माण थालिएको छ । उक्त सङ्ग्रहालय निर्माणको अन्तिम चरणमा छ । 

गण्डकी प्रदेश सरकारको लगानीमा निर्माणधिन सङ्ग्रहालयमा विश्वका विभिन्न क्षेत्रमा प्रयोग हुने साँस्कृतिक बाजाको संरक्षण तथा सांगीत कला प्रशिक्षणको रुपमा विकास गर्ने लक्ष्य रहेको संरक्षण हेमराज आश्रमले जानकारी दिनुभयो ।

 ‘हामीले यहाँ विभिन्न देशका मुख्य बाजाहरु संग्रह गर्ने लक्ष्य राखेका छौँ’ संरक्षक आश्रमले भन्नुभयो–‘‘यसले नेपाली लोक बाजाहरुको संरक्षण हुनुका साथै विश्वभर रहेका बाजाहरु बारे संगीत र संस्कृतिमा रुची राख्नेलाई पाठशाला हुनेछ । 

२०७६ सालदेखि निर्माण थालिएको सङ्ग्रहालयको कुल लागत एक करोड ३० लाख रुपियाँ उल्लेख छ । सङ्ग्रहालय निर्माणमा गण्डकी प्रदेश सरकारले तीन आर्थिक बर्षमा गरि एक करोड ३० लाख रुपियाँ विनियोजन गरेको छ ।

काठेखोला गाउँपालिकाले पनि ९० हजार रुपियाँ बिनियोजन गरेको थियो । त्यस रकमबाट जिमाक सङ्ग्रहालय जाने बाटो सुधार गर्नुका साथै मादलको प्रतिमा निर्माण गरिएको छ । सङ्ग्रहालय २०८० जेठ मसान्तसम्म निर्माण गरिसक्ने सम्झौता छ ।

जनजाती सङ्ग्रहालय गाउँपालिकाको विशेष योजना हो । साँस्कृतिक सङ्ग्रहालय तत्कालिन गण्डकी प्रदेश सांसद पियारी थापाको विशेष पहलमा निर्माण थालिएको थियो ।