• ८ वैशाख २०८१, शनिबार

रातो मच्छिन्द्ननाथ रथकाे निर्माण

blog

ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ जात्राका लागि निर्माण काम धमाधम भइरहेको छ ।

ललितपुर, वैशाख ४ गते। नेपालमा मनाइने जात्रामध्ये सबैभन्दा लामो जात्रा भनेर मानिने रातो मच्छिन्द्रनाथ जात्रा बैशाख ११ गते सुरु हुँदैछ । वैशाख ८ गते  मच्छिन्द्रनाथको रथारोहणका लागि ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ जात्राका लागि निर्माण काम धमाधम भइरहेको छ । नेवारी पात्रोको तीथिअनुसार मच्छिन्द्रनाथको रथ ‘पारु’  दिनदेखि निर्माण गर्न सुरु गरिन्छ । 

त्यसको निर्माण १५ दिनमा सक्नुपर्ने परम्परा रहेको निर्माणका सहायक नाइके प्रेम महर्जनले जानकारी दिनुभयो । मच्छिन्द्ननाथको महास्नानपछि बाराहीले रथ निर्माणको काम सुरु गर्ने गर्छन् । यसरी रथजात्रा सञ्चालनका लागि धेरै समूह र गुठी संलग्न भए पनि रथ निर्माणका लागि भने बाराही र ञवालले मात्र काम गर्ने महर्जनले बताउनुभयो। 

‘महास्नानको भोलिपल्ट रथ निर्माण गर्ने स्थानमा खाल्डो खनिसकेपछि बाराहीहरुले रथमा रहने काठसम्बन्धी काम सुरु गर्छन’, उहाँ भन्नुहुन्छ,  याःक ख’ सम्मको काठको काम सकिसकेपछि ञवाले त्यसमा फेरि एक तल्ला थप्ने र बेत,  डोरी, ‘लसी’ अर्थात् नेपाल भाषामा १६ वटा लामो काठ बनाउने कामलाई पूर्णता दिन्छन्।  

रथमा रहेको अधिकांश काठको काम बाराहीले गर्छन्।  रथ बनाउने काममा ३५ जना खटिएका छन् । यसरी मच्छिन्द्ननाथको रथारोहणको दिन ‘बायम्व’ पनि राख्ने गर्छन्। 

भोटो जात्राको दिन ’ञवाल’ ले ‘बायम्व’को माथि रहेको स्वयम्भूनाथको मूर्ति निकालेपछि ‘बायम्व’ खसालिन्छ। त्यो खसालिएको ‘बायम्व’ घोप्टो परे पानी पर्ने र नपरेमा पानी नपर्ने धार्मिक विश्वास छ।

तस्बिर : मनोजरत्न शाही






Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।