• १२ वैशाख २०८१, बुधबार

जनतामा देखिएका नैराश्यता हटाउँछौँ : नेता गुरुङ

blog

भरतपुरमा सोमबार आयोजित कार्यक्रममा नेताहरु । तस्बिर : वसन्त पराजुली

वसन्त पराजुली

भरतपुर, बैशाख ४ गते । नेपाली कांग्रेसका नेताहरूले नेपाली जनतामा अहिले बढ्दैगएको नैराश्यता हटाउने बताउनुभएको छ । कांग्रेस चितवनले सोमवार चितवन क्षेत्र २ को विभिन्न स्थानमा भएका चुनावी सभामा नेताहरूले सो कुरा बताउनुभएको हो ।   

कालिका नगरपालिकाको क्लबचोक, भरतपुर महानगरपालिकाको लंकुमा आयोजित  कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले जनतामा देखिएको नैरश्यता अन्त गर्ने बताउनुभयो ।  

“कांग्रेसले आफ्नो कार्यकालमा गरेको विकास निर्माणबारेमा जनतामा बुझाउन सकेन । त्यही कारण जनतामा केही गरेन भन्ने नैरश्यता छ” उहाँले भन्नुभयो । चितवनले राम्रो नेतृत्व नपाउँदा विकासका दृष्टिले पाछिपरेको पनि उहाँले स्विकार्नुभयो । 

चितवन क्षेत्र २ मा निर्वाचन लड्न आएका स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई उहाँले नयाँ जोगीको संज्ञा दिनुभयो । “चुनावी अभियानमा नयाँ जोगीले धेरै खरानी घसे ।  जोगिलाई भिक्षा दिँदा ध्यान गरिएन भने कहिलेकाहीँ गलत हुनजान्छ” उहाँले भन्नुभयो । भिक्षा दिँदा नै गलत गर्दा रावणले सीता हरणगरेको धार्मिक प्रसङ्ग उहाँले सुनाउनुभयो ।  

कांग्रेसका महामन्त्री गगनकुमार थापाले पनि नेपाली नागरिकमा नैरश्यता छाएको बताउनुभयो । त्यो नैराश्यताको अन्त कांग्रेसले गर्छ उहाँले भन्नुभयो । रवि लामिछानेलाई दलहरूले घेराबन्दी गरेको भन्ने कुरा गलत भएको उहाँले बताउनुभयो । चितवन २ का मतदातालाई भावनामा नबहकिन पनि उहाँले आग्रह गर्नुभयो । 

लोकतन्त्रको आत्मा भनेकै कानुनको शासन भएको चर्चा गर्नुहुँदै महामन्त्री थापाले  लोकतन्त्रमा न्याय नै सर्वमान्य हुने बताउनुभयो । नेपालको कानुनले दोहोरो नागरिकता र राहदानी लिन नपाउने उहाँले बताउनुभयो । 

भरतपुर महानगरकी प्रमुख रेणु दाहालले गठबन्धन लामो समय बचाउन पनि कांग्रेस उम्मेदवारलाई भोट दिनुपर्ने बताउनुभयो । कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले मतदाताहरूले आफूलाई जिताएमा विकासमा केन्द्रित भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो ।