• ८ वैशाख २०८१, शनिबार

सिंहदरबारको फोहोर पुतली बगैँचामा

blog

सिंहदरबारको संकलित फोहोर छुट्याउँदै परिवर्तन नेपाल संस्थाका कर्मचारी । तस्बिर : केशब गुरुङ

काठमाडौं, वैशाख ४ गते । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको फोहोर नौ दिन बितिसक्दा पनि उठेको छैन । काठमाडौं महानगरपालिकाले फोहोर उठाउन छाडेपछि त्यहाँको फोहोरलाई तत्कालका लागि सिंहदरबारभित्र पुतली  बगैँचामा व्यवस्थापन गरिएको छ । 

सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सूचना अधिकारी सुरेन्द्रकुमार साहले फोहोर नउठेपछि सरकारको तर्फबाट महानगरसँग वार्ता गरी  फोहोर उठाउने पहल भइरहेको जानकारी दिनुभयो । 

फोहोरलाई सिंहदरबारभित्र व्यवस्थापन गर्न सकिँदैन । दैनिक करिब एक टन फोहोर सङ्कलन हुन्छ । अहिले सिंहदरबारको विभिन्न कार्यालयबाट सङ्कलित फोहोरलाई पुतली  बगैँचामा व्यवस्थापन गरिएको साहले बताउनुभयो । 

सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयअन्तर्गत परिवर्तन नेपाल नामक संस्थाले फोहोर उठाउने र सरसफाइ गर्ने काम गर्दैआएको छ । 


अहिले परिवर्तन नेपाल नामक संस्थाका कर्मचारीले फोहोरलाई कुहिने, नकुहिने, प्लास्टिकको बोतल, सिसाको बोतल, कागज र कार्टुनहरूलाई भिन्न-भिन्न छुट्याउन थालेको छ । 

कुहिने सुकेका पात, तरकारीका बोक्रा, फलफूलका बोक्राजस्ता फोहोरलाई मल बनाउन ठूलो खाडल खनेर जम्मा गर्न थालिएको छ । प्लास्टिक बोतल, सिसाका बोतलहरू बिक्री हुने र नहुनाले छुट्टै व्यवस्थापन गरिएको छ ।


सिंहदरबारको फोहोर बाहिर ननिकाल्न काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहको निर्देशनपछि सबै कार्यालयबाट फोहोर उठाए पनि सिंहदरबारबाट बाहिर भने फोहोर निकालिएको छैन । 

काठमाडौं महानगरपालिकाका प्रमुख  साहले आफ्नो फेसबुकमा आजबाट सिंहदरबारको फोहोर उठ्दैन भनी सन्देश लेख्नु भएपछि फोहोर नउठेको हो । विसं. २०७९ चैत २६ गतेबाट सिंहदरबारको फोहोर नउठेको हो । 











Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।