• ७ वैशाख २०८१, शुक्रबार

मलेसियामाथि जितको छवि कायम राख्ने नेपालको लक्ष्य

blog

फाइल तस्बिर ।

काठमाडौं, वैशाख ४ गते । एसीसी प्रिमियर कप क्रिकेटमा घरेलु टोली नेपालले मंगलबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिवि मैदान कीर्तिपुरमा बिहान ९:३० बजे सुरु हुने उद्घाटन खेलमा नेपाल सुखद नतिजा निकाल्ने तयारीमा छ । नेपाल मलेसियामाथि सदाबहार जितको छवि कायम राख्ने लक्ष्यमा छ । नेपालका लागि मलेसिया तुलनात्मक रूपमा सहज प्रतिद्वन्द्वी हो ।

नेपाल र मलेसियाबीच यसअघि पाँच वटा अन्तर्राष्ट्रिय खेल भएको छ । जसमा नेपालले सबै खेल जितेको छ । नेपाल र मलेसिया पछिल्लो पटक सन् २०१८ को एसिया कप छनोटमा भिडेका थिए ।

मलेसियामै भएको खेलमा नेपाल १९ रनले विजयी भएको थियो । प्रिमियर कपको उपाधि चुम्ने लक्ष्य बोकेको नेपालका लागि मलेसियाविरुद्धको पहिलो खेल महत्त्वपूर्ण रहेको छ ।


खेलअघि सोमबार कप्तान रोहित पौडेलले नेपालको लक्ष्य प्रिमियर कप जित्दै एसिया कपमा छनोट हुनु रहेको बताउनुभयो । सञ्चारकर्मीसँगको कुराकानीमा पौडेलले भन्नुभयो, ‘‘हाम्रो एउटै लक्ष्य प्रतियोगिता जित्नु हो । भर्खर आइसिसी विश्वकप लिग–२ को प्रदर्शनले खेलाडीको प्रदर्शन र मनोबल उच्च छ । यस प्रतियोगिता हाम्रो लागि महत्त्वपूर्ण छ । किन की यो जिजियो भने टेस्ट राष्ट्रसँग खेल्ने अवसर मिल्नेछ । हामी प्रिमियर लिगलाई दबाबभन्दा अवसरको रूपमा लिएका छौँ ।’’


मंगलबार नै मुलपानी मैदानमा हङकङ र सिंगापुरबीच प्रतिस्पर्धा हुँदैछ । झण्डै दुई दशक अघि निर्माण सुरु गरिएको मुलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन हुन लागेको हो । एसीसी प्रिमियर कपका १० खेल मुलपानी मैदानमा हुँदैछ । 

एसीसी प्रिमियर कपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह ‘ए’ मा रहेको छ ।

नेपालको समूहमा ओमानसहित कतार, मलेसिया र साउदी अरब छन् । यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । 

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ ।

शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ ।


एसीसीले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिसकेको छ । तालिका अनुसार नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग त्रिवि मैदानमा खेल्दै सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल वैशाख ८ ओमानसँग खेल्नेछ ।

उक्त खेललाई एकदिवसीय मान्यतासमेत रहने छ । नेपालले समूहको तेस्रो खेल वैशाख ११ गते साउदी अरब र चौथो खेल वैशाख १४ गते कतारसँग खेल्नेछ । सेमिफाइनल  वैशाख १६  र फाइनल खेल १८ गते कीर्तिपुरमा हुनेछ । 

नेपाली टोली  

रोहित पौडेन (कप्तान) कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी र ललित राजवंशी ।

वैकल्पिक खेलाडी : अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतो ।