• ८ वैशाख २०८१, शनिबार

गर्भवती र शिशु स्वास्थ्य सुरक्षाका लागि ग्रामीण अल्ट्रासाउण्ड

blog

बाँकेको खजुरामा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुरुवात गरिदैं । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, बैशाख ४ गते । बाँकेको खजुरा गाउँपालिकामा गर्भवती महिला र शिशुको स्वास्थ्य सुरक्षाका लागि ग्रामीण अल्ट्रासाउण्ड (भिडियो एक्स-रे) कार्यक्रम सुरु गरिएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिमसहित अल्ट्रासाउण्ड मेसिन उपलब्ध गराएपछि सोमबारदेखि ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष डम्बरवहादुर विकले जानकारी दिनुभयो । 

गाउँपालिका प्रमुख विकका अनुसार खजुरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको अल्ट्रासाउण्डबाट प्रत्येक महिनाको एक दिन वडामा रहेका स्वास्थ्य चौकीबाट सेवा दिइनेछ । यसबाट मातृ तथा शिशु मृत्युदर कम गर्न सकिने गाउँपालिकाको विश्वास छ । यसले भिडियो एक्स-रेका लागि नेपालगञ्ज जानुपर्ने बाध्यता अन्त्य भएको छ । 

“यसबाट जनतालाई घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा दिने गाउँपालिकाको योजनामा टेवा पुग्नेछ” अध्यक्ष विकले भन्नुभयो, “मातृ तथा नवजात शिशु मृत्युदरमा समेत कमी आउने अपेक्षा गरिएको छ ।” खजुरा गाउँपालिकाका स्वास्थ्य संस्थामा वार्षिक करिब दुई सय गर्भवती महिला स्वास्थ्य परीक्षणका लागि आउनेगरेका छन् । तीमध्ये चालु आर्थिक वर्ष २०७९–८० मा हालसम्म सुत्केरी हुनेक्रममा दुई जना महिलाको निधन भएको छ । 

ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम अन्तर्गत गाउँमा रहेका स्वास्थ्य चौकीमै भिडियो एक्स-रे सेवा सुरु भएपछि नियमित स्वास्थ्य परीक्षण गरी आमा र शिशुको स्वास्थ्य अवस्थाको जानकारी हुने र कुनै समस्या देखिएमा तत्कालै उपचार गर्न सकिने भएकाले आमा र बच्चा दुबैका लागि सहयोगी हुने खजुरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक ढकालले जानकारी दिनुभयो । यसबाट गर्भवती महिलासँगै अन्य बिरामीले पनि गाउँघरमै रोगको निदान हुनेगरी उपचार सेवा पाउने गाउँपालिकाले जनाएको छ ।