• १६ चैत २०८०, शुक्रबार

विस्थापित भएको २३ वर्षपछि फर्कियो विद्यालय

blog

मध्यविन्दु नगरपालिका –२ सितापुरमा पुनःस्थापना भएको विद्यालय । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, वैशाख ४ गते । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका –२ सितापुरमा बाढीले विस्थापित भएको विद्यालय पुनः स्थापना भएको छ । नारायणी नदीमा आएको बाढीले बस्ती कटान र डुबान गरेपछि बस्तीसँगै विद्यालय पनि विस्थापित बनेको थियो । 

विद्यालय विस्थापित भएको २२ वर्षपछि सोही स्थानमा नयाँ वर्षको अवसर पारेर श्री जनतासिद्ध विद्यालयको स्थापना भएको छ । २०२६ सालमा स्थापना भएको जनतासिद्ध निमावि २०५७ सालको बाढीको सितापुर र आसपासको स्थानीय बस्तीसँगै सितापुरबाट विस्थापित भएको थियो । 

“गाउँमा बाढी पसेपछि विद्यालय पनि लुसलहरी सरेको थियो”, विद्यालय स्थापना तयारी समितिका संयोजक श्यामनारायण महतोले भन्नुभयो, “बिस्तारै गाउँले त फर्किए । तर विद्यालय भने फर्किएन ।” 

२३ वर्षपछि गाउँमा विद्यालय पुनः स्थापना भएपछि स्थानीय खुसी भएका छन् । “यहाँ  भवन थियो, हाम्रो छोराछोरी पढ्न टाढा जानु पर्थ्यो । अब त यहीँ विद्यालय खुलेको छ । सजिलो भयो ।” स्थानीय अभिभावक चिन्तामणि महतो बताउनुभयो । “सितापुरबाट विस्थापित भएपछि जनतासिद्ध निमावि लुसलहरीको अमर प्राविसँग गाभिएर जनतासिद्ध अमर मावि बनेको थियो ।” 

नगर शिक्षा अधिकृत कृष्ण रेग्मीले भन्नुभयो, “स्थानीय अभिभावकले विद्यालय आवश्यक छ भनेर माग गर्नुभयो । नगर शिक्षा समिति र कार्यपालिकाबाट निर्णय गरेर पुनः विद्यालय स्थापना गरेका हौँ ।”

विगतमा विद्यालय सञ्चालनमा रहेको र भौतिक संरचना समेत भएको स्थानमा विद्यालय स्थापनापछि अब गाउँमा नै विद्यार्थीले गुणस्तरीय शिक्षा पाउने नगर प्रमुख भिमलाल अधिकारीले विश्वास व्यक्त गर्नुभयो । जनतासिद्ध विद्यालयको सञ्चालनको सबै जिम्मेवारी नगरपालिकाको हुने भन्दै उहाँले अभिभावकहरूले कुनै पनि शुल्क बुझाउन नपर्ने बताउनुभयो ।