• ६ वैशाख २०८१, बिहिबार

‘विजयी हुन एक ढिक्का भएर लाग्नुपर्छ’

blog

तनहुँमा कांग्रेस नेता तथा कार्यकर्तासँग भेटघाटका क्रममा डा.शेखर कोइराला । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, वैशाख ४ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपनिर्वाचनमा विजयी हुन नेपाली कांग्रेसका नेता एवम् कार्यकर्ता एक ढिक्का हुनुपर्ने बताउनुभएको छ । भानु नगरपालिका –२ मा आयोजित कोण सभालाई सम्बोधन गर्दै डा. कोइरालाले सो कुरा बताउनुभएको हो । 

नेता तथा कार्यकर्तालाई एक ढिक्का भएर निर्वाचनको तयारीमा केन्द्रित भएर पूर्ण गतिशीलता र शक्तिका साथ लाग्न उहाँले आग्रह गर्नुभयो । गुटबन्दीरहित बनाएर एकताबद्ध रूपले अघि बढेर आगामी निर्वाचनमा तनहुँको विरासतलाई कायम राख्नुपर्ने उहाँको भनाइ छ । पार्टीभित्र असन्तुष्टि रहे पनि पार्टीलाई एकताबद्ध भएर कांग्रेस अघि बढिरहेको उहाँले बताउनुभयो । 

तिक्ततालाई पार्टीका सम्पूर्ण कार्यकर्ताले बिर्सिएर निर्वाचनमा एक ढिक्का हुनुपर्ने विचार व्यक्त गर्दै उहाँले पार्टीका तर्फबाट उम्मेदवार रहेका गोविन्द भट्टराई राजनीतिमा समर्पित, त्यागी,  इमानदार र अवसर नपाएको नेता भएको चर्चा गर्नुभयो । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ –१ को उपनिर्वाचनमा उम्मेदवार बनेका डा. स्वर्णिम वाग्लेप्रति सङ्केत गर्दै भन्नुभयो, ‘सावधान हुनुहोला अवसरवादीबाट जोगिनुहोला । तनहुँको राजनीतिक विरासतलाई कायम राख्न गोविन्द भट्टराईलाई जिताउनुपर्छ ।”