• १२ वैशाख २०८१, बुधबार

लालपुर्जा फुकुवा भएपछि स्थानीय खुसी

blog

लामो समयदेखि रोक्का भएको जग्गा फुकुवा भएपछि पश्चिम नवलपरासी सुनवलका स्थानीय खुसी । तस्बिर : न्यूज एजेन्सी

नवलपरासी, वैशाख ४ गते । लामो समयदेखि रोक्का भएको जग्गा फुकुवा भएपछि पश्चिम नवलपरासी सुनवलका स्थानीयहरू खुसी भएका छन् ।

वि.सं. २०६७ मा जग्गा पुर्जा प्राप्त गरेपनि अख्तियारमा मुद्दा परेसँगै जग्गा रोक्का भएको थियो । रोक्का भएको लालपुर्जा फुकुवा भएपछि स्थानीयहरू हर्षित भएका हुन् । १२ वर्षपछि जग्गा फुकुवा हुँदा आफूहरू हर्षित भएको भन्दै राष्ट्रिय भूमि आयोग जिल्ला समितिले राम्रो काम गरेको स्थानीयहरूले बताए । विभिन्न समयमा राजनैतिक दलका नेताले आआफ्नो एजेण्डा बनाउनकै लागि विभिन्न कालखण्डका आयोगहरूलाई दोष दिएको स्थानीयको बुझाइ छ ।

राष्ट्रिय भूमि आयोग जिल्ला समितिका अध्यक्ष देवराज भण्डारीले आफूहरू आयोगमा आएको दुई महिनाभित्रै काम टुङ्ग्याएको बताउनुभयो । पटक–पटक जग्गा फुकुवा भयो भनेर झुकिएका  स्थानीयहरू सुरुमा जग्गा फुकुवा भयो भन्दा नपत्याएको उहाँ बताउनुहुन्छ । पछि मालपोतबाट जग्गाको काम भएपछिमात्र स्थानीयहरूले विश्वास गरेको भण्डारीको भनाइ छ ।

पश्चिम नवलपरासीमा पटक–पटक बनेका भूमि सम्बन्धी आयोगले विगतमा जग्गा नापजाँच लगायतका कार्यहरू गरेपनि पूर्णता भने दिन सकेका थिएनन् । पछिल्लो पटक बनेको राष्ट्रिय भूमि आयोगले भने सुनवलसहित जिल्लाभर करिब ११ सय लालपुर्जा फुकुवा गरेको छ । त्यस्तै, नयाँ जग्गा नापजाँच र यही वैशाख पहिलो हप्तादेखि राजश्व सङ्कलन गर्ने र पुर्जा वितरण गर्ने राष्ट्रिय भूमि आयोग जिल्ला समितिले जनाएको छ ।