• ८ वैशाख २०८१, शनिबार

कपन क्षेत्रको डुबान समस्या समाधानका लागि अध्ययन हुँदै

blog

कपन क्षेत्रमा डुबानको समस्या । फाइल तस्बिर

काठमाडौं, वैशाख ४ गते । कपन क्षेत्रमा वर्षाको समयमा हुने डुबानको समस्या समाधानका लागि अध्ययन सुरु भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले धोबीखोला कोरिडोर आयोजनालाई धोबीखोला कोरिडोर तथा कपन बुढानीलकण्ठ डुबान नियन्त्रण आयोजना नामाकरण गरेर सोही आयोजनामार्फत अध्ययन अघि बढाएको हो ।

कपन क्षेत्रमा डुबानको समस्या रहेकामा समाधान र व्यवस्थापनका लागि के गर्न सकिन्छ भनेर अध्ययन भइरहेको आयोजनाका इन्जिनियर सज्जन कुँवरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नामाकरण भएर परामर्शदातामार्फत अध्ययन सुरु भइसकेको छ अध्ययनको निष्कर्षका आधारमा आवश्यक संरचना बनाउनुपर्ने छ ।”

त्यस क्षेत्रमा डुबानका कारण ढलको क्षमता नपुगेर हो भने त्यसको समाधान गरिने इन्जिनियर कुँवरले बताउनुभयो । ‘रिचार्ज वेल’, ‘रेन वाटर हारवेष्ट’ लगायत कुन उपाय अवलम्बन गरेर डुबान न्यूनीकरण हुनसक्छ त्यो गरिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “आवश्यक हुँदा सडक निर्माण पनि हुनसक्छ ।”

कपन–बुढानीलकण्ठ क्षेत्रमा अध्ययन सुरु भए पनि आवश्यक निर्माणको काम आगामी आवमा मात्रै हुने आयोजनाले जनाएको छ । चालु आवमा निर्माणका लागि बजेट विनियोजन भइसकेको छैन । गत असोज महिनामा निर्णय भएपछि अहिले अध्ययन अघि बढाइएको हो । “आगामी आर्थिक वर्षमा बजेट विनियोजन भएपछि काम सुरु हुने उहाँको भनाइ छ 

शङ्खमुलको दोभानबाट कपनसम्म धोबीखोलाको दुवैतर्फ कोरिडोर निर्माण गर्ने गरी सुरु भएको आयोजनाको कार्यक्षेत्र विस्तार गरिएको हो । कोरिडोर निर्माण सकिँदै गर्दा कपन क्षेत्रको डुबानको समस्या समाधानको काम सोही आयोजनामार्फत अघि बढाउन लागिएको हो ।

उपत्यकाको मुख्य सडकको सवारी चाप व्यवस्थापन गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले २०५९ साल वैशाखमा धोबीखोला कोरिडोरको निर्माण सुरु गरेको थियो । वि.सं २०६४ पुसदेखि प्राधिकरण (तत्कालीन काठमाडौ उपत्यका नगर विकास समिति) ले निर्माण गर्दै आइरहेको छ ।

तहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीहरूले सो कोरिडोरका विषयमा चासो देखाएर स्थलगत निरीक्षण गर्दै आउनुभएको छ । पहिले झण्डै २४ किमी सडक निर्माण गर्ने गरी योजना सुरु भए पनि पछिल्लो समयमा कार्यक्षेत्र विस्तार गरिएको छ । रासस