• ७ वैशाख २०८१, शुक्रबार

तीन तहको सरकार खारेज हुनुपर्छ : राप्रपा अध्यक्ष लिङ्देन

blog

पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्नुहुँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन । तस्बिर:चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, बैशाख ४ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले तीन तहको सरकार खारेज गर्नुपर्ने बताउनुभएको छ । सङ्घीयताको नाममा तीन तह आवश्यक नभएको बताउँदै लिङ्देनले नेपालजस्तो सानो देशले आर्थिक व्यवस्थापन धान्न नसक्ने हुँदा प्रदेश तह खारेज गर्नुपर्ने बताउनुभयो । 

कार्यकर्ता भेटघाटका क्रममा ताप्लेजुङ आउनुभएका लिङ्देनले सदरमुकाम फुङ्लिङमा सोमबार बिहान पत्रकार सम्मेलन गर्दै देशको द्वन्द्वको कारण नै प्रदेश तह हुनसक्ने भन्दै खारेज गर्नु उपयुक्त हुने बताउनुभयो । 

देशको आर्थिक अवस्था, भ्रष्टाचार वृद्धिका घटना, नामाकरणको विषयमा भइरहेको आन्दोलनका गतिविधिलगायत कारणले प्रदेश तह आवश्यक नभएको पुष्टि गरेको उहाँले दाबी गर्नुभयो । उहाँले देशको अर्थतन्त्र र विकासको गतिलाई बढवा दिनका लागि केन्द्र र स्थानीय तहलाई बलियो बनाए पुग्ने बताउनुभयो । 

यस्तै, अध्यक्ष लिङ्देनले वर्तमान व्यवस्था दोषी रहेको पनि औँल्याउनुभयो । उहाँले राजनीतिक भागबण्डाकै कारण प्रधान न्यायाधीशलगायत कर्मचारी नियुक्ति हुन नसेको बताउनुभयो । अहिलेको व्यवस्था वा भागबण्डामा कर्मचारी नियुक्ति हुने संस्कारले सुशासन कायम नहुने, भ्रष्टाचार नियन्त्रण नहुनेजस्ता अवस्था रहेको उहाँले बताउनुभयो ।

त्यस्तै एक अर्को प्रसङ्गमा वर्तमान सरकार स्वार्थको गठजोड भएकाले कुनैपनि बेला सकार ढल्नसक्ने उहाँले दाबी गर्नुभयो । सत्ता साझेदार दलबीच आफ्नो स्वार्थ पुरा नहुने अवस्थामा समस्या आउनेभन्दै सरकार ढल्नसक्ने खतरा रहेको उहाँको तर्क छ । 

हाल संसदमा दर्ता भएको सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक सबैभन्दा पीडित जनताको पक्षमा नभएको बताउनुभयो । उहाँले द्वन्द्वका कारण सबैभन्दा बढी सर्वसाधारण जनता पीडित भएकोभन्दै विधेयक तत्कालीन द्वन्द्वरत पक्ष र सत्ता पक्षलाई मात्र फाइदा हुने खालको भएकाले तेस्रो पक्ष जनतालाई फाइदा हुनेगरीको आउनुपर्नेभन्दै राप्रपाले आवाज उठाइरहेको बताउनुभयो ।

यता कोशी प्रदेशमा मध्यावधि निर्वाचन गर्नु नपरोस् भनेर सरकारमा सहभागिता कायम राखेको उहाँले बताउनुभयो । प्रदेश तह खारेज हुनुपर्ने पार्टीको मुद्दा भए पनि राप्रपा सरकारबाट हट्ने बित्तिकै गणितीय हिसाबले कोशीमा नयाँ सरकार गठन हुने स्थिति नभएकाले हाल सरकारमा रहिरहेको उहाँको भनाइ छ । फुङ्लिङमा कार्यकर्ता भेटघाटपछि सोमबार (आज) नै लिङ्देन फर्कनुहुने राप्रपाका जिल्ला अध्यक्ष अमृतकुमार सावादेनले जानकारी दिनुभयो ।