• ७ वैशाख २०८१, शुक्रबार

चैतमा उठ्यो पचपन्न अर्ब आन्तरिक राजस्व

blog

काठमाडौँ, वैशाख ४ गते । राजस्व सङ्कलन खुम्चिँदा स्रो व्यवस्थापनमा दबाबमा परेको सरकारले चैतमा करिब ५५ अर्ब रुपियाँ आन्तरिक राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्व सङ्कलन गर्ने जिम्मेवारी पाएको आन्तरिक राजस्व विभागका अनुसार चैतमा मात्रै ५५ अर्ब दुई करोड ८० लाख रुपियाँ राजस्व सङ्कलन भएको हो । सङ्कलित कुल राजस्व अघिल्लो चैतको तुलनामा करिब साढे दुई रुपियाँले कम हो । २०७८ चैतमा ५७ अर्ब ५३ करोड रुपियाँ आन्तरिक राजस्व सङ्कलन भएको थियो । 

चैतमा सबैभन्दा धेरै ३३ अर्ब आठ करोड रुपियाँ बराबरको आय कर उठेको छ । त्यसपछि १० अर्ब रुपियाँ बराबरको मूल्य अभिवृद्धि कर सङ्कलन भएको विभागले जनाएको छ । त्यसपछि नौ अर्ब ४७ करोड रुपियाँ अन्तःशुल्क, एक अर्ब ३५ करोड रुपियाँ ब्याज, ५४ करोड ६४ लाख स्वास्थ्य सेवा, २७ करोड ५९ लाख घर बहाल कर र २० करोड ४० लाख रुपियाँ शिक्षासेवा कर सङ्कलन भएको छ । 

चालु आर्थिक वर्षको नौ महिना अर्थात् चैतसम्म भने विभागले तीन खर्ब ३७ अर्ब १० करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको चैतसम्मको तुलनामा ९८ प्रतिशत हो । अघिल्लो चैतसम्म विभागले तीन खर्ब ४२ अर्ब ६५ करोड रुपियाँ सङ्कलन गरेको थियो । 

चैतसम्म विभागले एक खर्ब ५० अर्ब २० करोड रुपियाँ आय कर सङ्कलन गरेको छ । त्यसपछि ७८ अर्ब ८९ करोड रुपियाँ मूल्य अभिवृद्धि कर र ७४ अर्ब २८ करोड रुपियाँ अन्तःशुल्क सङ्कलन भएको छ । त्यस्तै २५ अर्ब २१ करोड रुपियाँ ब्याज, पाँच अर्ब २५ करोड स्वास्थ्य सेवा, एक अर्ब ९७ करोड घर बहाल कर र एक अर्ब २६ करोड रुपियाँ शिक्षासेवा कर सङ्कलन भएको विभागले जनाएको छ ।