• १६ चैत २०८०, शुक्रबार

सूचना प्रविधिको क्षेत्रमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई मन्त्री शर्माको आग्रह

blog

काठमाडौं,  वैशाख ४ गते ।   सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालको समृद्धिको आधार सूचना प्रविधि बन्नसक्ने उल्लेख गर्दै संसारभर रहेका गैरआवासीय नेपालीहरुलाई यस क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । 

अमेरिकास्थित नेपाली दूतावास र विश्व बैंकले आयोजना गरेको “कनेक्टिङ नेपाल विथ ग्लोबल डिजिटल इकोनोमी” विषयक कार्यक्रमलाई आइतवार राति भर्जुअल सम्बोधन गर्दै उहाँले सो आग्रह गर्नुभएको हो । 

मन्त्री शर्माले नेपालको विकास प्रक्रियामा सूचना प्रविधिको क्षेत्रमा विशेषज्ञता हासिल गरेका विज्ञहरु तथा ब्यवसायीहरुको सहयोगवाट देशको अर्थन्त्रलाई नयाँ उचाईमा पुर्याउन, रोजगारी सिर्जना गर्न यस क्षेत्रमा बजारको मागअनुसार अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय जनशक्ति विकास र आपूर्ति आवश्यक उल्लेख गर्दै नेपालमा यसको लागि अनुकुल वातावरण तयार गर्न सरकार क्रियाशील रहेकाले लगानी तथा सहयोगका लागि आग्रह गर्नुभयो ।

खास गरी विदेशमा आर्जन गरेको ज्ञान, सिप, सक्षमता र पूँजीको परिचालन गरी अन्य देशहरुले विकासमा फड्को मारिसकेको स्मरण गर्दै उहाँले नेपालमा भने विद्यमान स्रोत साधनलाई यथोचित परिचालन गर्न नसक्दा पछाडि परिरहेको बताउनुभयो । 

विश्व अर्थतन्त्रमा नेपालको विद्यमान अवस्थालाई पुनः परिभाषित गर्नका लागि नवप्रवर्ततन, अनुसन्धान र विकासमा लगानी गर्न उहाँले सूचना प्रविधि विज्ञहरू र व्यवसायीहरूलाई आग्रह गर्नुभयो । ‘हामीले सूचना प्रविधि क्षेत्रलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धी बनाउन देशको व्यवसायिक वातावरणमा थप सुधार गर्नुपर्छ । यसका लागि सूचना प्रविधि, दूरसञ्चार, साइबर सुरक्षा र व्यक्तिगत डाटा सुरक्षासँग सम्बन्धित कानूनको संशोधन आवश्यक हुन्छ’ उहाँले भन्नुभयो, ‘यसका लागि संस्थागत क्षमतामा सुधार र सार्वजनिक र निजी क्षेत्रबीचको संवाद समेत आवश्यक हुन्छ ।’

सरकारले आईटी कम्पनीहरूको लागि नेपाललाई विश्व स्तरको गन्तव्यस्थलको रूपमा चिनाउन यहाँहरूले सूचना प्रविधिको क्षेत्रमा प्रयोगमा आइरहेका नविनतम विश्वव्यापी असल अभ्यासहरु र सोचलाई नेपालमा कसरी लागु गर्न सकिन्छ र त्यसको लागि विद्यमान कानून तथा संस्थागत ब्यवस्थालाई कसरी पुर्नपरिभाषित गर्न सकिन्छ भन्ने विषयमा यथार्थपरक र लागू गर्न सकिने सुझाववको अपेक्षा गरेको पनि मन्त्री शर्माले बताउनुभयो ।

सुरक्षित र समावेशी डिजिटल सरकारको जग निर्माण गर्न सम्भव रहेको स्पष्ट गर्दै उहाँले यस डिजिटाइजेसनलाई गति दिन आवश्यक राय सुझावको अपेक्षा गर्दै डिजिटल नेपाल फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन गर्न सहयोग पुर्याउनका साथै यसको समसामयिक सुधारका लागि सुझाव पनि आग्रह गर्नुभयो । नेपाल सरकारले सूचना प्रविधिको क्षेत्रमा समग्र सुधारका लागि नीति, कानुन तथा नियमनका विषयलाई प्राथमिकतामा राखेर कार्य अघि बढाएको जानकारी पनि उहाँले दिनुभयो । 

‘पन्ध्रौं योजनाले डिजिटाइजेसन मार्फत् सामाजिक, आर्थिक र शासकीय व्यवस्थामा सुधार गर्ने एवम् उर्जा, पूर्वाधार, मानवीय र साइबर सुरक्षा प्रदान गर्ने तथा साइबर अपराध नियन्त्रण गरिने लगायतका रणनीतिहरु लिएकोछ’, मन्त्री शर्माले भन्नुभयो, ‘नेपाल सरकारले तीब्र विकास र उच्च आर्थिक वृद्धिका लागि समय सापेक्ष सूचना प्रविधिको उपयोग गरी आर्थिक तथा सामाजिक क्षेत्रमा रुपान्तरण गर्ने विश्वासका साथ डिजिटल नेपाल फ्रेमवर्क २०७६ जारी गरी कार्यान्वयनमा लगेको छ। यसका साथै पन्धौं योजनामा डिजिटल नेपाल फ्रेमवर्कलाई रुपान्तरणकारी योजनाको रुपमा अगाडि बढाइएको छ। नेपालको साइबर स्पेसलाई सुरक्षित र भरपर्दो बनाउनका लागि राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाका लागि अध्ययन कार्य अगाडि बढाइएको छ ।’

इन्टरनेटलाई आवश्यक सेवाको सूचिमा समावेश गरिएको जानकारी दिंदै मन्त्री शर्माले इन्टरनेटको फोरजी सेवा ७७ वटै जिल्लामा संचालनमा ल्याइको, ७४३ स्थानिय तह, पाँच हजार तीन सय १८ माध्यमिक विद्यालय र चार हजार दुई सय ४९स्वास्थ्य संस्थामा इन्टरनेट ब्रोडब्याण्ड सेवा जडान गरिएको पनि बताउनुभयो । 

नेपालको अर्थतन्त्रको आधार कृषि, पर्यटन र जलबिद्युत भए पनि आजको युगमा अर्थतन्त्रको समग्र क्षेत्रमा सूचना प्रविधिको विकास र प्रयोगबाट नै नेपालको समग्र अर्थतन्त्रको द्रुततर विकासमा सकारात्मक प्रभाव रहेको उहाँले स्पष्ट गर्नुभयो । यसमा सरकार, निजी क्षेत्र, विदेशमा रहेका गैरआवासीय नेपाली, बिदेशी लगानीकर्ता र विकास साझेदारहरुको सहकार्य आवश्यक रहकोमा पनि मन्त्री शर्माले जोड दिनुभयो ।