नेवार समुदायको मौलिक पर्व मोहनी नखः

काठमाडौँ, असोज २८ गते ।

वा¬ङ्गु लप्ते तुयु बजी
हाकु मुस्या क्या मज्जा
पालु छोय्ला द्यने ब्वया
न्हिला ख्वालँ झन् बाँला ।
(हरियो लपस सेतो चिउरा
कालो भटमास क्या मज्जा
पिरो छोयला माथितिर राख्दा
हाँसेको भावले झन् राम्रो)

यो नेवारी गीतको धुनसँगै नेवार समुदायमा मोहनी नखः शुरु भएको छ । हरियो पातको टपरीमा सेतो चिउरा, कालो भटमास देख्दा नै क्या मज्जा हुन्छ । त्यसमाथि ससाना काटिएका अदुवाको टुक्रा र मासु चिउरा खान अगाडि बस्ने व्यक्तिको हँसिलो अनुहार झन् राम्रो छ ।

कला र संस्कृतिका धनी नेवार समुदायले कौलाथ्व प्रतिपदादेखि आफ्नो मौलिक चाड मोहनी नखः यसरी विशेष उल्लासका साथ मनाउँछ । विशेष मन्त्रोच्चारणका साथ घरघरमा नला स्वाँ(जमरा) रोपिएपछि विधिवत् रुपमा मोहनी शुरु हुन्छ । यसलाई नेपाल भाषामा नःला स्वनेगु(जमरा राख्ने काम) भनिन्छ ।

वर्षभरि मनाइने थुप्रै चाडपर्वमा मोहनी नखः नेवार समुदायको सबैभन्दा ठूलो चाड हो । मोहनी नखःका बेला अष्टमी, नवमी र दशमीका दिन मनाइने कुछी भ्वय(एक पाथी भोज), स्याक्वत्याक्व(काटमार गर्ने दिन) र चालँ(विजयादशमी)को विशेष महत्व छ । दशमीदेखि पूर्णिमासम्म नखत्या(पर्व सकेपछिको भोज) भनी छोरीज्वाइँ, दिदीबहिनीलाई भोज बोलाउनुपर्ने प्रचलन छ ।

मोहनीमा अन्य चाडपर्वमा भन्दा छुट्टै विशेषता हुन्छ । महानवमीका दिन बज्रयान विधिअनुसार बज्राचार्य गुरुबाट विशेष मन्त्रोच्चारण गरी तयार पारिएको मोहनी सिन्ह (एक प्रकारको कालो टीका) को नामबाट मोहनी भएको जनविश्वास छ ।

कुचो, धारा, नाङ्लो, पानीको घडा, काम गर्ने ज्यावल, पुस्तक, कलम आदिसमेतलाई पूजा गर्ने विशेष संस्कृति रहेको नेवार समुदायमा मोहनीका अवसरमा चामल, चिउरा, पुस्तक, ज्यावल आदिको पूजा गर्ने र पूजामा बुद्धको चैत्यको प्रतीकस्वरुप ‘ग्वःजा’ राखेर पूजा शुरु गर्ने प्रचलन छ ।

बौद्ध विद्वान् राजेन्द्रमान बज्राचार्यका अनुसार बज्रयान परम्परानुसार पूजा सङ्कल्प गर्दा बौद्ध परम्पराको शून्यताको भावमा गर्ने प्रचलन रहेको पाइन्छ । नेवार बौद्ध समुदायले गुरु मण्डलाश्चरणको विधिबाट मोहनी पूजा सम्पन्न गर्दै आन्तरिक तथा बाह्य मार अर्थात् काय, वाक र चित्तबाट हुने दश अकुशलादि कर्मबाट मुक्त हुने दर्शन ज्ञान प्राप्त हुने उहाँको धारणा छ । साथै अरूलाई समेत सो अनुसारको उपाय सिकाउने बौद्ध परम्परा छ ।

कुछी भ्वय– महाअष्टमीका दिन कुल छेँ अर्थात् मूल घरमा सम्पूर्ण परिवार जम्मा भई पञ्चतत्वको ज्ञानका साथै कुल देवता इष्ट देवतासहितको दर्शन ज्ञानमा आधारित क्रियात्मक पूजा गर्ने प्रचलन छ ।

बज्रयान बौद्ध परम्परानुसार गुरु बज्रसत्वको आह्वान गरी कौलाथ्व प्रतिपदाका दिन नःला स्वनेगु दिनदेखि क्रमशः पूजा गर्दै अष्टमीका दिन कुलछेँ भ्वय गरी भोज खाने चलन छ । यसलाई नेपाल भाषामा कुछी भ्वय भनिन्छ । यो दिन आफूले काम गर्ने ज्यावल, पुस्तक, कलम आदिलाई पनि पूजा गरी कुछी भ्वय (भोज) खुवाउनुपर्ने चलन छ ।

त्यस्तै पितृलाई पनि मोहनी भ्वय् (भोज )खुवाउनुपर्छ । दुई माना चिउरा राखेर भोज खाने भएकाले यसलाई कुछी भ्वय भनिएको जनविश्वास छ ।

स्याक्वत्याक्व – नवमीका दिन स्याक्वत्याक्व (सयेकुक्व त्यात) भनेर देवदेवीको पूजाराधना गरिन्छ । दशमीका दिन चालं (वाःचाल) मा पुनः विशेष पूजा गरी आगामी वर्षभरि गर्नैपर्ने काम गर्न, गर्नै नहुने काम भए गरेको भए प्रायश्चित गर्ने, राम्रो कामलाई निरन्तरता दिने आदि प्रणका साथ घरमूलीबाट मोहनी सिन्ह, नःला स्वाँ, अक्षताको रातो टीका प्रसादका रुपमा ग्रहण गर्ने चलन छ ।

शस्त्रत्याग दिवस– मौर्य सम्राट् चक्रवर्तीन्द्र राजा अशोकले भारतका विभिन्न राज्यमा युद्ध जित्दै गई अन्त्यमा कलिङ्ग विजयपछि धेरै मानिसको मृत्युपछि शस्त्र त्याग गरी बौद्धधर्म अँगालेको दिन विजयाशमीको दिन परेको थियो । यसैले बौद्धमार्गीले यस अवसरलाई शस्त्र परित्याग दिवसका रुपमा मान्ने गरेका छन् ।

मोहनी नखः नःला स्वाँ पिये (रोप्ने) अर्थात् चन्द्र मासको अन्तिम महीना कौलाथ्व प्रतिपदाका दिन शरद ऋतुको प्रारम्भदेखि गुरु बज्रसत्वको आह्वान गरी मनाइने भएको बौद्धविद्वान् बज्राचार्यको धारणा छ ।

कौलाथ्व नवमीमा मैत्रीपूर्ण वातावरणमा भोज खाएका परिवारका सदस्य एकापसमा हुने छलफलबाट राम्रा योजना तथा कार्यसम्पन्नताका बारेमा सिक्न पाउँछन् । त्यसलाई जति सिक्यो त्यति फाइदा भनी गुरु बज्रसत्वको आह्वानसहित भनिएको ‘सयेकुक्व त्यात’को (जति सिक्यो त्यति फाइदा) अप्रभ्रंशित भई स्याक्वत्यक्व भन्ने गरेको उहाँको भनाइ छ ।

अर्का बौद्धविद्वान् यज्ञमानपति बज्राचार्यका अनुसार नेवार समुदायले मनाउँदै आएको मोहनी र दशैँमा धेरै भिन्नता छ । यो मोहनी भनेको दशैँ होइन भन्ने उहाँ स्पष्ट पार्नुहुन्छ ।

नेवारी परम्परानुसार कायाअष्टमी तथा कुमारीबाट राजाले टीका लगाएको दिन पनि मोहनी शुरु हुने उहाँको भनाइ छ । कायाअष्टमीदेखि नै मालश्रीको धून बजिसक्ने भएकाले त्यो दिनदेखि नै मोहनी शुरु हुन्छ ।

यज्ञमानपति भन्नुहुन्छ, “सली (माटाका सानो पाला) मोहनी सिन्ह सङ्कलन गरी तयार पारिएको एक प्रकारको टीकालाई नेपाल भाषामा मोहनी भन्ने गरिएको र त्यसबाट नै मोहनी भएको हो । मोहनी सिन्ह अरू पूजामा पनि तयार पार्ने गरिएको जानकारी उहाँले दिनुभयो । मोहनी सिन्ह अत्यन्तै महत्वपूर्ण भएकाले नेवार समुदायमा निधारमा लगाउँदा रातो र पहेँलो टीकाभन्दा माथि लगाउने चलन भएको उहाँको धारणा छ । यो टीका लगाउँदा अञ्जन सिद्धि प्राप्त हुने विश्वास छ ।

त्यसैगरी नेवार बौद्ध समुदायमा आन्तरिक तथा बाह्य मारमाथि विजय प्राप्त गरी शून्यता भावमा बोधिसत्व चर्यामा लाग्न सकेको प्रतीकमा दशमीका दिन स्थानीय रुपमा काठमाडौँको तेबहा, कोहिटी, असन, यट्खामा पाया(खड्जात्रा) निकाल्ने प्रचलन छ ।

सूर्यवंशी राजालाई तलेजु भवानीले सपनामा दर्शन दिई “तिरहुत जङ्गलमा मेरो (तुलजा भवानी) मन्दिर बनाउनू” भन्ने आज्ञा भएअनुसार राजा नान्यदेवले तुलजा भवानीको मन्दिर बनाएको हुँदा सोही स्मरणमा दशैँ मनाउने गरिएको हो भन्ने भनाइ पनि छ ।

नेपाल संवत् ४४४ मा नान्यदेवका सन्तान राजा हरिसिंह देवले नेपालमा राज्य गरेपछि भक्तपुरको तलेजु मन्दिर बनाएर तुलजा भवानीको पूजा गर्ने प्रचलन चलाएको इतिहास छ । राजा महेन्द्र मल्लका पालामा काठमाडौँको हनुमानढोकामा तुलजा भवानीको मन्दिर बनाउन लगाइएको थियो । तुलजा भवानीमा बज्रयानी तान्त्रिक विधिअनुसार बज्राचार्य राजगुरुजुबाट पूजा सङ्कल्प गरेपछि कर्माचार्यबाट पूजा गर्ने परम्परा रहिआएको छ । (रासस)

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds