बढ्दो सवारी जोखिम (सम्पादकीय)

 

 

महान् चाड दशैँ नजिकिँदै गर्दा शुक्रबार मुलुकका विभिन्न स्थानमा सवारी साधन दुर्घटनाबाट धेरैले ज्यान गुमाउनुप¥यो । बीपी राजमार्ग (बनेपा–सिन्धुली–बर्दिबास) अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिकामा पर्ने रिठ्ठेभीरबाट पाँच सय मिटर तल सुनकोशी नदीमा बस खस्दा तीन जनाको मृत्यु भयो भने छ जना घाइते भए । शुक्रबार नै नुवाकोटको सूर्यगढीमा तीनजना र धादिङको थाक्रे गाउँपालिका–१० माने डाँडामा तीन जनाको ज्यान गयो । यसबाहेक पनि मोरङको बेलबारी र कानेपोखरी, भोजपुर, कञ्चनपुर, कैलाली लगायतका स्थानमा सवारी साधन दुर्घटनामा केहीको ज्यान गएको छ ।
नेपाल त्यसै पनि सवारी साधन दुर्घटनाका उच्च दर भएको मुलुक हो । बर्सेनि १० हजार जति सवारीसाधन दुर्घटना हुन्छन् र दुई हजारभन्दा बढीले ज्यान गुमाउँछन् । चाडपर्वका बेला यात्रुको चाप बढेसँगै सवारी साधन दुर्घटना एकचौथाइले बढ्छ । गत वर्षको दशैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्ममा ३८२ वटा सवारी दुर्घटना भए जसमा १०४ जनाको ज्यान गयो र ५२२ जना घाइते भए । यीमध्ये अघिकांश चालकको लापरबाहीबाट हुन्छ, केही प्राविधिक र सडकका कारणले दुर्घटना हुन्छ । सवारी साधनको प्रमुख कारण मानवीय गल्ती, कमजोरी हो । तीव्र गतिमा सावारी साधन चलाउनु र चालकको लापरबाहीका कारण करिब आधा जति दुर्घटना हुने गरेका छन् । ३० प्रतिशत दुर्घटना यान्त्रिक गडबढीका कारण हुन्छन् । चालकले आराम गर्न नपाउनु, यात्रुको उच्च चाप, सवारी साधन मर्मत सम्भार गर्ने समय नहुनु, छिटो पुग्नुपर्ने, धेरै यात्रु ओसार्नुपर्ने जस्ता कारणले बढी दुर्घटना हुने गरेका हुन् । लामो समयसम्म ग्यारेजमा थन्क्याइएका सवारीसाधन पनि चाडपर्वका बेला यात्रु ओसार्नमा प्रयोग गरिन्छन् । दशैँका बेला यात्रु ओसार्ने यी सवारी साधनको प्राविधिक पक्षप्रति कसैले वास्ता गरेको हुँदैन ।
शुक्रबार दुर्घटना भएको बीपी राजमार्गअन्तर्गत पर्ने सिन्धुलीको सुनकोशी गाउँपालिकाको रिठ्ठेभीरमा अहिलेसम्म तीनवटा दुर्घटना भए र ६० जनाको ज्यान जानुका साथै १५० जनाभन्दा बढी घाइते भएका छन् । एकै ठाउँमा पटकपटक दुर्घटना हुनुले राजमार्गको कठिन अवस्थालाई सङ्केत गर्छ । यो सडक दुई लेनको मात्रै छ र धेरै घुम्ती छन्, साना सवारी साधन पनि होसियारीपूर्वक क्रस हुन्छन् । तर सवारी साधनको चाप निकै धेरै छ । सिन्धुली, दोलखा, ओखलढुङ्गाको एकमात्र राजमार्ग मात्रै नभई राजधानीलाई मध्य तराईसँग जोड्ने छोटो दूरीको सडक भएका कारण पनि यो राजमार्गमा सवारी साधनका चाप निकै धेरै छ । साँघुरो बाटो, सवारी साधनको अधिक चाप र ठूला सवारी साधनलाई अनुमति दिने कामले अवस्था झन् जोखिमपूर्ण बनाएको छ । अहिले यहाँ औपचारिक रूपमा ३५ सिट क्षमताका मझौला यात्रुबाहक र १६ टन भारवहन क्षमताका मालबाहक सवारी साधनलाई अनुमति दिइने भए पनि यीभन्दा ठूला सवारी साधन पनि गुडिरहेका हुन्छन् । यसले गर्दा बीपी राजमार्गलाई निकै जोखिमपूर्ण बनाएको छ । कच्ची सडक, वर्षाले बिगारेको सडक मर्मत गर्न नपाउँदै कोचाकोच गरेर पुराना थोत्रा गाडी कुदाउनुपर्ने बाध्यता अन्यत्रका पहाडी क्षेत्रमा छ ।
दशैँमा यस्तै हो भन्ने मानसिकताले गर्दा पनि सधँै यात्रुले दुःख भोग्नुपर्ने र जोखिम उठाउनुपर्ने बाध्यता छ । व्यवसायीमा दशैँमा पनि नकमाएको कहिले कमाउने भन्ने मानसिकता छ । व्यवस्थापनमा चनाखो हुनुपर्ने निकाय कानमा तेल हालेर सुतेको हुन्छ । सवारी साधनको नियमित जाँच गराउनुपर्ने कानुनी व्यवस्था छ । लामो दूरीका सवारी साधनमा दुईवटा चालक राख्नुपर्ने प्रावधानको पालना हुँदैन । चाडपर्वका बेला जसरी पनि घर पुग्नु यात्रुको बाध्यता हो । पर्याप्त र सुरक्षित सवारी साधनको व्यवस्थापन गर्नु व्यवसायी र सरकारको जिम्मेवारी हो । यात्रुको सङ्ख्यालाई हेरेर आवश्यक मात्रामा सवारी साधन र चालकको व्यवस्थापन नगर्दा दुर्घटना बढी हुने गरेका छन् । दशैँलाई गुणस्तरहीन वस्तु बेच्ने, बढी मूल्य असुल्ने, थोत्रा सवारी साधन चलाएर पैसा कमाउने अवसरका रूपमा हेर्ने मानसिकतामा परिवर्तन नआएसम्म यात्रु, उपभोक्ताले सधँै विभिन्न जोखिम उठाउनुपर्ने अवस्था रहन्छ । यसतर्फ सरोकारवालाको ध्यान जानुपर्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds