• १३ वैशाख २०८१, बिहिबार

सिमकोट बजारको सडक ढलान गरिँदै

blog

सिमकोट बजारको सडक ढलान गरिदै । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, बैशाख ३ गते । सिमकोट बजारको सडक ढलान गर्ने कार्य साठी प्रतिशत पूरा भएको छ । हिउँदमा सिमेन्टको काम गर्न नसकिने भएपछि रोकिएको काम चैत पहिलो हप्ताबाट सुरु भएर निर्माण कार्य भइरहेको हो । 

सिमकोट बजारभरिको सडकको रिजिट पेभमेन्टको (ढलान) गर्ने कार्य जिम्मा पाएको बानियाँ निर्माणका प्रतिनिधि सरोज रावतले हालसम्म पाएको कामको जिम्मामा साठी प्रतिशत काम पूरा भएको बताउनुभयो । सिमकोट बजारको सनभ्याली जाने सडक क्षेत्रदेखि काली चोकसम्मको ३५० मिटर सडक रिजिट पेभमेन्ट गर्ने कार्य पूरा भएको बताउनुभयो । 

गत मङ्सिरसम्म १५० मिटर सडक र चैत महिना यता दुई मिटर सडक ढलान गरिएको छ । हाल निर्माण कार्य धमाधम भइरहेको छ । २०७८ सालको वैशाख महिनामा काम गर्न निर्माण सेवाले सघन सहरी विकास कार्यालयसँग सम्झौता गरेर कामको थालनी गरेको थियो । यो काम २६ महिनामा सम्पन्न गर्ने सम्झौतामा उल्लेख भए पनि रावतले आगामी असार मसान्तसम्म बाँकी काम सम्पन्न गर्ने लक्ष रहेको बताउनुभयो ।

सात मिटर चौडाइ र छ इन्च बाक्लो सडकलाई ढलान गरिएको छ । यसका लागि कार्यालयले सात करोड बजेट लागत लाग्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरेको छ । उहाँले निर्माण सामग्री निर्माण स्थलमा पुगेको कारण काम समयमै सम्पन्न गर्न सहज भएको बताउनुभयो । 

हाल दैनिक ६ मिटर सडक रिजिट पेभमेन्ट गर्ने कार्य भइरहेको छ । सडकको अन्य विकल्प नभएकाले मानिसहरू आउजाउ त्यही बाटोबाट गर्ने भएपछि काम गर्न समस्या भइरहेको निर्माण कम्पनीले जनाएको छ ।