अग्निपुराणको आलोक

kamal rijalकमल रिजाल

 

अठारवटा महापुराणमा अग्निपुराणको स्थान आठौँ मानिएको छ तर यो गणनाको हिसाबमा निर्धारण गरिएको स्थान हो । महìवको हिसाबले होइन । महìवकै हिसाबमा त यस पुुराणको स्थान सर्वाधिक अगाडि देखा पर्छ । विद्वान्हरूले यसलाई बेग्लै प्रकृतिको अर्थात् चामत्कारिक विशेषता बोकेको पुराण हो भनेका छन् । विश्व ब्रह्माण्डकै विशेषता समेटिएकाले यसलाई विश्वकोषकै संज्ञा दिनेहरू पनि धेरै नै छन् । प्रागैतिहासिक शास्त्रहरू ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेदको सार पनि यसैमा आएको छ । ऐतिहासिक शास्त्रहरू आयुर्वेदशास्त्र, आयुर्वेदभित्रका गजायुर्वेद, अश्वायुर्वेद, गवायुर्वेद, वृक्षायुर्वेद पनि यसैमा छ । धनुर्वेदशास्त्र, धर्मशास्त्र, नाट्यशास्त्र पनि यसैमा आएको छ । अर्थात चिकित्साशास्त्र, वनस्पतिशास्त्र, रसायनशास्त्र, भौतिकशास्त्र, साहित्य, सङ्गीत, कलाशास्त्र पनि यसैमा आएको छ । पशुपक्षीशास्त्र, पशु–पाशशास्त्र र पाशुपतशास्त्र, वास्तुशास्त्र, वस्तुशास्त्र, ज्योतिषशास्त्र, ग्रह तथा नक्षत्रशास्त्र, सामुद्रिकशास्त्र एवं दिक तथा कालशास्त्र पनि यसैमा आएको छ । (अग्निपुराण भूमिका (हिन्दी अनुवादसहित) हिन्दी साहित्य सम्मेलन, प्रयाग)
इतिहास र पुराणको प्राचीनतम ग्रन्थ मानिएका रामायण, महाभारतको सार पनि यसैमा आएको छ । अनि प्रायः सबै पुराणको सार, धर्म, संस्कृति, मीमांसा तथा षड्दर्शन र षड्वेदाङ्गको सार, राजधर्मको सार, मानवधर्मको सार पनि यसैमा आएको छ । कृषि, वाणिज्य, गोरक्षा धर्मको सार पनि यसैमा आएको छ । मानिसले जन्मदेखि मृत्युपर्यन्त गर्नुपर्ने कृत्यशास्त्रको विवेचन यसैमा भएको छ । त्यति मात्र होइन, कस्तो कर्म गर्नेको गति मृत्युपछि कस्तो हुन्छ भन्ने कुराको विश्लेषण समेत यसैमा भएको छ । पितृहरूको अवस्था, पितृश्राद्धका भेद तथा विशेषता र कुन श्राद्ध कतिबेला र किन गर्नुपर्छ भन्नेलगायत मृत्युअघि र मृत्युपछि गरी जीवन र जगत्सम्बन्धी यावत् पक्षको व्याख्यान समेत यसैमा भएको छ ।
पुराणहरू प्रायः पाँच लक्षणका मानिएका छन् । यसको अर्थ सबै पुराण पाँच लक्षणकै हुन्छन् भन्ने होइन । कतिपय पुराण दश लक्षणका पनि देखिएका छन् तर अग्निपुराण सर्वलक्षणले युक्त भन्नुपर्ने देखिएको छ । यस कुराको उद्घोष स्वयं अग्निपुराणले नै गरेको छ । ‘आग्नेये हि पुराणेऽस्मिन् सर्वा विद्याः प्रदर्शिताः’ अर्थात् यो पुराण भनेको त्यस्तो पुराण हो, जहाँ सबै विद्या र शास्त्रको विवेचन भएका छन् । (अग्निपुराणम् हिन्दी अनुवाद सहित, हिन्दी साहित्य सम्मेलन प्रयाग, पृष्ठ १०९५)
अग्निदेवद्वारा ब्रह्मर्षि वशिष्ठलाई सुनाइएको पुराण भएकाले यसको नाम अग्निपुराण रहेको हो । मत्स्यपुराणका अनुसार यस पुराणलाई ईशानकल्पमा अग्निदेवले ब्रह्मर्षि वशिष्ठलाई सुनाएका थिए । (मत्स्यपुराण ५३÷२८) यस सम्बन्धमा स्कन्दपुराण र नारदीयपुराणमा पनि करिब करिब यस्तै अभिमत भेटिन्छ । (क्रमशः स्कन्दपुराण प्रभासखण्ड २÷४७ र नारदीय पुराण १÷९९÷१) पुराणहरूको नामकरण कुनै वक्ताको नामबाट, कुनै स्रोताको नामबाट र कुनै विषयवस्तुको आधारमा पनि भएका छन् । यसमध्ये अग्निपुराण वक्ताको नामबाट नामकरण भएको पुराणमा पर्छ । मूलतः यो पुराण विष्णुभक्तिपरक मानिएको छ । तथापि यसमा साम्प्रदायिक भावना लेस बराबर पनि पाउन सकिन्न । यसले विष्णुको जे जति गुणगान गरेको छ अन्य देवीदेवताको विशेषता वर्णनमा पनि उत्तिकै चासो दिएको छ । यस पुराणका अनुसार चराचर जगत्को उत्पत्ति, स्थिति र संहारमा विष्णुकै सर्वोपरि भूमिका रहेको छ । उनी सर्वव्यापक छन् र सबैको हृदयरूपी गुफामा बसेका हुन्छन् । तैपनि सबैबाट अग्राह्य, अस्पृश्य र अदृश्य अवस्थामा रहदैआएका छन् । यद्यपि यस क्रममा कतै कतै ब्रह्मा, शिव तथा इन्द्र, यम आदि दिक्पालको भूमिकालाई पनि उठाइएको पाइन्छ तर जसले जे भने पनि अन्ततः सबै विष्णुकै विविधरूप हुन् भन्ने यस पुराणको निष्कर्ष रहेको पाइन्छ ।
(अष्टादश महापुराण दिग्दर्शन, नारायणाचार्य कौशिक पृष्ठ २१८)
पद्मपुराणका अनुसार पुराणहरू सबै विष्णुकै श्रीविग्रह अर्थात् विष्णुशरीरको विविध अङ्ग मानिएका छन् । यसअनुसार ब्रह्मपुराणको स्थान निधार तथा स्कन्ध पुराणको स्थान हृदय र नारद पुराणको स्थान नाभी प्रदेश मानिएको छ । त्यस्तै दाहिने हातमा विष्णु, देव्रे हातमा शिव र दाहिने कोखामा मत्स्य तथा देब्रे कोखामा गरुड पुराणको स्थान मानिएको छ भने दाहिने तिघ्रामा श्रीमद्भागवत, देब्रे तिघ्रामा देवीभागवत तथा दाहिने घुँडामा भविष्य, देब्रे घुँडामा ब्रह्मवैवर्त, त्वचामा वामन र पृष्ठभागमा कुर्म पुराणको स्थान मानिएको छ । त्यसैगरी दाहिने गोलीगाँठामा लिङ्ग, देब्रे गोलीगाँठामा बराह तथा दाहिने चरणमा मार्कण्डेय र बायाँ चरणमा अग्निपुराण्को स्थान मानिएको छ । यसअनुसार प्रस्तुत अग्निपुराणलाई भगवान् विष्णुको बायाँ चरण मान्नुपर्ने हुन्छ । (पद्मपुराण स्वर्गखण्ड ६२÷४)
पु्राणहरू सात्विक, राजसिक र तामसिक गरी तीन किसिमका मानिएका छन् । यिनमा अग्निपुराणको स्थान तामसिकमा गणना गरिएको छ । यसको अर्थ यो खराब दर्जाको पुराण हो भन्ने होइन । तमोगुण नवीकरणीय प्रविधिको प्रतीक मानिन्छ । त्यहींं नवसिर्जना सम्भव हुन्छ, जहाँ पूर्वसिर्जनाको संहार हुन पुगेको हुन्छ । अग्निदेव आफैँ नवीकरणीय प्रविधिको प्रतिनिधि पात्र हुन् । यसै अर्थमा यस पुराणलाई तामसिक वा तमोगुणी पुराण मानिएको बुझ्नु मनासिव हुनेछ ।
अद्भूत वर्णनशैली र आश्चर्यजनक विषयवस्तुका कारण समग्र वैदिक दर्शनकै विशिष्टतम ग्रन्थ मान्न सकिने अग्निपुराणको श्लोकसङ्ख्याका बारेमा भने पुराणहरूका बीच अझ स्वयं अग्निपुराणमै समेत विरोधाभाष देखिन्छ । अग्निपुराणको एक स्थानमा यसको श्लोक सङ्ख्या १२ हजार उल्लेख छ । (अग्निपुराण २७२÷११) अर्को स्थानमा १५ हजार उल्लेख भएको पाइन्छ । (अग्निपुराण ३८३÷६४) त्यस्तै श्रीमद्भागवतका अनुसार यसको श्लोक सङ्ख्या १५ हजार ४०० देखिन्छ । (श्रीमद्भगवत १२÷१३÷५) तर देवीभागवत र मत्स्यपुराणका अनुसार श्लोक सङ्ख्या १६ हजार उल्लेख भएको पाइन्छ । (क्रमशः देवीभागवत १÷३÷९ र मत्स्यपुराण ५३÷२८–२९) त्यस्तै नारदीयपुराणका अनुसार यसको श्लोक सङ्ख्या १५ हजार मात्र देखिन आउँछ । (नारदीयपुराण १÷९९÷२) तर हाल उपलब्ध अग्निपुराणको श्लोकसङ्ख्या भने मात्र १२ हजार रहेको छ । (कल्याण पुराणकथाङ्क पृष्ठ २२७)
एउटै पुराणको श्लोक सङ्ख्याबारे यति ठूलो मतभेद किन ? यहाँ गम्भीर प्रश्नचिह्न देखापर्छ । त्यसैले थप अनुसन्धान विना यसबारे अनुमान लगाउन सकिन्न तर अग्निपुराण हिन्दी अनुवादसहित हिन्दी साहित्य सम्मेलन, प्रयागको भूमिकामा भने उल्लिखित पुराणका रचनाकारले आफ्नो समयमा अग्निपुराणलाई जे जस्तो देखेका थिए त्यही नै उल्लेख गरेका हुनसक्ने बलियो अनुमान गरिएको छ । पुराणहरू प्रायः स्कन्ध तथा खण्ड आदिमा विभाजित देखिन्छन् तर अग्निपुराण भने यसमा पनि अपवादमा छ । अग्निपुराण पूर्णतः अध्याय परम्परामा आबद्ध छ । यसको कुल अध्याय सङ्ख्या ३८३ छ, जसले परा र अपरा विद्यालाई आफ्नो विशेष इष्ट विषय बनाएको छ ।
समग्रमा अग्निपुराण त्यस्तो पुराण हो, जसलाई लौकिक ज्ञान र अलौकिक ज्ञान अर्थात् ब्रह्मज्ञानसम्बन्धी विषयको एक किसिमले सरोवर नै मान्न सकिन्छ । यसैका कारण यो पुराण हिजोको समाजमा जति बढी महìवको थियो आफ्नो धर्म, कर्म, संस्कार र संस्कृति तथा दर्शन र सिद्धान्तप्रति बेवास्ता गर्ने प्रवृत्ति बढ्दै गएको आजको समाजमा झनै बढी महìवपूर्ण हुन पुगेको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds