• १३ वैशाख २०८१, बिहिबार

प्रवासमा प्रतिविम्बित अनुभूतिहरू

blog

नियात्राकार गीता रेग्मी नेपाली नियात्रा साहित्यमा परिचित नाम हो । नेपाली साहित्यमा कथा, कविता, नियात्रा सङ्ग्रह प्रकाशन गरेर आफ्नो पहिचान बनाइसकेकी साहित्यकार रेग्मीले भ्रमण वृत्तान्तलाई कलात्मक रूपमा ‘प्रशान्तको तीरैतीर’ नियात्रा सङ्ग्रह प्रकाशित गरेकी छिन् । यस सङ्ग्रहमा यस्तै बिर्सन नसकिने परदेश यात्राको दस्तावेज अभिव्यक्त गरेकी छिन् । अस्ट्रेलिया यात्राको छोटो अवधिमा आफैँसँग जम्काभेट भएका कुरा नियात्राका रूपमा प्रतिविम्बित भएका छन् । 

३३ वटा नियात्रा निबन्धहरूको सङ्ग्रह रहेको यो नियात्राको शुभारम्भ नेपालको एयरपोर्ट छिरेपछि भएको छ । ‘मन आधा आधा भो’ शीर्षकले ढोका खोलेपछि एयरपोर्टमा देखिएका गतिविधिहरू, नेपालीहरू विदेशिनुको बाध्यता, भीड, आफ्नै परिवारलाई छाडेर जानुको पीडा र हर्षको मध्यमा नियात्रा अघि बढेको छ । एयरपोर्टबाट सुरु भएको नियात्रा अस्टे«लिया पुगेपछि बिरामी बहिनी र बहिनीलाई राखेको अस्पतालको दिनचर्या, बिरामी र आफ्नै मनमा ठोक्किएको छ । स्याउ बारीको सुन्दरता र पारु दिदीको पीडाको कथासँग जम्काभेट भएर मेला र सम्बन्धमा पुगेर रमाएको छ । अस्टेलियाका सहर, समुद्र किनार, स्याउखेती, भइरहेका र हुने कार्यक्रमहरू र अरू थुप्रै कुरासँग ठोक्किँदै, भेटिँदै र छुट्टिँदै अगाडि बढेको छ । प्रशान्तको तीरमा गरेको अनुभूति, त्यहाँ र नेपालका मानिसका स्वभावको तुलना, सागर, सागर किनारको सौन्दर्य, प्रयुक्त शब्द शब्दले वर्णन गरेको साँच्चै सुन्दर र भव्य देखिएको प्रशान्तको तीरैतीर नियात्राको ऐनाभरि यो पुस्तकको प्रतिनिधि अनुभूति पनि हो । विचित्रमय अनुभूतिका वर्णन प्रशान्तको तीरमा पाइन्छ । परिचित अपरिचितसँगको सम्बन्धको वर्णन, अनुभूतिको लिपीकरण, तुलनात्मक मनोदशा, इतिहास र वर्तमान अवस्थामा मनमा टिपेका यथार्थका तीतामीठा कुरासँगै अस्ट्रेलियाको एयरपोर्ट छिरेपछि नेपाल फर्कनका लागि भएको बिदाइबाट नियात्राको ढोका बन्द गरिएको छ । करिब अढाई महिनामा प्रवासमा देखिएका भोगिएका छामिएका कुरा विस्तार, वर्णन र तुलना यी नियात्रामा पाइन्छ । 

‘प्रशान्तको तीरैतीर’मा नेपालीहरूले अस्ट्रेलियामा भोग्नुपरेको अवस्था, नारीले पुरुषबाट पाएको मानसिक प्रताडितको कथा, संसद् भवन, स्याउबारी, प्रशान्तको तीर, मेलालगायतमा नेपालको सन्दर्भ जोडेर कहीँ पशुपतिनाथ, कहिले स्वयम्भू, अनि दुई देशबीचका नियम र कानुनको तुलना गरिएको छ । लेखकलाई देशको माया कति छ कति । विदेशको सौन्दर्य र विकासले देश बिर्साउन सकेको छैन, झन् धेर माया बढेको छ देशप्रति । 

यात्राका क्रममा भेटिएका संसद् भवन, स्याउबारी, नेपाली जनजीवन, भोगाइ गराइ, व्यवस्थापन, विकास सबैसबै मिहीन ढङ्गले प्रस्तुत गरिएको यो सङ्ग्रहमा वर्तमानमा वैभव बोकेर बसेको अस्ट्रेलियाको कारुणिक र कालो इतिहासको जानकारी पाइन्छ । सुन्दरता र विकासशील भित्रका कठिनाइहरू पाइन्छन् । हेर्दा सुन्दर तर भित्र धेरै कुरूप पीडाहरू रहेको जानकारी पाइन्छ । यिनै वर्णनका सेरोफेरोमा नेपालको सौन्दर्य, प्रेम र सम्झनाले लपक्क भिजेर नियात्राकार सम्पूर्ण रूपले रमाउन सकेकी छैनन् । कहीँ आशावादी, कहीँ खुसी, कहीँ पीडामा अल्झेकी छिन् । 

यसरी हेर्दा यो नियात्रा सङ्ग्रहले अस्ट्रेलियाको धेरै ठाउँको वर्णन, विवरण र जानकारी दिएको छ । भाषा उच्च स्तरको र शैली कलात्मक छ । यो सङ्ग्रहभित्र नियात्राकारले अस्ट्रेलिया बसाइको क्रममा अस्ट्रेलियामा देखेका, भोगेका जनजीवन, प्राकृति सुन्दरता, भौतिक विकासलाई मनको तुलनात्मक अन्तरद्वन्द्व नियात्रामा समेटिएको पाइन्छ । नियात्रा लेखनको प्रस्तुतीकरण पनि यही हो । मीठो भाषा र सरल प्रस्तुतिले नियात्रा रोचक, सरल र सरस छ । कहिले हस्पिटल, कहिले प्रशान्तको तीर, कहिले पिरो खोर्सानीको मेलामा हामी पाठक गीतासँगै घुम्न बाध्य हुन्छौँ । यो बाध्य पार्ने कौशल नै गीताको नियात्रा वैशिठ्य हो । अल्छी लाग्न नदिई एकपछि अर्को नियात्राले डो-याइरहनु, तानिरहनु र आनन्द दिइरहनु गीताको लेखकीय सफलता पनि हो । यो सङ्ग्रहमा नियात्राकारको तुलनात्मक विश्लेषण, चित्रात्मक प्रस्तुति र चित्रण क्षमता सबल देखिन्छ । प्रवासमा प्रतिविम्बित अनुभूतिहरू नियात्राका रूपमा प्रकाशन गरेकी नियात्राकार गीताबाट अझै धेरै स्तरीय साहित्यिक कृतिको अपेक्षा गर्दछौँ । 

कृति : प्रशाान्तको तीरैतीर 

लेखक : गीता रेग्मी 

विधा : नियात्रा सङ्ग्रह

प्रकाशन : २०७९ 

प्रकाशकः ओरियन्टल पब्लिकेसन 

मूल्य : ३५० ।–

Author

रञ्जना निरौला