• ११ वैशाख २०८१, मङ्गलबार

दाङ उपत्यका बचाउन दशवटै पालिकाले बस्ती स्थानान्तरण गर्दै

blog

बबई नदीले तुलसीपुर १३ फूलबारी क्षेत्रमा खेतीयोग्य जमिन कटान गरेको क्षेत्र । तस्बिर: गोकर्ण

तुलसीपुर वैशाख ३ गते । दाङ उपत्यका बचाउनका लागि यहाँका दशवटै पालिकाले बस्ती स्थानान्तरण र बबई कोरिडोरलाई प्राथमिकता दिने भएका छन् । उपत्यकामा पानीको समस्या बढ्दै गएको र बबई नदीको कटानका कारण खेती योग्य नासिँदै जाने थालेपछि जिल्लाका दश वटै पालिकाले  दीर्घकालीन समस्या समाधानका लागि बबई कोरिडोर र  पहाडी क्षेत्रको बस्ती स्थानान्तरणलाई प्राथमिकतामा राखेका हुन् । 

दाङ उपत्यकामा पर्ने पाँच वटै पालिकामा बबई नदीका कारण बर्सेनि सयौँ बिघा खेतीयोग्य जमिन नासिँदै जान थालेको छ । जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले बबई कोरिडोर निर्माणसँगै बर्सेनि सयौँ बिघा खेतीयोग्य जमिन कटानको समस्या हट्नुका साथै पहाडी क्षेत्रका बस्तीलाई त्यहाँ बसाउन सकिने बताउनुभयो । उहाँले पहाडी क्षेत्रको बस्ती स्थानान्तरण गर्न सके जलाधारको संरक्षणका साथै पहाडी क्षेत्रमा विकासका कारण  उत्पन्न हुने बाढी,पहिरो नियन्त्रण  गर्न सकिने बताउनुभयो । त्यस क्षेत्रमा  फलफूल जडीबुटी क्षेत्रका रुपमा विकास गरेर आर्थिक पाटोलाई सबल बनाउन सकिने  बताउनुभयो । प्रमुख शर्माले बबई कोरिडोर निर्माणका लागि दश वटै पालिका सहमत भई सङ्घ सरकारसमक्ष योजना कार्यान्वयनका लागि बजेट माग गरिएको बताउनुभयो । 

तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले उपत्यकामा बढ्दो पानीको हाहाकार दीर्घकालीन रूपमा समाधानका लागि उपत्यकाको उत्तर क्षेत्रको बस्ती स्थानान्तरण र जलाधार क्षेत्रको संरक्षण अनिवार्य आवश्यक रहेको बताउनुभयो । उहाँले बबई कोरिडोरका साथै ग्वार र पातुखोला कोरिडोर निर्माण गर्न सके हजारौँ खेतीयोग्य जमिन बचाउन सकिने र त्यस क्षेत्रमा बस्ती विकास गर्न सकिने बताउनुभयो । 

बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीले बबई कोरिडोर निर्माणसँगै बाँके राष्ट्रिय निकुञ्जका कारण वडा नम्बर १ र ७मा वन्यजन्तुका कारण मानव बस्तीमा देखिएको प्रभाव अन्त्य गर्न सकिने बताउनुभयो । उहाँले बबई नदीले कटान गरेको सयौँ बिघा जग्गाको संरक्षण गरेर त्यस क्षेत्रमा वडा नम्बर १ र ७को बस्ती स्थानान्तरण गर्न सकिने बताउनुभयो । उहाँले त्यसका लागि एउटा पालिकाभन्दा जिल्लाका दश वटै पालिकाले योजना बनाएर अघि बढ्दा कार्यान्वयनमा सहज हुने बताउनुभयो । बबई नदीका कारण सबैभन्दा बढी भूभाग घोराही र तुलसीपुर उपमहानगरपालिकाका वडाहरूमा क्षति पुगेको  छ । 

बबई गाउँपालिकाको वडा नम्बर  २, ३ र ४ शान्तिनगर  १,२,र ३ , तुलसीपुरको १,३,४ र १९, घोराही उपमहानगरपालिकाको ११, १२,१ ,१३ र १९ पहाडी क्षेत्रमा पर्ने वडा छन् भने बङ्गलाचुली गाउँपालिकाका सम्पूर्ण वडा नै पहाडी क्षेत्रमा छन् । 

Author

गोकर्ण पौडेल