• १३ वैशाख २०८१, बिहिबार

सेन्ट जेभियर्समा अझै भर्ना विवाद

blog

काठमाडौँ, वैशाख ३ गते । नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलले विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न सकेको छैन। ललितपुर महानगरपालिकासँग विवाद बढेपछि सो स्कुलले गत चैत ९ गते वेबसाइटमा सूचना प्रकाशित गर्दै अनिश्चितकालका लागि भर्ना प्रक्रिया स्थगित भएको जनाएको थियो। 

त्यसअघि स्कुलले चैत २ र ३ गते कक्षा १ मा नयाँ भर्नाका लागि आवेदन माग गरेको थियो। सोहीअनुसार अभिभावकले अनलाइन र भौतिक रूपमै उपस्थित भएर भर्नाका लागि आवश्यक कागजपत्र बुझाएका थिए। करिब चार हजारले आवेदन दिएको र तीमध्ये झन्डै तीन हजारसँग पहिलो चरणको अन्तर्वार्ता लिएको स्कुलले जनाएको छ। 

अन्तर्वार्ताबाट पनि सफल भएका विद्यार्थीलाई गोलाप्रथा गरेर भर्नाका लागि छनोट गर्ने स्कुलको तयारी थियो। तर एक हजारभन्दा बढीसँग अन्तर्वार्ता लिन बाँकी रहँदा स्कुलले विद्यार्थी र अभिभावकसँग क्षमा माग्दै भर्ना प्रक्रिया स्थगित भएको जनाएको थियो। सूचनामा के कारणले भर्ना प्रक्रिया स्थगित भएको भन्ने विषयमा स्पष्ट खुलाइएको छैन।  

नयाँ भर्ना हुने कुल विद्यार्थीमध्ये स्कुलले आफूखुसी कोटाको मापदण्ड बनाएको भन्दै महानगरपालिकाले असन्तुष्टि जनाएको थियो। नेपालको कानुनले तोकेको समावेशी कोटाअनुसार मात्रै विद्यार्थी भर्नाको कोटा तोक्न र सोहीअनुसार प्रक्रिया कायम गर्न महानगरपालिकाले निर्देशन दिएको थियो। 

स्कुलले अहिलेसम्म त्यसबारेमा सार्वजनिक रूपमा जानकारी दिएको छैन। महानगरपालिकाले पनि आफूले भनेअनुसार भर्ना गर्ने निर्णय नगरी प्रक्रिया अघि नबढाउन निर्देशन दिएपछि समस्या थप बल्झिएको छ। 

सो स्कुलले सालिन्दा कक्षा १ मा १७० जना विद्यार्थी भर्ना गर्दै आएको छ। तर स्कुलले तोकेको मापदण्डअनुसार ६० प्रतिशत विद्यार्थीलाई कानुनले तोकेभन्दा फरक मापदण्ड बनाएर भर्ना गर्ने गरिएको छ। खुलातर्फ ४० प्रतिशत मात्रै कोटा तोकिएको छ। महानगरपालिकाका शिक्षा विभागका प्रमुख महेन्द्र क्षेत्रीका अनुसार सो विद्यालयको व्यवस्थापन समितिले प्रचलित कानुनभन्दा बाहिर गएर भर्नाको मापदण्ड बनाएकाले समस्या भएको बताउनुभयो। 

“विद्यालयले भर्ना प्रक्रिया सुरु गरेपछि हामीले दुई पटक पत्र पठाइसक्यौँ। तर जवाफ आएको छैन,” उहाँले भन्नुभयो, “उहाँहरूले यो बीचमा बैठक बसेर केही निर्णय गर्नुभएको छ भन्ने सुनिएको छ। तर मेयर बिरामी हुनुभएर भेट हुन पाएको छैन। सम्भवतः आइतबार वा सोमबार कुरा हुन्छ होला।” 

यससम्बन्धमा स्कुल प्रशासनसँग सम्पर्क गर्दा उहाँहरू सम्पर्कमा आउन चाहनुभएन।

  

यो पनि पढ्नुहोस

विद्यार्थीका हातहातमै पाठ्यपुस्तक