• ८ वैशाख २०८१, शनिबार

आजदेखि नयाँ शैक्षिक सत्र

विद्यार्थीका हातहातमै पाठ्यपुस्तक

blog

काठमाडौँ, वैशाख ३ गते । नयाँ शैक्षिक सत्रमा भर्ना अभियानकै क्रममा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुग्ने भएको छ । विगतमा समयमै कम विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध हुन्थ्यो भने शैक्षिक सत्र सकिँदासम्म पूरै विषयका पाठ्यपुस्तक नपाउने अवस्था केही जिल्लामा हुन्थ्यो । 

यस पटक विद्यार्थीलाई भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तयारी छ । सरकारले आइतबारदेखि मुलुकभर विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दैछ । भर्ना अभियान वैशाख १५ गतेसम्म सञ्चालन गरिन्छ । 

यस वर्ष कक्षा ५, ८ र १० का नयाँ पाठ्यक्रमअनुसारका पाठ्यपुस्तक छापिएका छन् । कक्षा १–५ का पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रले र कक्षा ६–१० का पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले छापेका छन् । केन्द्रले एक करोड ५० लाख थान पाठ्यपुस्तक छापेको छ । निजी मुद्रणले कक्षा १–५ का एक करोड १८ लाख थान पाठ्यपुस्तक छापेका छन् । पाठ्यक्रम विकास केन्द्रका अनुसार १३ वटा निजी मुद्रण संस्थाले कक्षा १ देखि ५ सम्मका पुस्तक छपाइको जिम्मा पाएका छन् । 

केन्द्रका अनुसार शनिबारसम्ममा ५६ वटा जिल्लामा पाठ्यपुस्तक पुगिसकेको छ । बाँकी २१ जिल्ला तराईका छन् । तराईका जिल्लामा पाठ्यपुस्तक पु¥याउन सजिलो हुने भएकाले हिमाली र पहाडी जिल्लालाई पहिलो प्राथमिकतामा राखेर पाठ्यपुस्तक वितरण गरिएको हो । केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाले बाँकी जिल्लामा पनि केही दिनमै पाठ्यपुस्तक पु-याइसकिने दाबी गर्नुभयो ।

केन्द्रले सानोठिमीस्थित केन्द्रीय कार्यालयका साथै उपत्यकाबाहिरका आठवटा डिपोबाट पाठ्यपुस्तक वितरण गरिरहेको छ । सानोठिमीको डिपोबाट उपत्यकाका तीनसहित दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, धादिङ, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका लागि पाठ्यपुस्तक वितरण गर्ने गरिएको छ । मुलुकभर पाठ्यपुस्तक वितरण गर्न केन्द्रले एक हजार २६७ वटा स्थानीय बिक्रेता तोकेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले करिब पाँच महिनाअघि सबै स्थानीय तहलाई विद्यार्थी सङ्ख्याका आधारमा रकम निकासा गरिसकेको छ । 

पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले भन्नुभयो, “अहिलेसम्मको सरकारी र निजी प्रेसको विवरण हेर्दा विद्यार्थीले भर्ना भएकै दिन पुस्तक पाउने पक्का छ ।” शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माले यस पटक विद्यार्थीलाई भर्नाकै समयमा पुस्तक हातमा पार्ने गरी काम अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “अपवादबाहेक आउने शैक्षिक सत्रमा विद्यार्थीले भर्ना हुनेबित्तिकै पुस्तक पाउने छन् । तर पुस्तकको सेट किन्दा एक, दुईवटा अपुग हुनसक्छ । यस्तो अवस्थालाई पुस्तक अभाव भयो भन्न मिल्दैन ।”

पालोअनुसार वितरण

धनगढी समाचारदाताका अनुसार सुदूरपश्चिम प्रदेशका लागि आवश्यकमध्ये करिब ८० प्रतिशत ल्याइसकिएको छ । धनगढीस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले अहिलेसम्म १४ लाख थान पाठ्यपुस्तक सम्बन्धित जिल्लामा ढुवानी भइरहेको जनाएको छ । 

केन्द्रका धनगढी प्रमुख ध्रुवराज पन्तले सुरुमा दुर्गम जिल्ला बाजुरा, दार्चुला, बझाङ र अछाममा पाठ्यपुस्तक पठाइसकिएको जानकारी दिँदै भन्नुभयो, “शनिबार पनि ट्रकमा पाठ्यपुस्तक लोड गरेर पठाएका छौँ ।” दुर्गम जिल्लामा ढुवानी सकिएपछि मात्रै कञ्चनपुर र कैलालीलाई पाठ्यपुस्तक दिइने भएको छ । उहाँका अनुसार यी दुई जिल्लाले वैशाख १० गतेबाट पुस्तक प्राप्त गर्नेछन् । प्रदेशभरि करिब १८ लाख पाठ्यपुस्तक आवश्यक पर्नेछ । 

त्यस्तै अछाम समाचारदाताका अनुसार धनगढीमा ढुवानी भएका पाठ्यपुस्तक मङ्गलबारसम्म अछाममा आइपुग्नेछ । मङ्गलसेनका पाठ्यपुस्तक बिक्रेता भुवन स्टेसनरी स्टोरका सञ्चालक नरबहादुर रावलले मङ्गलबारसम्म पाठ्यपुस्तक सदरमुकाममा पुगिसक्ने बताउनुभयो । 

शिक्षा विकास तथा समन्वय एकाइ अछामका प्रमुख लक्ष्मण गिरीले भन्नुभयो, “वैशाख ५ गतेसम्ममा किताब आइपुग्छ । पाठ्यपुस्तक अभावको समस्या हुँदैन ।” स्थानीय तहमा आएको पाठ्यपुस्तकको रकम विद्यालय खातामा गइसकेको छ । अमरगढी समाचारदाताका अनुसार डडेलधुरामा कक्षा १–५ का पाठ्यपुस्तक विद्यालयमा वितरण भइरहेका छन् भने कक्षा ६–१० का पाठ्यपुस्तक वैशाख ८ गतेपछि मात्र आइपुग्नेछ । शिक्षा विकास तथा समन्वय एकाइ डडेलधुराका प्रमुख नारदप्रसाद जोशीले धनगढीस्थित जनक शिक्षा धनगढीले डडेलधुराका पुस्तक बिक्रेतालाई पाठ्यपुस्तक लिन वैशाख ८ गतेको पालो दिएको जानकारी दिनुभयो । 

यसैगरी दार्चुला समाचारदाताका अनुसार दार्चुलामा पाठ्यपुस्तक आइपुगेको छ । दार्चुलामा झन्डै २३ हजार विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउनु पर्नेछ । शिक्षा विकास तथा समन्वय एकाइ दार्चुलाका प्रमुख जयराज पन्तले भर्ना सप्ताहभित्रै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउने गरी समन्वय भइरहेको बताउनुभयो । 

पहाडलाई प्राथमिकता

त्यस्तै इनरुवा समाचारदाताका अनुसार सुनसरीका विद्यार्थीले नयाँ शैक्षिक सत्र सुरु भएको पहिलो दिनमा नयाँ पाठ्यपुस्तक नपाउने भएका छन् । पुस्तक व्यवसायीहरूले वैशाख ८ देखि १० गतेसम्ममा वितरण गरिसक्ने बताएका छन् ।

नेपाल पुस्तक व्यवसायी महासङ्घ इनरुवा एकाइका सदस्य तथा ग्लोबल बुक्स एन्ड स्टेसनरी सप्लायर्सका सञ्चालक पवनकुमार मेहताले कक्षा ५ सम्मको पाठ्यपुस्तक आइसकेको तर जनक शिक्षाले कक्षा ६–१० का पाठ्यपुस्तक पहाडी जिल्लामा पठाइसकेपछि मात्र आफूहरूको पालो आउने जानकारी दिएको बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख खगेन्द्र सुवेदीले स्थानीय पुस्तक व्यवसायी तथा वितरकले लापरबाही नगरे विद्यार्थीको हातमा समयमै पुस्तक पुग्ने अवस्था रहेको दाबी गर्नुभयो । 

बेनी समाचारदाताका अनुसार म्याग्दीमा करिब १५ हजार सेट पाठ्यपुस्तक भित्रिएका छन् । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ म्याग्दीका अध्यक्ष नवराज पौडेलले नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु हुँदा विद्यार्थीको हातहातमा पुस्तक पुगोस् भन्ने उद्देश्यले एकद्वार प्रणालीमार्फत वितरण थालिएको बताउँदै भन्नुभयो, “कक्षा १–५ का सबै पाठ्यपुस्तक आइसकेका छन् । कक्षा ६–१० का ८० प्रतिशत पाठ्यपुस्तक आइसकेका छन् ।”

त्यस्तै रामेछाप समाचारदाताका अनुसार रामेछापमा आवश्यकताको ७५ प्रतिशत मात्रै पाठ्यपुस्तक आइपुगेको छ । कक्षा १–१० का ४० हजार थान पुस्तक आवश्यक रहेकोमा अहिलेसम्म ३० हजार थान आइपुगेको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घका केन्द्रीय सदस्य रमेश ढुङ्गेलले विगतमा जस्तो यस पटक समस्या नभएको र बाँकी पाठ्यपुस्तक ल्याउन पहल भइरहेको बताउनुभयो । शिक्षा विकास तथा समन्वय एकाइ रामेछापका प्रमुख भरत भट्टराईले सबै पालिकामा वैशाख ७ गतेभित्र पाठ्यपुस्तक पुगिसक्ने बताउनुभयो ।

कर्णालीमा पुग्यो

विगतमा कर्णालीका विद्यार्थीले वार्षिक परीक्षा दिने समयसम्ममा पनि पूरै पाठ्यपुस्तक पाउँदैन थिए । डोल्पा, हुम्ला, मुगुलगायतका जिल्लामा पहिलो पटक समयमा पाठ्यपुस्तक पुगेको छ । 

हुम्ला समाचारदाताका अनुसार हुम्लामा पहिलो पटक समयमै पाठ्यपुस्तक पुगेको छ । अदानचुली गाउँपालिकाका युवराज भण्डारीले समयमै पाठ्यपुस्तक नपुग्ने हुम्लामा भर्ना अभियान जारी रहेकै समयमा विद्यालयमा पाठ्यपुस्तक पुुगेकोमा अचम्म मान्नुभयो । 

ताजकोट गाउँपालिकाका १८ र अदानचुली गाउँपालिका २१ वटा सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पु-याउने जिम्मा पाएको एलबी बुक्सका प्रतिनिधि लोकेन्द्र भण्डारीले तीन दिनअगाडि दुवै विद्यालयमा पुस्तक पुगिसकेको जानकारी दिनुुभयो । सर्केगाड गाउँपालिकाका ३४ र चङ्खेली गाउँपालिकामा २२ रहेका सामुदायिक विद्यालयमा पनि पुस्तक पुगिसकेको ज्ञानु पुस्तक पसलका प्रतिनिधि मानदेव शाहीले जानकारी दिनुभयो । 

माथिल्लो भेगका सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकाका लागि रोकाया पुस्तक पसलले शनिबार नेपालगञ्जबाट गाडीमा पुस्तक लोड गरेर ढुवानी सुरु गरेको छ । तीन पालिकाका ५८ सामुदायिक विद्यालयका लागि पाठ्यपुस्तक एक हप्ताभित्र गाउँपालिकामा पुग्नेछन् । त्यस्तै कालीकोट समाचारदाताका अनुसार कालीकोटमा आइतबारदेखि पाठ्यपुस्तक वितरण सुरु हुने भएको छ । विनोद बुक सेन्टर मान्मका वितरक नन्दबहादुर शाहीले दुई हजार पाँच सय सेट पाठ्यपुस्तक आइपुगेकाले आइतबारदेखि नै वितरण सुरु हुने बताउनुभयो । 

शिक्षा विकास तथा समन्वय एकाइ कालीकोटका प्रमुख प्रकाशचन्द्र धितालले केही विद्यालयले नियतवश पूरै सेट किताब नलिने गरेको तर यस पटक आफूले कडाइ गरेको बताउनुभयो । जनक शिक्षाले कालीकोटका लागि वैशाख १ गते सुर्खेतबाट पाठ्यपुस्तक उठाउन सूचना जारी गरेको थियो । 

गोरखापत्रका मुगु समाचारदाताका अनुसार पाँच दिनभित्र किताब आइपुग्ने भएको छ । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख सूर्यबहादुर खत्रीले छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगमकार्मारोङ गाउँमा विद्यालयमा वैशाख ५ गते पाठ्यपुस्तक पुगिसक्ने र लगत्तै वितरण गरिने बताउनुभयो । जिल्लामा करिब १८ हजार सेट किताब आवश्यक पर्दछ ।

बुलबुले समाचारदाताका अनुसार जनक शिक्षाको प्रादेशिक कार्यालय सुर्खेतले नयाँ शैक्षिक सत्र सुरु हुनुअगावै पुस्तक गोदाममा ल्याइसकेको छ ।

केन्द्र प्रादेशिक कार्यालय प्रमुख भैरवबाबु पन्तले कर्णालीका सबै बालबालिकालाई पुग्ने गरी पाठ्यपुस्तक ल्याइएको जानकारी दिनुभयो । उहाँले पालोअनुसार दुर्गम जिल्लाबाट वितरण भइरहेको बताउनुभयो । जुम्ला र कालीकोटमा पनि पाठ्यपुस्तक गइसकेको छ । वैशाखको पहिलो साताभित्रै सबै जिल्लामा पुस्तक पु-याउने योजना बनाइएको छ । 

(अविनाश चौधरी, शिवराज ढुङ्गाना, पुष्कर भण्डारी, लोकेन्द्र जोशी, जयकृष्ण यादव, नवराज श्रेष्ठ, ठाकुरप्रसाद आचार्य, राजन रावत, प्रेमराज सिम्खडा, हरिकृष्ण ऐडी र रजनी योगीका सहयोगमा ।)

   

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।