• ८ वैशाख २०८१, शनिबार

रौतहटमा गोली चल्दा एक जनाको मृत्यु

blog

रौतहट जिल्ला प्रशासन कार्यालय । फाइल तस्बिर

सञ्जय कुमार मिश्र 

गौर, वैशाख २ गते। रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ८ स्थित बाटो विस्तार विवादलाई लिएर भएको झडपमा गोली चल्दा एक जनाको मृत्यु भएको छ।

गढीमाई नगरपालिका –८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा झडप हुँदा गोली चलेपछि एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

विवादका क्रममा गोली लागेर घाइते स्थानीय राजकुमार राय यादवको उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिनुभयो। 

गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुकबाट गोली प्रहार भएको तथा गोली तथा ढुङ्गामुढा लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव सहित पाँच जना घाइते छन्। उनीहरूको गरुडास्थित अस्पतालमा उपचार भइरहेको छ।

घटनामा प्रयोग भएको हतियार प्रहरीले बरामद गरेको छ। प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा ९ जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक बुढामगरले जानकारी दिनुभयो।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी नायब उपरीक्षकको टोली पठाइएको उहाँले जानकारी दिनुभयो।