• ८ वैशाख २०८१, शनिबार

बीपीको बाटोमा देश हिंडाएका छौँ : नेता रिजाल

blog

व्यास नगरपालिका–२ मा आयोजित कार्यक्रमा डा. मिनेन्द्र रिजाल ।

अमरराज नहर्की 

तनहुँ, वैशाख २ गते । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले बीपी कोइरालाकै बाटोमा देश हिँडिरहेको बताउनुभएको छ । सत्ता गठबन्धनले शनिबार व्यास नगरपालिका –२ मा गरेको उपनिर्वाचन सभामा डा. रिजालले सो कुरा बताउनुभएको हो । 

बीपी कोइरालाले देखाएको समाजवादको सपना पूरा गर्न एकता निर्माण गरिएको उहाँको भनाइ छ । समाजवादअनुसारको आवश्यकता पूरा गर्न गठबन्धन सरकार निर्माण गरी एकता गरिएको उहाँले बताउनुभयो । कांग्रेसले आन्दोलन गरेर राणा शासनको अन्त्य गरेको, प्रजातन्त्र स्थापना गरेको, माओवादी युद्धलाई शान्तिमा परिणत गरेको उहाँले दाबी गर्नुभयो ।

नेता रिजालले कांगेसकै नेतृत्वमा सबै परिवर्तन सम्भव भएको बताउनुभयो । ‘‘समाजवादको बाटो देश कसरी लैजान सकिन्छ अहिले चिन्ता गरिहरेको उहाँले दाबी गर्नुभयो । यही चिन्ताले देशमा परिवर्तन भइरहेको छ, रिजालले भन्नुभयो, “हिजो पैदल हिँड्ने ठाउँमा मोटरबाटो पुगेको छ ।”

२०३६ सालमा तनहुँको जनसभामा बीपी कोइरालाको सम्बोधन गर्ने समयमा पृथ्वी राजमार्गमा ५० वटा गाडी गुड्ने गरेकोमा हाल हजारौँ गुड्ने भएको उहाँले बताउनुभयो ।  धेरै ठूलो उपलब्धि हासिल भएको र आकाङ्क्षालाई प्राप्त गर्न समाज गतिशील एवम् परिवर्तनशील भएकाले लोकतन्त्रको बाटोबाट मात्रै परिवर्तन सम्भव भएको बताउनुभयो ।

राजनीति बुझेको व्यक्तिले मात्रै देश चलाउन सक्ने भएकोले गोविन्द भट्टराई राजनीतिमा समर्पित व्यक्ति भएको उहाँले बताउनुभयो । एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठले गठबन्धनको मत धेरै भएकाले जित निश्चित भएको बताउनुभयो ।