• ८ वैशाख २०८१, शनिबार

सियारीका २५० घरधुरीलाई पुर्जा वितरण

blog

गाउँपालिकामा गाउँव्लक अन्तर्गतका २५० घरधुरीलाई जग्गाधनी लालपुर्जा बितरण गरिदै ।

कपिल ज्ञवाली

सिद्धार्थनगर, बैशाख २ गते । रुपन्देहीको सियारी गाउँपालिकामा गाउँ ब्लक अन्तर्गतका २५० घरधुरीलाई जग्गाधनी लालपुर्जा वितरण गरिएको छ । नापी कार्यालय रुपन्देहीको समन्वयमा सियारी गाउँपालिका बडा २, ४ र ५ का घरधुरीलाई पुर्जा वितरण गरिएको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले बताउनुभयो ।  

अध्यक्ष घिमिरे पाँच गाउँब्लकको २५० जग्गाधनी पुर्जा वितरण गरिएको बताउनुभयो । उहाँले लामो समयको पहल र मेहनतपछि सियारीबासीले जग्गापुर्जा हस्तान्तरण गर्न सकिएको बताउनुभयो । 

लामो समयदेखि जोतभोग गरेका जग्गाधनीले पुर्जा नपाउँदा कुनै पनि बैङ्किङ कारोबार गर्न नपाएका जग्गाधनीले अब आवश्यक परेका बेला बैङ्किङ कारोबार गरी आफ्नो काम अगाडि बढाउन सहज हुने बताउनुभयो । 

२०२५ सालमा नापीमा छुटेका तर, सुरुको नापी हुँदादेखि नै जोतभोग गरे पनि लालपुर्जा नपाएका नागरिकलाई जग्गाधनी पुर्जा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । रुपन्देहीमा १ हजार ८०० गाउँब्लकको नापी भएका मध्ये १ हजार १५० गाउँब्लकको पुर्जा वितरण गर्न बाँकी रहेको नापी कार्यालयका प्रमुख सुग्रीव यादवले जानकारी दिनुभयो । 

उहाँले सियारीमा १ सय १५ गाउँब्लकमध्ये ३५ बटा गाउँब्लको मात्र वितरण गर्न बाँकी रहेको बताउनुभयो । सियारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले सियारीमा १ सय १५ गाउँब्लकमध्ये ३५ वटाको मात्र वितरण गर्न बाँकी रहेकाले बाँकी रहेका गाउँब्लकको पनि छिट्टै नै वितरण गर्ने गरी तयारी अगाडि बढाइएको बताउनुभयो ।