• ७ वैशाख २०८१, शुक्रबार

अभ्यास खेलमा नेपालले ओमानलाई हरायो

blog

खेलपछि नेपाल र ओमानका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, वैशाख २ गते । एसीसी प्रिमियर कप क्रिकेटको तयारीका लागि खेलिएको मैत्रीपूर्ण अभ्यास खेलमा नेपालले ओमानलाई हराएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा नेपालले ओमानालई पाँच विकेटले हरायो । जितको लागि दुई सय ४७ रनको लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको हो । 

नेपालका लागि अर्जुन साउद, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गर्नुभयो । अर्जुनले ६७, दीपेन्द्रले ५९ र रोहितले ५८ रन बनाउनुभयो ।

ज्ञानेन्द्र मल्लले १५, सन्दीप जोराले ११ र देब खनालले १० रन बनाउनुभयो । बलिङमा ओमानका कप्तान जिशान मकसुदले दुई विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ४६ रन बनाएको थियो । ओमानका लागि सोएब खानले सतकीय पारी खेल्नुभयो ।

उहाँले एक सय १० रन बनाउनुभयो । जतिन्दर सिंहले ४२,  मोहम्मद नदिम खुशीले २४, कश्याप प्रजापतिले १६ र मोहम्मद नदीमले १० रन जोड्नुभयो । बिलङमा नेपालका किशोर महतोले तीन विकेट लिनुभयो । 

प्रतिश जिसी र सूर्य तामाङले दुई दुई तथा श्याम ढकाल र मौसम ढकालले एक एक विकेट झार्नुभयो । एसीसी प्रिमियर कप मंगलबार देखि काठमाडौंमा सुरु हुँदैछ ।

प्रतियोगितामा मुलपानी र त्रिवि मैदान कीर्तिपुरमा आयोजना हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ ।प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ ।

नेपालको समूहमा ओमानसहित कतार, मलेसिया र साउदी अरब छ । यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ ।

शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ ।

एसीसीले प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिसकेको छ । तालिका अनुसार नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग त्रिवि मैदानमा खेल्दै सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल वैशाख ८ ओमानसँग हुनेछ ।

उक्त खेललाई एकदिवसीय मान्यता समेत रहने छ । नेपालले समूहको तेस्रो खेल वैशाख ११ गते साउदी अरब र चौथो खेल वैशाख १४ गते कतारसँग खेल्नेछ । सेमिफाइनल  वैशाख १६  र फाइनल खेल १८ गते कीर्तिपुरमा हुनेछ ।