स्थानीय तहमा न कर्मचारी न सेवा


शिवराज ढुङ्गाना

अछाम, असोज २५ गते । स्थानीय तहमा आवश्यक कर्मचारीको अभावमा अछामका स्थानीय तहले प्रदान गर्नुपर्ने दैनिक सेवा प्रभावित भएका छन् ।
केन्द्रबाट कर्मचारीहरू नपठाउने र स्थानीयस्तरमा भर्ना गर्न नपाइने भएकोले नागरिकलाई सहज सेवा प्रभावित भएको जनप्रतिनिधिहरूले गुनासो गर्दै आएका छन् ।
जिल्लाका दसवटै स्थानीय तहमा कर्मचारीको अभाव रहेको जनप्रतिनिधिहरूले जानकारी दिएका छन् । जिल्लाको मेल्लेख गाउँपालिका आठवटै वडाहरूमा सचिवविहीन अवस्थामा सञ्चालन गर्नु परिरहेको अध्यक्ष लोकबहादुर बोहराले जानकारी दिनुभयो । रामारोशन गाउँपालिकामा ७ वडा तीन जना वडा सचिवले काम गरिरहेका छन् । कर्मचारी अभावमा सरकारी सेवा दिन आएका सर्वसाधारणहरूले सास्ती पाउन थालेको सेवाग्राहीहरूको भनाइ छ ।
स्थानीय तहहरूमा अधिकृत, लेखा, नायब सुब्बा, वडा सचिव गरी प्रशासन र प्राविधिकतर्फका कर्मचारीहरूको अभाव देखिएको छ । कर्मचारीको अभावमा जिल्लाको साँफेबगर नगरपालिकामा लेखा अधिकृतले नै प्रमुख प्रशासकीय अधिकृतको काम गरिरहेका छन् । इन्जिनियरसहितका प्राविधिकहरूको अभावमा नागरिकका कामहरू समयमै सहज रूपमा सम्पन्न गर्न नसकेको जनप्रतिनिधिहरू बताउँदै आएका छन् । १० वडा रहेको कमलबजार नगरपालिकामा वडा सचिवको अभावमा ७ वडामा कार्यालय सहयोगीले समेत सेवा दिनु परेको नगरप्रमुख ओमप्रकाश विष्टले जानकारी दिए । रामारोशन गाउँपालिकाको ७ वडामा तीन जना वडा सचिवले काम गरिरहेका छन् । रामारोशन गाउँपालिकाका उपाध्यक्ष सरस्वती रावलले कर्मचारी अभावमा कर्मचारीहरूको काम आफैँले गर्नु परेको बताउनुभयो । न्यायिक समितिमा त कर्मचारी नै नभएका कारण कतिपय फैसलाहरू समेत आफैँले लेख्नुपरेको छ । उपाध्यक्ष रावलले भनिन् ।
तुर्माखाँद गाउँपालिकामा छ जना नायब सुब्बाको दरबन्दी रहेकामा सबै पदहरू खाली रहेको उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल उपाध्यायले जानकारी दिनुभयो । वडामा सचिव नहुँदा सबैभन्दा बढी समस्या छ । अधिकृत उपाध्यायले भन्नुभयो, वडा अध्यक्ष नै सक्रिय भएकाले काम नै त रोकिएको छैन । जिल्लाका अधिकांश स्थानीय तहमा कर्मचारीहरूको समस्या रहेको गाउँ तथा नगरपालिकाका जनप्रतिनिधिहरूको गुनासो रहेको छ । जनताको काममा तीव्रता ल्याउने गरी आफूहरू चुनिए पनि कर्मचारीहरूको अभावमा सोचेको काम गर्न नसकेको जनप्रतिनिधिहरूले बताएका छन् । सिंहदरबार गाउँगाउँमा भनिए पनि हाम्रो हातमा केही छैन । मङ्गलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले बताउनुभयो ।
सदरमुकाम रहेका कार्यालयमा कर्मचारी अभाव नभए पनि स्थानीय तहका वडाहरूमा अभाव भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको भनाइ छ । लोकसेवाबाट कर्मचारीहरूको पदपूर्ति भइरहेको भन्दै स्थानीय तहले यसमा पहल गर्नुपर्नेमा प्रजिअ आचार्य बताउनुहुन्छ । मेल्लेख गाउँपालिका उपाध्यक्ष बोहरा केन्द्रमा कुरा गर्दासमेत कर्मचारी नपठाएको जानकारी दिनुभयो । जिल्लामा कर्मचारीको अभावका बारेमा दसवटै स्थानीय तहले सङ्गठन संरचनाका बारेमा केन्द्रमा पठाएको जानकारी पाएको जिल्ला समन्वय समितिको कार्यालयका अधिकृत खडकबहादुर विष्टको भनाइ छ । अधिकृत विष्टका अनुसार जिल्लाका कति कर्मचारी आवश्यक हुन् भन्नेबारेमा कुनै विवरण सङ्कलन भएको छैन ।
जिल्लामा भएकै जनशक्तिको परिचालन र व्यवस्थापन हुन नसक्दा पनि समस्या भएको केही भनाइ आइरहेका छन् । अछामका चार नगरपालिका र छ गाउँपालिकाका ९१ वडा रहेका छन् । सरकारले स्थानीय तहमा कर्मचारीहरूको अभाव भएको बताउँदै आए पनि त्यसको व्यवस्थापन गर्न नसक्दा स्थानीय तहको सेवा सहज रूपमा नागरिकले सेवा लिन नपाएका हुन् । कर्मचारी अभावसँगै अधिकांश वडा तहमा भवन नहुँदा समेत समस्या भएको जनप्रतिनिधिहरूको गुनासो छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds