• ८ वैशाख २०८१, शनिबार

दुई गाउँ जोड्ने झोलुङ्गे पुलको पाँच वर्षपछि उद्घाटन

blog

पुल उदघाटन गर्नुहुँदै सांसद खमबहादुर गर्बुजासहित सहभागीहरु । तस्बिर : साधन घर्ती

साधन घर्ती  

म्याग्दी (दरबाङ), बैशाख २ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका –१, स्थित वेग र बाँदुक गाउँलाई जोड्न निर्माण गरिएको लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । दुई गाउँलाई जोड्न अग्ला पहाडमा निर्माण गरिएको उक्त ३ सय ६५ दशमलव ८० मिटर लामो झोलुङ्गे पुल शुक्रबार एक समारोहबीच प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ ले उद्घाटन गर्नुभयो ।  

कार्यक्रममा सांसद गर्बुजासहित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र योजना छनौटमा भूमिका खेल्ने तत्कालीन जिल्ला विकास समितिको कार्यालयका स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेललेको सहभागिता थियो । 

पुल निर्माण कार्य सकिएको भए पनि पुलबाट वेग र बाँदुकतर्फ जाने बाटोमा गाउँपालिका र अन्य निकायबाट पदमार्ग, पर्यटन पार्क र समुदायस्तरबाट चौतारी, विश्रामस्थललगायतका पूर्वाधार निर्माण भएपछि पुल निर्माण भएको पाँच वर्षपछि उद्घाटन गर्नुपरेको वडा अध्यक्ष बिलबहादुर फगामीले जानकारी दिनुभयो । 

बेनी–जोमसोम सडकखण्डको तिप्ल्याङदेखि बाँदुक–लामो पुल हुँदै वेग भएर पर्यटकीयस्थल रुइसे जोड्ने पदमार्ग निर्माण गरी धौलागिरि आइसफल पदमार्गमा जोड्ने योजना बनाएको वडा अध्यक्ष फगामीले बताउनुभयो ।


वेग र बाँदुक गाउँको बीचमा रहेको वेगखोलाको खोचमाथि निर्माण भएको यस झोलुङ्गे पुलको १४८ मिटरभन्दा बढी अग्लाइ छ । २०७३ साउन महिनादेखि निर्माण सुरु भएको आयोजना २०७४ वैशाख ३० गते सम्पन्न भएको थियो । तत्कालीन जिल्ला विकास समितिले २ करोड ७९ लाख ९० हजार रुपियाँ लागतमा पुल निर्माणको लागि मुक्तिनाथ, श्री गीता जेभीलाई ठेक्का लगाएको थियो ।

पुल निर्माणका लागि जिल्ला समन्वय समिति र स्थानीयको ३६ लाख रुपियाँ बराबरको लगानीमा दुवैतर्फबाट सडकको पहुँचमार्ग विस्तार गरिएको थियो । यो झोलुङ्गे पुल निर्माण भएपछि बाँदुक र वेगगाउँ वारपारको लागि लाग्ने करिब ३ घण्टाको यात्रा ३० मिनेटमै हुनेभएको छ ।