• ७ वैशाख २०८१, शुक्रबार

रुसी क्षेप्यास्त्र आक्रमणमा नौ जना युक्रेनी मारिए

blog

क्षेप्यास्त्र आक्रमण । फाइल तस्बिर

किएभ, वैशाख २ गते । युक्रेनको स्लोभियान्स्कामा रुसले गरेका क्षेप्यास्त्र आक्रमणमा परी नौ जना युक्रेनीको ज्यान गएको भने २१ जना घाइते भएका छन् । मस्कोले बाख्मुतका थप जिल्ला कब्जा गर्ने प्रयासमा स्लोभियान्स्कमा आक्रमण गरेको हो ।

डोनेट्स्क क्षेत्रका गभर्नर पाभ्लो किरिलेन्कोका अनुसार बाख्मुटको पश्चिममा अवस्थित स्लोभियान्स्कमा रुसले शुक्रबार सात वटा क्षेप्यास्त्र प्रहार गरेको थियो । सात जनाको आक्रमणस्थलमा र एक जनाको भग्नावशेषबाट उद्धार गरिएपछि एम्बुलेन्समा मृत्यु भएको हो । आक्रमणमा दुई वर्षको शिशुको पनि ज्यान गएको छ ।

उक्त आक्रमण रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै पनि रुसी नागरिक सेनामा भर्ती हुन, बोलाइएको बेला उपस्थित हुन तथा देशबाट बाहिर जान नपाउने कानुनमा हस्ताक्षर गरेपछि भएको अल जजिराले जनाएको छ ।

उक्त कानुनअनुसार अब कुनै पनि नागरिकले अनुमति बिना विदेश भ्रमण गर्न पाउने छैनन् भने हरेक निकायमा राष्ट्रसेवाका निम्ति उपस्थित हुन बेग्लै पत्राचारको आवश्यकता पर्दैन । उक्त कानुनलाई विद्युतीय आदेशका रूपमा मान्यता दिइएको छ । विद्युतीय माध्यमबाटै कुनै नागरिकलाई सूचीकृत कार्यालयमा सेवाका निम्ति बोलाउन सकिने छ ।

युक्रेन युद्ध प्रारम्भ भएपछि आफ्ना सेनालाई सघाउन नागरिकलाई समेत परिचालन गर्न सकिने घोषणा राष्ट्रपतिले गरेपछि दशौँ हजार रुसीले देश छाडेका थिए ।

गत वर्षको २४ फेब्रुअरीमा युक्रेनमा रुसी आक्रमण भएपछि एक लाखभन्दा बढी युक्रेनी सैनिक तथा त्यति नै सङ्ख्यामा रुसी सेनाले ज्यान गुमाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी अधिकारीहरूका अनुसार दुवै पक्षका ४० हजार गैरसैनिक पनि युद्ध मारिएका छन् ।

रुस र युक्रेनले युद्धमा भएको हताहतिबारे आधिकारिक विवरण सार्वजनिक नगरे पनि केही महिनाअघि युक्रेनी सेनाका प्रमुखले स्थानीय सञ्चारमाध्यमलाई नौ हजार युक्रेनी सेनाले वीरगति प्राप्त गरेका बताएका थिए । रुसी अधिकारीहरूले पनि छ हजार सैनिकले ज्यान गुमाएका जानकारी दिएका थिए ।

संयुक्त राष्ट्रसङ्घले रुस र युक्रेनबाट भागेर युरोपेली देशमा शरण खोज्नेको सङ्ख्या ७८ लाख पुगेको जनाएको छ । युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा अकल्पनीय प्रभाव परेको छ । धान्नै नसक्ने गरी मुद्रास्फीति बढेको छ भने न्यून आय भएका देशका जनताको जीवन कष्टकर बनेको छ । रासस/एएनआई