• ८ वैशाख २०८१, शनिबार

सरकारी विद्यालयमा बालबालिका पढाउन निर्देशन

blog

महावै गाउँपालिकाको कार्यालय । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, बैशाख २ गते । कालीकोटको महावै गाउँपालिकाले सरकारी कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पठन पाठन गराउने सूचना जारी गरेको छ । चैत ३० गते सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले जनप्रतिनिधि र सरकारी तथा गैरसरकारी निकायमा कार्यरत सबैका छोराछोरी सरकारी विद्यालयमा अनिवार्य भर्ना गर्न निर्देशनसहितको सूचना जारी गरेको हो । 

गाउँ शिक्षा समितिले गत फागुन २३ गते गरेको निर्णयअनुसार आगामी शैक्षिकसत्रदेखि सबैले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा पढाउन गाउँपालिकाले सूचना जारी गरेको छ । शिक्षा अधिकृत मदनबहादुर शाहीद्वारा सूचनामा शैक्षिकसत्र २०८० देखि अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने उल्लेख छ । 

गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले सरकारी विद्यालयमा अध्यापन गराउने शिक्षक स्वयम् आफै आफ्नो शैक्षिक ज्ञानप्रति विश्वास नमानेर आफ्ना छोराछोरी निजी विद्यालयमा भर्ना गर्ने र उनीहरूले विद्यालयमा खासै चासो नदिने भएकाले पालिकाले यस्तो निर्णय गर्न बाध्य भएको बताउनुभयो । 

सरकारी तलब भत्ता खानेले सरकारी शैक्षिक क्षेत्रको विश्वास गर्नुपर्ने अध्यक्ष सिंहको जिकिर छ । गाउँपालिका उपाध्यक्ष दानसिंह सेजुवालले निर्णय कार्यान्वयन गराउन पालिकाले अठोट लिएको सुनाउनुभयो ।