मासु, पर्यावरण र अर्थतन्त्रको सम्बन्ध

ramesh ghimireरमेश घिमिरे

मासु स्वास्थ्यका लागि लाभदायक, तटस्थ वा हानिकारक के हो भन्ने विषयमा विश्वमा अनुसन्धान र तर्क वितर्क सधैँ भइरहेका छन् । प्रोटिन र भिटामिन डीका लागि मासु लाभदायक भएको तथ्य केही दशकदेखि स्वीकार गरिँदै आएको छ । भिडामिन डी प्राप्त हुने खाद्य वस्तु भएको हुनाले मानिस स्वच्छ र निरोगी हुन माछा मासु अनिवार्य हुन्छ भन्ने दाबी रहेको छ ।
अर्कोतर्फ मासु सेवनको कारण मुटु रोग, क्यान्सरजस्ता नसर्ने भयानक रोग लाग्ने गरेको प्रयोगशालामा होइन, समाजमा गरिएको लामो अवधिको अनुसन्धान अवलोकनबाट देखिने गरेको छ । जिवित पशुपंक्षीको बध गर्नसाथ तुरुन्तै हानिकारक ब्याक्टेरियाले मासु खान थाल्ने हुँदा दुर्गन्ध फैलिने तथा सरुवा रोगको सम्भावना हुने तथ्य पनि सार्वजनिक भएकै छन् ।
प्रोटिनको अरू बहुस्रोत भएको तथा भिटामिन डीका लागि सूर्यको किरण नै पर्याप्त भएको हुनाले मासु अत्यावश्यक वस्तु होइन भन्ने अर्कोथरी दाबी देखिन्छ । मानिसजस्तै प्राकृतिक रूपमा जिउन र मर्न पाउने पशुपंक्षीको पनि अधिकार भएको हुनाले उनीहरूको हत्या गरेर खानु पृथ्वीको नियमविपरीत र पशुपंक्षीको अधिकारको उल्लङ्घन भएको दाबी पनि गर्ने गरिन्छ ।
मानिसको जिब्रोले लिपिड (चिल्लो पदार्थ) र प्रोटिनलाई अत्यधिक स्वादिलो मान्छ । त्यसैले खानामा स्वादलाई मात्र महìव दिने मानिसहरू अनेक तर्क लगाएर मासु सेवनको पक्षपोषण गर्छन् । ‘युरिक एसिड’ बढी भएका मानिसलाई रातो मासुको सेवनले युरिक एसिड झन् बढाएको अनुभव तत्कालै हुने हुँदा यसलाई कुनै पुष्टाइ नै आवश्यक परेन । दीर्घकालमा हाण्नि वा लाभ के गर्छ भन्ने विषयमा विश्वका ठूला ठूला अनुसन्धानशाला र विश्वविद्यालयले अध्ययन अनुसन्धान गरिरहेका छन् ।
यसैबीच, केही वर्षदेखि मानिसले मासुको सेवन गर्दा जलवायु परिवर्तनमा योगदान गरेको, पृथ्वीलाई अनावश्यक भार परेको र विश्वको अर्थतन्त्रलाई प्रतिकूल असर गरेको जस्ता दाबी प्रस्तुत भइरहेका छन् । संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको एउटा अनुमानमा पशुपंक्षी पालन क्षेत्रले हरित गृह ग्यास उत्सर्जनमा यातायात क्षेत्रभन्दा ५० प्रतिशत बढी योगदान गर्छ ।
बिफ (गौमांस) र ल्याम्ब (भेडाको मासु) तयार हुँदासम्म त्यति तौलको वनस्पतिजन्य खाद्य वस्तु तयार हुनुभन्दा २५० गुणा बढी हरित ग्याँस उत्सर्जन हुन्छ । त्यसैगरी, सुँगुर र कुखुराले ४० गुणा बढी ग्यास उत्पादन गर्छन् । पशुपंक्षी पालन क्रियाकलापबाट कार्बनडाइ अक्साइडभन्दा २५० गुणा बढी शक्तिशाली हानिकारक ग्यास नाइट्रस अक्साइड र २० गुणा शक्तिशाली हानिकारक ग्यास मिथेन उत्पादन हुन्छ ।
विश्वको सबैभन्दा ठूलो र घना अमेजन जङ्गल विनासको ८० प्रतिशत कारण पशुपालनलाई मानिन्छ । पशुपालनले विश्व जैविक विविधता सङ्कट पनि निम्ताएको छ । नेचर जर्नलमा प्रकाशित एक अध्ययनअनुसार सन् २०५० सम्ममा विश्वमा उत्सर्जन हुने प्रक्षेपण गरिएको हरित गृह ग्यासलाई खाद्य उत्पादनबाट ८० प्रतिशत कम गर्न सकिन्छ ।
कार्बन डाइअक्साइड, मिथेन र नाइट्रस अक्साइडले जमिनलाई मात्र होइन, जललाई पनि क्षति पु¥याइरहेका छन् । यी ग्यासले समुद्रलाई एसिडिक र हाइपोजिक मृत क्षेत्र बनाइरहेका छन् । त्यसैगरी, समुद्रका ९० प्रतिशत साना माछा पशुपंक्षीको पेलेट दानाका लागि अर्पण गरिएका छन् । अर्बौं भाले चल्ला जिउँदै गाडिन्छ किनकि ठूला भएर तिनले अण्डा पार्दैनन् । नेपालमा पनि गाईका बाच्छाको दूर्दशा त्यस्तै छ किनकि तिनको उपयोगिता छैन ।
शाकाहारी गाई आज विश्वका सबैभन्दा ठूला समुद्री शिकारी बनेका छन् । बिफ उत्पादनको क्रममा उत्सर्जन भएको गोबर र अन्य वस्तुको कारण समुद्री जीव ठूलो सङ्ख्यामा मरिरहेका छन् । यही क्रमले पशुपंक्षी पालन निरन्तर हुने हो भने सन् २०४८ सम्म समुद्र मृत बन्नेछ किनकि सबै माछा मरिसक्ने छन् भन्ने प्रक्षेपण पनि सार्वजनिक भएका छन् ।
पृथ्वीमा सन् १८०० सम्म १ अर्बभन्दा कम मानिस थिए । पछिल्ला शतकमा तीव्र जनसङ्ख्या बढेर साढे सात अर्ब नाघेको छ । मानिसले प्रत्येक हप्ता पीडा महसुस गर्ने जीवित वस्तु दुई अर्बको सङ्ख्यामा मारिरहेका छन् । एउटा मानव जातिको कारण १० हजार प्रजाति प्रत्येक वर्ष लोप भएका छन् । पृथ्वीको लामो इतिहासको क्रममा अहिले हामीले छैटौं वृहत लोपको सामना गरिरहेको विज्ञको भनाइ छ ।
पशुपंक्षी अधिकार अभियन्ता फिलिप वोलनले भनेका छन्, “मासुको आवश्यकताले जनावरको हत्या हुन्छ, जनावरले हामीलाई र हाम्रो अर्थतन्त्रलाई मार्छ । ” मासुको कारण मानिसलाई अनेक रोग लाग्छन् । अमेरिकामा दिएको प्रवचनमा वोलनले थपे, “बीमा खर्चको कारण स्कुल, सेना, जल सेना र हवाई सेनाको सेवामा कटौती गर्नुपर्ने स्थिति आउन सक्छ । ” कम आय भएका जनताको स्वास्थ्य बीमा खर्च व्यहोर्दा अमेरिकी सरकारले ऋणको ठूलो भारी बोक्नु परिरहेको छ ।
नेपालमा वार्षिक तीन लाख ३० हजार मेट्रिक टन मासु खपत हुने पशु स्वास्थ्य विभागको अनुमान छ । नेपालीले वार्षिक करिब एक खर्ब रुपियाँको मासु उपभोग गर्छन् । नेपालमा पोल्ट्री फार्म व्यावसायिक रूपमा आएका छन् । अन्य मासुका व्यापारिक उत्पादन ठूलो फार्मका रूपमा आइसकेका छैनन् । ठूलो व्यापारिक उत्पादनभन्दा पनि घरायसी पशुपंक्षी पालनको हिस्सा ठूलो रहेको कारण नेपालमा विकराल वातावरणीय असर परिसकेको छैन ।
शुद्ध पानी विश्वमा नयाँ तेलको रूपमा आइरहेको छ । दशौँ लाख वर्षमा भरिएका भूमिगत चट्टान, बालुवा र कंकड आज सुक्का हुँदैछन् । पशुपंक्षी पालनले पानीको खपत बढाएको कारण गरिब मानिस शुद्ध पानीबाट वञ्चित हुनुपर्ने अवस्था आएको छ । अध्ययनअनुसार एक केजी बिफ निर्माण गर्न ५० हजार लिटर पिउने पानी आवश्यक पर्छ ।
मासु उत्पादनले एकातिर गरिब किसानको आर्जन बढेको र कुल गार्हस्थ उत्पादनमा योगदान गरेको छ । अन्न तरकारी लगाउन नमिल्ने जमिनमा उम्रेका घाँसपात खाएर पशु हुर्कन्छन् । ती पशुको मासुबाट मानिसको खाद्य आवश्यकता पूरा हुन्छ तर व्यावसायिक रूपले ठूलो परिमाणमा उत्पादन गर्दा हुने नकारात्मक असरको तुलनामा सकारात्मक असर नगण्य हुन जान्छन् ।
आज विश्वमा एक अर्ब मानिस कुपोषित र असुरिक्षत खाद्य उपभोग गर्न बाध्य छन् । त्यसमध्ये वार्षिक दुई करोड मानिस कुपोषणले मर्छन् । अर्कोतिर ३५ प्रतिशत खाद्यान्न पशुपंक्षी पालनमा खपत हुन्छ । १० प्रतिशत मासुको उत्पादन कटौती गर्ने हो भने १० करोड मानिसलाई खुवाउन पुग्छ भन्ने तथ्याङ्क निकालिएको छ । त्यसैले मासुको अन्त्यले भोकमरीको पनि अन्त्य गर्न सक्छ । गरिब मुलुकले आफ्ना बच्चा भोकमरीमा हुँदाहुँदै पनि बाध्यताका कारण धनी मुलुकलाई अन्न बेच्छन् । पश्चिम (अमेरिका, युरोप र अष्ट्रेलिया) ले त्यो अन्न पशुपंक्षीलाई खुवाउँछ ।
वोलनले भनेका छन्, “यदि प्रत्येक व्यक्तिले पश्चिमी खाना खान्छ भने हामीलाई खुवाउन दुईवटा पृथ्वी चाहिन्छ तर हामीसँग एउटा मात्र छ र त्यो पनि मरिरहेको छ । ” तथापि पशु अधिकार अहिले ठूलो सामाजिक न्यायको मुद्दा बनेको र विश्वमा ६० करोड बढी मानिस शाकाहारी बनिसकेको हुनाले आश गर्न सक्ने ठाउँ बाँकी रहेको विज्ञहरूको भनाइ छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना