हेलिप्याड निर्माण योजना तीव्र


भउचप्रसाद यादव

काठमाडौँ, असोज २५ गते । दैवी प्रकोपको समयमा राहत तथा उद्धार कार्यलाई छिटो छरितो र सहज बनाउन प्रत्येक स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण गर्ने सरकारको योजनालाई तीब्रता प्रदान गरिएको छ ।
नागरिक उडड्यन प्राधिकरणका उपनिर्देशक तथा सूचना अधिकारी त्रिलोचन पौडेलले घाइते, बिरामी, गर्भवती लगायतको उद्धार गर्न तथा दैवी प्रकोपको समयमा राहत र उद्धार कार्यलाई छिटोछरितो र सहजता प्रदान गर्न प्रत्येक स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण गर्ने सरकारको योजनालाई तीब्रता प्रदान गरिएको जानकारी दिनुभयो । हेलिप्याड निर्माणका लागि डिजाइन कार्यको तयारी भइरहेको जानकारीसमेत उहाँले दिनुभयो । Helipyad
“हेलिप्याड निर्माणका लागि पहिलो प्राथमिकता सरकारी जग्गा नै रहेको छ, सरकारी जग्गा उपलब्ध नभएमा जग्गा अधिग्रहण गरेर कामलाई अगाडि बढाइने प्राधिकरणको योजना छ” सूचना अधिकारी पौडेलले बताउनुभयो । हेलिप्याड निर्माणका लागि ४० वर्गमिटर खुला जग्गाको आवश्यकता पर्ने गर्दछ । एउटा सामान्य किसिमको हेलिप्याड निर्माण गर्न ४० लाख रुपियाँ लागत पर्ने प्राधिकरणले जनाएको छ ।
हेलीप्याड निर्माणका लागि स्थानीय तहले जग्गा उपलब्ध गराउने हो भने सम्पूर्ण प्राविधिक सहयोग नागरिक उडड्यन प्राधिकरणले उपलब्ध गराउने जानकारी पौडेलले दिनुभयो । हेलिप्याड निर्माणले गाउँ पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
‘हेलिप्याड’ सम्बन्धी तथ्याङ्क छैन
नेपालमा अहिलेसम्म ‘हेलिप्याड’ को सङ्ख्या के कति छ, कहाँ कहाँ ‘हेलिप्याड’ निर्माण गरिएको छ ? सोको यकीन तथ्याङ्क सरोकारवाला मन्त्रालय र निकायसँग समेत रहेको छैन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका हवाई सुरक्षा तथा प्राधिकरण सुपरीवेक्षण महाशाखाका इन्जिनियर योगेश अर्यालले मुलुकभरि रहेका ‘हेलिप्याड’ तथ्याङ्क आफूहरूसँग नरहेको जानकारी दिनुभयो ।
नेपाली सेना र नागरिक उड्डयन प्राधिकरण तथा विभिन्न स्वास्थ्य संस्थाहरुमा निजी स्तरबाट मुलुकका विभिन्न स्थानमा ‘हेलिप्याड’ निर्माण गरिए पनि सो सम्बन्धी यकीन तथ्याङ्क आफूहरूसँग नरहेको जानकारी इन्जिनियर अर्यालले दिनुभयो । नेपाली सेना वा निजी स्तरबाट ‘हेलिप्याड’ निर्माण गरिए पनि त्यसको सञ्चालन अनुमति नागरिक उड्डयन प्राधिकरणले नै दिनुपर्ने हुन्छ ।
नेपालमा ‘हेलिप्याड’ को तथ्याङ्कबारेको जिज्ञासामा अर्का सरोकारवाला निकाय नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले प्राधिकरणसँग ‘हेलिप्याड’ अद्यावधिक र यकीन तथ्याङ्क उपलब्ध नरहेको जानकारी दिनुभयो ।
‘हेलिप्याड’ निर्माणका लागि सम्बन्धित निकाय वा व्यक्तिले गृह मन्त्रालयमा निवेदन दिएपछि सो मन्त्रालयले अनुमतिका लागि नागरिक उड्डयन प्राधिकरणलाई सिफारिस गर्ने गर्दछ । प्राधिकरणको अनुमतिपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सुरक्षा र समन्वयमा ‘हेलिप्याड’ को निर्माण तथा सञ्चालन हुने गरेको पौडेलले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आकाउ) ले सानो हेलिक्यापटर अवतरणका लागि ८१ वर्गमिटर र ठूलो किसिमको हेलिक्याटर (एम आई ७०) अवतरणका लागि २२५ वर्गमिटर क्षेत्रफल आवश्यक पर्ने तोकेको छ ।
क्षमता विस्तार कार्य सुरु
नेपालगञ्ज विमानस्थलको क्षमता विस्तार कार्य भइरहेको जानकारी समेत पौडेलले दिनुभयो । उक्त विमानस्थलमा २८ हजार आठ सय वर्गमीटरको छ वटा नयाँ ‘पार्किङ’ निर्माण भइरहको जानकारी उहाँले दिनुभयो ।
एटीआर–७२ सम्मको विमान पार्किङ गर्न मिल्ने किसिमले पार्किङस्थल निर्माण कार्य भइरहेको बताउँदै उहाँले अबको १८ महिनाभित्र उक्त कार्य सम्पन्न हुने जानकारी दिनुभयो । कुल २८ करोड ५३ लाख रुपियाँ लागतमा निर्माण भइरहेको उक्त पार्किङ निर्माणको जिम्मेवारी कान्छाराम कन्सट्रक्सन प्रालिले पाएको छ ।
अहिले नेपालगञ्ज विमानस्थलको धावनमार्ग एक हजार ५०५ मिटर लामो छ भने एटीआर–७२ विमानका लागि मात्र दुईवटा पार्किङ रहेका छन् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds